कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

गण्डकी प्रदेशसभा बैठकको टुंगो लागेन

पोखरा — गण्डकी प्रदेशसभाको स्थगित विशेष अधिवेशनको बैठक कहिले बस्ने भन्ने अझै टुंगो लागेको छैन ।

गण्डकी प्रदेशसभा बैठकको टुंगो लागेन

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने दिन वैशाख १५ मा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही एकाएक हराएपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक अनिश्चितकालीन स्थगित गरेका थिए ।

कार्यव्यवस्था परामर्श समितिको सोमबार बसेको बैठकमा प्रदेशसभाको बैठक कहिले बस्ने भन्ने मिति तय हुन नसकेको सभामुख अधिकारीले बताए । उक्त बैठकमा मंगलबार सर्वदलीय बैठक बस्ने सहमति भएको छ । ‘बैठकमा छलफल गर्नुपर्ने अन्य विषय थिएनन्,’ उनले भने, ‘प्रदेशसभा बैठकको मिति तय गर्न बैठक राखिएको हो । तर मिति तोक्न सकेनौं । मंगलबार सर्वदलीय बैठक बस्छ ।

सर्वदलीय बैठकमा भएको निर्णय कार्यव्यवस्था परामर्शको समितिमा जानकारी आउँछ अनि मिति तय गर्छौ,’ उनले भने । उनका अनुसार विशेष अधिवेशन जम्मा एक दिनका लागिमात्र हो । ‘विशेष अधिवेशन भएकाले एक दिनभन्दा बढी चल्दैन,’ उनले भने । संसद् बैठकको मिति तोकिएको दिनमा नै सरकारविरुद्ध ल्याइएको अविश्वासको प्रस्तावमाथि मतदान हुने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सबै राजनीतिक दलको उपस्थिति थियो ।

विशेष अधिवेशन वैशाख १३ देखि सुरु भएको थियो । अविश्वासको प्रस्ताव आउने भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ कै मध्यरातमा हिउँदे अधिवेशन अन्त्य गराएका थिए । चैत २५ मा सुरु भएको हिउँदे अधिवेशन जम्मा ३ दिन चल्यो । वैशाख १ मा जनमोर्चा र २ मा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी र जसपाका २८ सांसदले वैशाख २ मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

वैशाख २ मै तीन दलले विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन बुझाए । सो अनुसार प्रदेश प्रमुख शेरचनले वैशाख १३ मा विशेष अधिवेशन आह्वान गरेका हुन् । विशेष अधिवेशनको पहिलो दिनमै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्ताव टेबुल गरेका थिए । १४ को बैठकमा सत्तारूढ दलले सबै सांसदको पीसीआर परीक्षण गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गरेको थियो ।

१५ गते दिउँसो १ बजेसम्म स्थगित भएर सञ्चालन भएको बैठकमा राजमोका सांसद खिमविक्रम शाही उपस्थिति नभएपछि राजमोकी सचेतक पियारी थापाले सांसदको खोजी गर्न माग गर्दै सचिवालयमा निवेदन दिएकी थिइन् । थापाले सांसदको अवस्था सार्वजानिक नभएसम्म संसद् स्थगित गर्न माग राखेकी थिइन् । पोखराको चरक मेमोरियल अस्पतालमा भेटिएका सांसद शाही अहिले पनि सोही अस्पतालमा उपचाररत छन् ।

प्रकाशित : वैशाख २१, २०७८ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?