१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

गर्भवती जाँचका लागि मोबाइलबाट म्यासेज

प्रतीक्षा काफ्ले

स्याङ्जा — ‘तपाईंको गर्भ जाँच गर्ने पालो हिजो थियो । तर जँचाउनु भएन । कृपया आजै स्वास्थ्यचौकीमा जानु होला’, हालैको एक दिन भीरकोट नगरपालिका–३ की दीपा जिटीको मोबाइलमा म्यासेज आयो । गर्भ जाँच गर्न बिर्सिएकी उनी खुसी भइन् ।

गर्भवती जाँचका लागि मोबाइलबाट म्यासेज

उनले भनिन्, ‘म्यासेज आएपछि पो बल्ल याद भयो । धन्यवाद महिला स्वास्थ्य स्वयंसेविका, धन्यवाद नगरपालिका ।’

यसैगरी उनकै छिमेकी दीपा थापालाई पनि मोबाइलमा म्यासेज आइरहने हुँदा उनी नियमित रूपमा जँचाउन पुग्छिन् । ‘घरायसी कामका कारण कहिलेकाहीँ जँचाउने समय बिर्सिइदोरहेछ,’ उनले भनिन्, ‘तर मोबाइलमा म्यासेज आउने भएपछि ढुक्क हुन्छ ।’ यी दुई प्रतिनिधि पात्र हुन् । गर्भ जाँच गर्ने बेला भएपछि नगरभित्रका सबै गर्भवतीको मोबाइलमा यसरी नै म्यासेज जाने व्यवस्था गरिएको छ । नगरको स्वास्थ्य शाखाले म्यासेज पठाउने गरेको हो । कतिपय अवस्थामा महिला स्वास्थ्य स्वयंसेविकामार्फत पनि गर्भवतीलाई म्यासेज पठाउने गरिन्छ । ४, ६, ८ र ९ महिनामा म्यासेज आउने गर्भवतीले बताए ।

नगरपालिकाले गर्भवती महिला र शिशुको स्वास्थ्यलाई लक्षित गरी एक वर्षदेखि मेडिक मोबाइल प्रविधि सञ्चालनमा ल्याएको हो । गर्भवतीको प्रसूति हुने अनुमानित मिति आएमा, पहिलो पटकको गर्भ जाँच वा अन्य नियमित समयको जाँचका लागि म्यासेज पठाउने गर्छ । नगरप्रमुख छायाराम खनालका अनुसार गर्भवतीको नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको हो । कार्यक्रमअन्तर्गत गर्भवतीको नाम दर्ता भइसकेपछि नियमित परीक्षणका लागि म्यासेज पठाइन्छ ।

दुई पटक म्यासेज पठाउँदा पनि गर्भवतीले बेवास्ता गरेमा तेस्रो म्यासेज सम्बन्धित स्वास्थ्य संस्थाको प्रमुखलाई पठाइन्छ । यसले गर्भवती भएर पनि स्वास्थ्य संस्थामा नजाने महिलालाई फलोअप गर्न स्वयंसेविकालाई पनि सहज हुन्छ । प्रविधिमार्फत गर्भवती महिला नियमित रूपमा स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा जाने, आइरन चक्की खाने, चेकजाँच गर्ने, स्वास्थ्यकर्मीको परामर्श लिने संख्यामा उल्लेख्य सुधार आएको नगरले दाबी गरेको छ ।

महिला स्वास्थ्य स्वयंसेविका ज्योति भण्डारीले सुरुमा केही अप्ठेरोजस्तो लागेको भए पनि अहिले सबै जनामा बानी परेको र स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग पुगेको बताइन् । नगरभित्र चालु वर्ष हालसम्म ६ सय २१ गर्भवती भेटिएका छन् । नगरमा ५२ महिला स्वास्थ्य स्वयंसेवी छन् ।

प्रकाशित : वैशाख २१, २०७८ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?