पोखरामा थप ८ जना कोरोना संक्रमितको मृत्यु- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा थप ८ जना कोरोना संक्रमितको मृत्यु

दीपक परियार

पोखरा — पोखरामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ५, पर्वत, दाङ र रुपन्देहीका १–१ जनाको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान १:२२ मा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । उनलाई वैशाख १५ मा कोरोना पुष्टि भएको थियो । पोखरा–२६ की ५८ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षीया कोरोना संक्रमित महिलाले शनिबार बिहान गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गुमाइन् । उनलाई शुक्रबार मात्रै कोरोना पुष्टि भएको थियो । पोखरा–१६ कै ७३ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार दिउँसो मृत्यु भयो । वैशाख १२ मा कोरोना पुष्टि भएकोमा मेडिप्लस अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पोखरा–१० कि कोरोना संक्रमित महिलाको शनिबार बेलुका मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो । पोखरा–१९ का ५४ वर्षीय संक्रमित पुरुषले शनिबार बेलुका गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भयो । रुपन्देहीको बुटवल नगरपालिका–३ का ७५ वर्षीय कोरोना संक्रमित पुरुषले आइतबार बिहान मेडिप्लस अस्पतालमा उपचारका क्रममा ज्यान गुमाए । उनलाई वैशाख ९ मा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै, होम आइसोलेसनमा रहेका पोखरा–१६ का ७७ वर्षीय वृद्धको शनिबार दिउँसो मृत्यु भएको हो ।

आइतबार मात्रै पोखरामा १ सय ९१ कोराना संक्रमित थपिएका छन् । कास्कीमा १ हजार २ सय २ सक्रिय संक्रमित छन् । कास्कीमा मात्रै १ सय ३१ ले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । गण्डकी प्रदेशमा यो संख्या २ सय ३१ पुगेको छ ।

प्रकाशित : वैशाख १९, २०७८ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त

अमृता अनमोल

बुटवल — लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेको प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए ।

‘आज मिति २०७८ वैशाख १९ का दिन माननीय प्रदेश प्रमुख श्री धर्मनाथ यादवज्यूले नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूलाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा छ, ‘यस अघि नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्विनी प्रदेश संसदीय दलका नेता माननीय श्री शंकर पोखरेलज्यूले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित माननीय प्रदेश प्रमुखज्यू समक्ष दावी पेश गर्नुभएको थियो ।’

पोखरेलले आइतबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । आइतबार नै उनको राजीनामा स्वीकृत भएको थियो ।

राजीनामा स्वीकृतलगत्तै सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतले बहुमत प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि निवेदन दर्ता गराएका थिए । उनको आजै शपथ हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

वैशाख ६ मा पोखरेलविरुद्ध कांग्रेस–माओवादीसहितका दलले अविश्वास प्रस्ताव ल्याएका थिए । मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्न ४१ सांसद आवश्यक पर्छन् । एमालेको कुल सांसद संख्या पनि ४१ नै हो । जसमध्ये मुख्यमन्त्री पोखरेलको राजीनामापछि एमालेतर्फकी सांसद विमला वलीले माओवादी केन्द्रलाई साथ दिने बताएपछि एमालेलाई एकल बहुमत सरकार बनाउन अप्ठेरो परेको छ । यद्यपि प्रदेश प्रमुखबाट पोखरेलले मुख्यमन्त्रीमा पुनर्नियुक्ति पाएका छन् ।

सम्बन्धित समाचार

प्रकाशित : वैशाख १९, २०७८ १५:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×