एम्बुलेन्स नपाएर संक्रमितको ज्यान गएको भन्दै नगरपालिकामा तालाबन्दी- गण्डकी - कान्तिपुर समाचार

एम्बुलेन्स नपाएर संक्रमितको ज्यान गएको भन्दै नगरपालिकामा तालाबन्दी

नारायण शर्मा

पूर्वी नवलपरासी — कोरोना व्यवस्थापनमा ध्यान दिन नसकेको आरोप लगाउँदै देवचुली नगरपालिकाका मेयर र उपमेयरको कार्यकक्षमा स्थानीयले तालाबन्दी गरेका छन् । 

वडा नम्बर १३ मा सोमबार एक कोरोना संक्रमितको मृत्यु भएकोमा नगरपालिकाले व्यवस्थापकीय जिम्मेवारी पूरा नगरेको भन्दै स्थानीयले मेयर पूर्णकुमार श्रेष्ठ र उपमेयर पार्वता तिवारीको कार्यकक्षमा मंगलबार तालाबन्दी गरेका हुन् । ती संक्रमितको उपचार अभावमा मृत्यु भएको स्थानीयले बताएका छन् ।

स्थानीय अगुवा श्याम शर्मा भुसालले नगरपालिकाले कोरोना संक्रमितको उपचारमा सघाउने सुनिश्चितता नगरेसम्म ताला नखोलिने बताए ।

सोमबार दिउँसो साढे २ बजे देवचुली–१३ का ६८ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । वैशाख २० गते काठमाडौंको स्टार अस्पतालमा जँचाउँदा कोरोना पोजिटिभ देखिएका उनी घरै आएर आइसोलेसनमा बसेका थिए ।

त्यही क्रममा उनलाई श्वास फेर्न गाह्रो भएको र अस्पताल लैजान एम्बुलेन्स नपाएपछि आफन्तले ट्याक्टरमा राखेर लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । उनको घरबाट दुम्कौली नगर अस्पतालको दूरी ५ सय मिटर छ ।

देवचुली नगरपालिकामा सबै गरेर आठवटा एम्बुलेन्स छन् । नगर स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले स्वास्थ्यकर्मीहरूले कोभिडको लडाइँमा कुनै कसर बाकी नछोडेको भन्दै कार्यपालिकाको निर्णय आाफूहरूले पालना गर्दै आएको बताए ।

मेयर श्रेष्ठले नगरपालिकाका सबै एम्बुलेन्स अन्यत्रका बिरामी बोक्न गएकाले ती संक्रमितले सुविधा नपाएको आफूले थाह पाएको सुनाए । आफूले वडाध्यक्ष र स्वास्थ्यकर्मीसमेतलाई एम्बुलेन्स खोज्न परिचालन गरे पनि नपाइएको उनको भनाइ छ ।


प्रकाशित : वैशाख २१, २०७८ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्

विवादास्पद पोस्टपछि कंगनाको ट्विटर एकाउन्ट ‘सस्पेन्ड’

कान्तिपुर संवाददाता

काठमाडौँ — ट्विटरले बलिउड अभिनेत्री कंगना रनावतको ट्विटर एकाउन्ट सस्पेन्ड गरिदिएको छ । शृंखलाबद्ध रूपमा विवादास्पद र भ्रामक सूचनासहितको ट्वीट गरेपछि कंगनाको एकाउन्ट सस्पेन्ड गरिएको हो । 

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘२००० को दशकको सुरुमा’ झैं ‘विराट रुप’ लिएर ममता बनर्जीलाई ‘तह लगाउन’ आग्रह गरेकी थिइन् । उक्त ट्वीटपछि कंगनाको बयानलाई धेरैले हिंसा भड्काउने खालको भएको भन्दै उनको एकाउन्ट सस्पेन्ड गर्न माग गरेका थिए ।

कंगना रनावतले केही वर्षयता विवादास्पद र भड्काउ बयान दिँदै आएकी छिन् । पश्चिम बंगाल विधानसभा चुनावको नतिजापछि राज्यका केही ठाउँमा भएका हिंसात्मक घटनालाई जोड्दै उनले आफूलाई समर्थन गर्नेहरुलाई हिंसाका लागि उक्साएको आरोप लगाइएको छ ।

एनडीटीभीसँगको कुराकानीमा ट्विटरका प्रवक्ताले ‘एब्यूसिभ बिहेवियर पोलिसी’ अन्तर्गत कंगनाको एकाउन्ट सस्पेन्ड गरिएको बताएका छन् ।

प्रकाशित : वैशाख २१, २०७८ १३:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×