उपकरण खरिद गर्न क्षेत्रीय अस्पताललाई ६२ लाख- गण्डकी - कान्तिपुर समाचार

उपकरण खरिद गर्न क्षेत्रीय अस्पताललाई ६२ लाख

मन्त्रालयले १० जनरल फिजिसियन र १० एनेस्थेसिस्ट मानवस्रोत उपलब्ध गराइदिन अनुरोध गर्ने
कान्तिपुर संवाददाता

कास्की — कोरोना संक्रमितका बिरामीको उपचारमा सहयोग पुर्‍याउन गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ६२ लाख रुपैयाँ दिने भएको छ ।

आइतबार बसेको प्रदेश कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आईसीयू, एडीयूलगायत सामान खरिदको लागि उक्त रकम दिने निर्णय गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. रामबहादुर केसीका अनुसार अक्सिजनको पाइपलाइन जडान र सञ्चालनमा पनि उक्त रकम खर्च हुनेछ । प्रदेश सरकारले यसअघि उक्त अस्पताललाई ६० लाख रुपैयाँ दिइसकेको छ ।

अस्पतालमा आईसीयू र एडीयू लगायत पूर्वाधार जडान गर्न लागिएको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा ५० बेडको आइसोलेसन सेन्टर छ । केसी भन्छन्, ‘बेड छ भनिन्छ तर उपचार गराउन आउने बिरामीले ठाउँ पाउँदैनन् । बिरामी फर्किएर जाने अवस्था नआओस् भनेर पाइपलाइन जडानसहितको आइसोलेसन सेन्टर बनाउन लागिएको हो ।’ अस्पतालमा २ सय बेड बनाउनुपर्ने मन्त्रालयको भनाइ छ ।

बैठकले अक्सिजनका ५ हजार थान सिलिन्डर उपलब्ध गराउन संघको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधसमेत गरेको छ । मन्त्रालयले दिएको जानकारीअनुसार १० जनरल फिजिसियन र १० एनेस्थेसिस्ट मानवस्रोत उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय भएको छ ।

अस्पतालमा तत्काल बेड उपलब्ध हुन नसक्ने अवस्थामा संक्रमितलाई निःशुल्क होम आइसोलेसन उपलब्ध गराउनुपर्ने र आइसोलेसन किटको व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने गरी निर्णय भएको छ । बैठकमा संक्रमितको प्रभावकारी उपचार गर्न थप प्राविधिक जनशक्ति आवश्यकता पर्ने भएमा मन्त्रालयले सोको आकलन गरी व्यवस्थापनका लागि र कम्तीमा पनि ३ महिनालाई पुग्ने आवश्यक किटका लागि लाग्ने रकम यकिन गरी व्यवस्थापनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने निर्णय भएको छ ।

प्रतिष्ठानमा आवश्यक पर्ने चिकित्सक, स्वास्थ्यकर्मीलगायत प्राविधिक जनशक्तिको यथाशीघ्र उपलब्ध गराउन संघीय सरकारसँगको समन्वय गर्ने निर्णय पनि समितिले गरेको छ ।

प्रकाशित : वैशाख २१, २०७८ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्

आफ्नै ठानेको मान्छे यौनपिपासु बनेपछि...

अपांगता भएकी महिलामाथि पटकपटक बलात्कार प्रयास गर्ने पीडकले पीडित परिवारलाई डरधम्की देखाइरहेका छन्
विद्या राई

काठमाडौँ — काभ्रेकी ५८ वर्षीया नीरमाया (परिवर्तित नाम) डेढ दशकयता ओछ्यानमै थलिएकी छन् । बाँचुन्जेल निको नहुने गरी मेरुदण्ड भाँचिएपछि सहारा भन्नु नै उनका परिवार, आफन्त र छरछिमेकी हुन् । तीमध्येका एक थिए, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ४० वर्षीय तारासिंह धामी ।

