बागलुङमा १० दिन निषेधाज्ञा

प्रकाश बराल

बागलुङ — बागलुङमा मंगलबार बिहान ६ बजेदेखि निषेधाज्ञा लगाइएको छ । कोरोनाका संक्रमित बढ्दै गएपछि बागलुङ उद्योग वाणिज्य संघ र स्थानीय पालिकाको सिफारिसमा निषेधाज्ञा जारी गरिएको हो । 

बागलुङमा १० दिन निषेधाज्ञा

मंगलबार बिहान बागलुङ बजारका सडकमा अत्यावश्यक सेवाका सवारीसाधन मात्र गुडेका छन् । त्यस्तै बजारहरू पूर्ण रूपमा ठप्प छन् ।

मंगलबारदेखि वैशाख ३१ गतेसम्म दस दिनका लागि निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । निषेधाज्ञाको अवधिभर बैंक तथा वित्तीय संस्था दैनिक ११ देखि १ बजेसम्म मात्रै खोल्ने, अदालतमा बन्दीप्रत्यक्षीकरणको मुद्दा हेर्ने बताइएको छ । सोमबार बसेको बार बेन्च बैठकले फौजदारी घटनाको मुद्दा दर्ता गर्ने, बालबालिका तथा हिंसापीडितको मुद्दा भए दर्ता गर्ने निर्णय भएको जिल्ला न्यायाधीश वासुदेव न्यौपानेले बताए ।

अत्यावश्यक काम पर्ने कार्यालयबाहेक अन्यमा सेवा बन्द गर्न प्रशासनले आग्रह गरेको छ । यहाँका सबै पालिकाले पनि आफ्नो क्षेत्रमा स्वतस्फूर्त लकडाउन गराएर कोरोना संक्रमणको चेन ब्रेक गर्ने सूचना जारी गरेका छन् । बागलुङमा पछिल्लो समय झन्डै २ सय सक्रिय संक्रमित पुगेका छन् ।

कोरोनाले ३० वर्षीयाको मृत्यु

कोरोना संक्रमण भएर उपचार गराइरहेकी एक महिलाको धौलागिरि अस्पतालमा सोमबार राति मृत्यु भएको छ ।

ताराखोला गाउँपालिकाकी ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा मृत्यु भएको हो । वैशाख १९ गते मात्रै उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

श्वासप्रश्वासको समस्या देखिएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । उनको तीन दिनदेखि सघन उपचार कक्षमा उपचार भइरहेको थियो ।


प्रकाशित : वैशाख २१, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?