२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभामा पेश

लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेशसभाको सोमबार सुरु विशेष अधिवेशनमा गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । अविश्वास प्रस्ताव पेश गर्ने २८ सांसदको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव पेश गरेका हुन् । नेपाली नयाँ मुख्यमन्त्रीमा प्रस्तावित छन् ।

गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभामा पेश

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख २ मा सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थियो । संविधानको धारा १८८ को उपधारा ४ तथा प्रदेशसभा नियमावलीको नियम १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि प्रदेशसभाको विश्वास छैन भनि प्रस्ताव पेश गर्दै नेपालीले अविश्वास प्रस्तावको पक्षमा मतदानको लागि आह्वान गरे ।

अविश्वास प्रस्तावमा कांग्रेसका १५, माअ‍ोवादी केन्द्रका ११ र जसपाका २ सांसदको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाका ३ सांसदले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको नेपालीले प्रदेशसभामा जानकारी गराएका थिए । अविश्वास प्रस्ताव पेश गर्दै नेपालीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश र प्रदेशवासीको हितमा काम गर्न नसकेको र प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम र प्रतिगमनको समर्थन गरेको बताए । साथै सत्ता साझेदार (माअ‍ोवादी केन्द्र) लाई समेत अपमान र उपेक्षा गरेको, नेकपा विभाजित भएर एमाले र माओवादी केन्द्र बनेपछि संविधानको धारा १८८ (२) अनुसार मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनुपर्नेमा एक महिनाको समय सीमा नाघ्दासमेत विश्वासको मत नलिएर संविधानको अवज्ञा गरेकाले अविश्वास प्रस्ताव ल्याउनु परेको उनले बताए ।

सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पनि गण्डकीमा दुवै पार्टीको सरकार रहेको थियो । राजमोले पनि विश्वासको मत दिइरहेको थियो । तर माओवादी केन्द्र चैत २५ मा सरकारबाट बाहिरिएको र वैशाख २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीपछि गण्डकी सरकारले चालु हिउँदे अधिवशेन वैशाख १ को मध्यरातबाट लागू हुनेगरी अन्त्य गरिदिएको थियो । चैत २५ मा सुरु भइ ३ दिनसम्म चलेको अधिवेशनको अर्को बैठक वैशाख ६ मा बोलाइएको थियो । तर मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुख अमिक शेरचनले वैशाख २ मा प्रदेशसभा सचिवालयमा पत्र पठाएर अधिवेशन अन्त्य भएको जनाएका थिए ।

वैशाख २ मै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष गण्डकी प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै समावेदन गरेका थिए । सोही समावेदनमा आधारमा प्रदेश प्रमुख शेरचनले वैशाख ६ मा वैशाख १३ गते विशेष अधिवेशनको आह्वान गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसद चाहिन्छ । अहिले कांग्रेसका १५, सभामुखसहित माओवादी केन्द्रका १२ र जनता समाजवादीका २ सांसद छन् । राष्ट्रिय जनमोर्चाका ३ सांसदले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने विपक्षी दलहरुले बताएका छन् । यसले सरकार अल्पमतमा परेको छ । तर सरकार जोगाउन र गिराउन विभिन्न कसरतहरु दलहरुबीच भइरहेका छन् । अविश्वास प्रस्तावको पक्षमा बहुमत भए गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने छन् ।

प्रकाशित : वैशाख १३, २०७८ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?