चन्दाबाटै अक्सिजनको जोहो

अक्सिजन चुनौती हुन सक्ने भएपछि सबै पालिकाले तत्काल खर्च जुटाउन पहल गर्ने
प्रकाश बराल

बागलुङ — सदरमुकामस्थित धौलागिरि अस्पतालमा सर्भिसिङ अभाव हुँदा अक्सिजन खेर गइरहेको छ । प्लान्टबाट उत्पादित अक्सिजन भर्ने उपकरण नहुँदा यस्तो अवस्था आएको हो । 

चन्दाबाटै अक्सिजनको जोहो

अक्सिजन अभावमा जटिल समस्याका बिरामीको उपचारसमेत कठिन हुने मेसु डा.शैलेन्द्र पोखरेलले बताए । डेढ वर्षअघि जडान भए पनि सर्भिसिङको समय भएकोले अक्सिजन उत्पादन कम हुँदै गएको हो ।

तत्काल सर्भिसिङ नगरेमा कोरोनालगायत जटिल समस्याका बिरामी आउँदा जोखिम हुने पोखरेलले बताए । त्यसका लागि गण्डकी प्रदेश सरकारसँग पटकपटक माग भए पनि सर्भिसिङ सेवा प्राप्त नभएको हो । सर्भिसिङ भएमा एकैपटक १ सय जनासम्मलाई सेवा दिन सकिन्छ ।

स्थापना र जडानको बेला करोडौं रुपैयाँ खर्च भए पनि सर्भिसिङका लागि एकपटकमा ७ देखि ८ लाख रुपैयाँ आवश्यक पर्ने अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्मा बताउँछन् । ‘सात आठ लाख रुपैयाँ खर्चेर सर्भिसिङ गर्दा कम्तीमा ७ महिना चल्छ,’ शर्माले भने, ‘कोरोना संकटका बेला अक्सिजन सकियो भने अस्पताल भएर मात्रै केही गर्न सकिँदैन ।’

बढीमा एक महिनाभित्रै अक्सिजन सकिने अवस्थामा पुगेको उनले बताए । प्रदेश सरकारबाट बजेट निकासा हुने अबस्था नआएपछि जिल्ला कोभिड व्यवस्थापन समितिमा अस्पतालले सहयोगको माग गरेको छ । अस्पतालमा छुट्टै कोष नभएपछि सहयोगको भरमा अत्यावश्यक उपकरण ल्याउनुपरेको हो । अस्पतालले आईसीयू, डायलसिस र पीसीआर उपकरण पनि सहयोग जुटाएर जडान गरेको हो ।

समितिको आइतबारको बैठकमा अक्सिजन क्षमता बढाउने मुख्य एजेन्डा बनेको थियो । कोभिड व्यवस्थापनका लागि अक्सिजन चुनौती हुन सक्ने प्रमुख एजेन्डा बनेपछि सबै पालिका प्रमुख र सुरक्षा निकायका प्रमुखले तत्काल जुटाउन पहल गर्ने सुझाव दिएका छन् । अस्पतालको पूर्वाधार निर्माणधीन भए पनि आवश्यक पर्दा १ सय जनासम्मलाई अक्सिजन दिएर उपचार गर्न सक्ने योजना पोखरेलले सुनाएपछि प्रजिअ र जनप्रतिनिधिले खर्चको जोहो गर्ने आश्वासन दिएका छन् ।

जटिल अवस्था आउन नदिन पालिकाबाट चन्दा उठाएरै भए पनि सर्भिसिङको निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । ‘एकपटकको सर्भिसिङले ७ महिना ढुक्क हुने देखियो, त्यसका लागि पालिकाबाट रकम संकलनको निर्णय गरेका छौं,’ कार्कीले भने, ‘सकेसम्म अनुदानको रुपमा ल्याउने, नभए चन्दासमेत संकलन गरिनेछ ।’ जिल्लाका १० पालिकाले एक एक लाख रुपैयाँ सहयोग गर्दा पनि उक्त आवश्यकता सहजै पूरा हुनेछ । गण्डकी प्रदेश सरकारबाट बजेट आएमा दोस्रो पटकको सर्भिसिङ गर्नसमेत पुग्ने कार्कीले बताए ।

अहिले अस्पतालमा २५ बेड आइसोलेसन छन् । अन्य बिरामीका लागि ५० बेड छन् । जटिल समस्या आएमा ओपीडीको परीक्षण रोकेर सामान्य बेड प्रयोग गर्दा पनि ७५ जनालाई नियमित अक्सिजन प्लान्टबाटै उपचार गर्न सकिने आइसोलेसन वार्ड इन्चार्ज शान्ति खड्काले बताइन् । ‘प्लान्टबाटै बेडमा जडान गरिएकोले अन्य उपकरण आवश्यकता पर्दैन,’ खड्काले भनिन्, ‘तर कोरोनाले श्वासप्रश्वासमा समस्या देखिएकालाई अन्य बिरामीभन्दा हाइस्पिड अक्सिजन चाहिन्छ ।’

अन्य अवस्थामा ८ देखि ९ महिना पुग्न सक्ने प्लान्ट कोभिडको समयमा भने ७ महिना मात्रै पुग्ने उनले बताइन् । अस्पतालमा ३० ठूला सिलिन्डर छन् । अक्सिजन भरेर राख्दा तीबाट थप ३० जनालाई उपचार गर्न सकिने पोखरेलले बताए ।

प्रकाशित : वैशाख २१, २०७८ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?