आँपको रूखबाट लडेर नीरमायाको २०६१ असारमा मेरुदण्ड भाँचिएको थियो । उपचार गराए पनि निको भएन । पिसाब फेर्न युरिन ब्याग र दिसा गर्न डाइपर प्रयोग गर्नुपर्छ । कम्मरमुनिको भाग चल्दैन ।

धामी काभ्रे बसेर जग्गा दलाललाई सहयोग गर्थे । उनी बसेको घर र नीरमायाको घर आमनेसामने छ । कहिले पानी थाप्ने निहुँमा त कहिले गफ गर्ने निहुँमा उनी नीरमायाको कोठा छिर्थे । हालचाल, सन्चोबिसन्चो सोधिरहन्थे । आउजाउ हुँदै गर्दा धामीले नीरमायाको पीडादायी अवस्था र परिवारको कमजोर स्थितिलाई नजिकबाट नियालिसकेका थिए । निकै सहयोगीझैं बनेर नीरमायालाई भन्थे, ‘म्याडम तपार्इंको घाउ उपचार गर्दा ठीक हुन्छ, मसँग ३० करोड जति सम्पत्ति छ, जति पैसा चाहिन्छ दिन्छु ।’ छोरा समानको मान्छेले दिएको आश्वासनले आधा घाउ निको भएझैं हुन्थ्यो नीरमायालाई ।

धामीले साहुको आँखा छलेर तात्तातो खाना ल्याइदिन्थे । सिजनअनुसारका फलफूल किनेर दिन्थे । बिरामीलाई खान दिएपछि सेवाभावले नै दिएको होला भन्ठान्थिन् । परिवारका सदस्यले पनि उही सोच्थे । भरभरोसा लागेको मान्छे हिंस्रक भएर आफूमाथि आइलाग्ला भन्ने न उनले सोचेकी थिइन् न परिवारले । नीरमायाकी छोरी भन्छिन्, ‘त्यो पापीले मेरी अपांग आमालाई पनि छोडेन । मर्नु न बाँच्नुको बनाइदियो ।’

***

गत चैत २३ गते । नीरमायाका परिवार र छिमेकी घरका सबै काममा निस्किएका थिए । यही मौका छोपेर धामीले ओछ्यानमा थलिएकी नीरमायालाई बलात्कार प्रयास गरे ।

केही दिनअघि मात्रै काठमाडौं बस्ने छोरीले झ्यालबाट घाम छिर्ने ठाउँमा ओछ्यान मिलाइदिएर आमालाई छाडेकी थिइन् । धामी दिउँसो साढे १२ बजे नीरमाया सुतेको कोठामा छिरे र अकस्मात् भने, ‘श्रीमतीसँग चित्त बुझेन, तपार्इं र मेरी श्रीमती उस्तै लाग्छ म्याडम । ४/५ सय खर्च दिउँला ।’ यति भनिसक्दा उनले कम्मरमुनिका लुगा खोलेर घुँडासम्म पुर्‍याएका थिए । ‘तपाईंले के भन्नुभएको, मेरो छोरा समानको मान्छे, निस्केर जानुस्,’ नीरमायाले प्रतिवाद गर्दै भनिन् ।

‘ढोका चुकुल लगाएको छु, वरिपरिका मान्छे सबै काममा गएका छन्’ भन्दै धामी ओछ्यानमाथि झम्टिनै आइपुग्यो । मेरुदण्ड भाँचिएदेखि नीरमायाका कम्मरमुनिको भाग चल्दैनन् । एकै ठाउँ ओछ्यान परेकी उनी उठेर भाग्न अथवा प्रतिकार गर्न सकिनन् । एक हातले हत्त न पत्त नजिकैको झ्यालको ग्रिल पक्रन त भ्यायो । डरले ग्रिल समातेको समात्यै भइन् । कापिरहिन् । एकैपट्टि उत्तानो परेर सुतिरहनुपरेकाले पुराना घाउ पिल्सिएर पानीका फोकैफोका उठेका थिए । ती सबै फुटेर ओछ्यान भिज्यो । दुखाइ सहन नसकेर अचेत भइन् । धामी कतिबेला कोठाबाट निस्केर गए, उनले थाहै पाइनन् ।

बेलुकी साढे ५ बजेतिर घर आउँदा पत्नी बेहोस भएको देखेपछि नीरबहादुर (परिवर्तित नाम) अत्तालिए । पुरानै रोगले च्यापेको होला भन्ठानेर औषधि खुवाए । नीरमायाले छोरीलाई फोन गरेर ‘एकरात बस्ने गरी आइज, मुख हेरेर जा, म मरे भने भेट्दिनस्’ भनिन् । केही दिनअघि मात्रै भेटेर फर्केकी छोरी आमाले एक्कासि यसो भनेपछि झस्किइन् । भोलिपल्टै काभ्रे पुगिन् । तातोपानी तताएर आमालाई नुहाइन् । ‘जता छोइए पनि ‘दुख्यो, बिस्तारै गरिदे’ भन्न थाल्नुभो, पुरानै रोगले साह्रै च्यापेछ भनेर अस्पताल पुर्‍यायौं,’ छोरीले सुनाइन् । चैत २६ गते उनीहरूले काठमाडौंको साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पताल लगे । बल्ल पूरा होसमा आइन् । कसरी गाह्रो भयो भनेर सोध्दा धामीको बलात्कार प्रयासबारे सबै सुनाइन् ।

‘म मरे पनि न्याय नमरोस्’

यसअघि पनि धामीले बलात्कार प्रयास गरेका रहेछन् । नीरमायाका अनुसार एक्लै भएका बेला ‘तपाईंको जीउ यसो मसाज गरिदिनुपर्‍यो, दुखाइ कम हुन्छ नि, दाइले मसाज गरिदिनुहुन्न रहेछ’ भन्दै लुगाभित्रबाट हात छातीतिर घुसार्ने गर्थे । धामीको हर्कतविरुद्ध छोरी र नीरमायाका पतिले चैत ३० गते धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए । धामी पक्राउ परी हाल प्रहरी हिरासतमा छन् । पीडक पक्षले त्यसपछि पनि नीरमायाका परिवारलाई कुटपिट र डरधम्की दिएका थिए । धामीका साहु भैरव बस्नेतले ‘पहिल्यै थाहा दिएको भए गाउँमै पैसामा मिलाउनुपर्थ्यो’ भनेका थिए । उनी हाल गाउँमा छैनन् । पीडकले आफ्नो गल्ती स्विकारेका छैनन् ।

धुलिखेलका प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले बलात्कारसँग जोडिएको केस जघन्य अपराधमा पर्ने, त्यसमाथि अपांगता महिलामाथि भएकाले संवेदनशील भएर अनुसन्धान गरिरहेको बताए । महिलाले दिएको बयानमाथि कुनै शंका नरहेको जनाउँदै उनले भने, ‘हामीले म्याद थप गरेर पीडकलाई थुनामा राखेका छौं, अनुसन्धान गरिरहेका छौं, पीडकले गल्ती स्विकारेको छैन, पोलिग्राफ टेस्ट गर्ने प्रक्रियामा छौं ।’

हाल पीडित अस्पतालमा उपचाररत छिन् । ‘बूढेसकालमा लाज मानेर भन्न सकिनँ, त्यसकै अगाडि भन्न सक्छु । म मरेर गए पनि न्याय नमरोस्,’ अस्पताल बेडबाट उनले याचना गरिन् । घटनाबारे जानकार नेपाल अपांग महिला संघकी अध्यक्ष टीका दाहाल पीडक पक्षले धम्क्याउन नछाडेको बताइन् । ‘मान्छे लाउँछु, कुट्छु, भनेका रहेछन्, पीडक पक्ष पैसावाल रहेछन्,’ उनले भनिन्, ‘वकिल बिक्लान् र पीडितले न्याय नपाउला भन्ने डर छ ।’ त्यसो त पीडित परिवारको आर्थिक अवस्था पनि कमजोर छ । चार छोरा र दुई छोरीमध्ये दुवै छोरीको विवाह भइसकेको छ । सबै छोरा अशक्त छन् । ५९ वर्षका पति पनि आन्द्रा रोगी हुन् । उपचार गर्ने क्रममा उनीहरूले भएको जग्गा बेचे । भूकम्पले घर भत्काएपछि ऋणपान गरेर बनाए । घर बनाउँदाको बैंकको ४० लाख रुपैयाँ ऋण तिर्ने आयस्रोत नभएको नीरमायाले बताइन् ।

उनीहरूसँग मुद्दा लड्न प्रमाण जुटाउने, प्रहरी प्रशासन धाउने तथा बिरामीलाई फलफूल खुवाउने खर्चसमेत छैन । अस्पतालले नीरमायालाई अझै तीन महिना राख्नुपर्ने भनेको छ । तीन लाख खर्च जुटाउनुपर्नेछ । उनकी छोरी न्यायको माग गर्दै राष्ट्रिय महिला आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र अपांगता महिलाको क्षेत्रमा काम गर्ने नेपाल अपांग महिला संघसम्म गुहार माग्न धाइरहेकी छन् ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले मुद्दा लड्न चाहिने अधिकतम राहत सहयोगका लागि महिला मन्त्रालयको लैंगिक हिंसा निवारण शाखामा सिफारिस गरेको बताइन् । ‘कानुनी सहयोग चाहिए, उद्धार गर्नुपर्ने भए पनि हामी गर्छौं, परामर्श गर्ने कुरामा अहिले पीडित अस्पतालमै भएकाले गर्ने कुरा भएन,’ उनले भनिन् । यता महिला मन्त्रालयको लैंगिक निवारण शाखाको शाखा अधिकृत सिन्धु पाठकले राहत सहयोगका लागि प्रक्रिया अघि बढाइएको जानकारी दिइन् ।

अधिवक्ता मीरा ढुंगाना अपांगता भएकी महिलामाथि भएको बलात्कारसम्बन्धी कसुर गम्भीर अपराध हुने बताउँछिन् । ‘यसमा मुलुकी अपराध संहिता २०७४ को दफा ३४, ११८ र २१९ आकर्षित हुन्छ,’ उनले भनिन् ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा १८ वर्ष वा त्यसमाथिका महिलालाई जबर्जस्ती करणी गरेको भए ७ वर्षदेखि १० वर्षसम्म सजायको व्यवस्था छ । तर उद्योग मात्रै गरेकामा तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ ।

अशिक्षा, गरिबी र सचेतनाको कमीले गर्दा नेपाली समाजमा महिलामाथि हुने यौन तथा लैंगिक हिंसामा कमी आउन सकेको छैन । नेपाल प्रहरीका अनुसार औसत दैनिक ६ देखि ७ महिला, किशोरी तथा बालिका बलात्कारको सिकार हुने गरेका छन् । यसमा अपांगता भएका महिलासमेत पर्छन् । राष्ट्रिय अपांग महासंघको एक सर्वेक्षणमा यौन हिंसापीडितमध्ये मात्र १६ प्रतिशतले घटनाको उजुरी गर्ने गरेको पाइएको छ ।

नेपाल अपांग महिला संघले गत वर्षको अक्टोबरमा प्रकाशित गरेको ‘अदृश्य वास्तविकता : ग्रामीण नेपालका अपांगता भएका महिलाहरूले भोगेका जीवन कथा’ प्रतिवेदनमा अपांगता भएका ३१ प्रतिशतले यौन हिंसा र दुर्व्यवहार भोगेको बताएका छन् ।

प्रकाशित : वैशाख २१, २०७८ ११:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×