भूकम्पपछि उठेको कीर्तिपुर गाउँ

सिकर्मी र डकर्मी तालिम लिएका युवाले सिपको सदुपयोग गरी गाउँलाई चिटिक्क बनाए
नवीन पौडेल

नवलपुर — २०७२ को भूकम्पले खण्डहर बनेको पूर्वी नवलपरासीको देवचुली नगरपालिका–६ स्थित कीर्तिपुर गाउँले यतिबेला आफ्नो मुहार फेरिएको छ । 

भुकम्पले ढलाएको बस्ती गाउँले एक जुट भई उठाएको स्थानीय देवबहादुर लुंगेली मगरले सुनाए । स्थानीय तहदेखि केन्द्रसम्म खबरदारी गरेर गाउँमा विकासको लहर ल्याएको उनले बताए । भूकम्पले बस्तीका एक सय ६ घरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । क्षणभरमै खण्डहर बनेको उक्त बस्तीका स्थानीय महिनौंसम्म राहत र सहयोगको आशामा बसे । खानेपानी, बिजुली, सडक र न्यूनतम स्वास्थ्य सुविधा समेत बस्तीमा थिएन । तर छ वर्षमा कीर्तिपुरले काँचुली फेरेको छ । अहिले गाउँको स्तरोन्नति हुँदा स्थानीय दंग छन् ।

बिजुलीको पोल गाडेको वर्षौं हुँदासमेत स्थानीयले बिजुली बाल्न पाएका थिएनन् । वर्षातको ५ महिना सडक हिलो र धूलोले हिँड्नै नसकिने हुन्थ्यो । गाउँमा मोटर आउन हिउँद नै कुर्नुपर्थ्यो । खोलाको पानी ल्याएर पिउनुपर्ने बाध्यता थियो । अहिले सार्वजनिक धारामार्फत गाउँमै पानी आएपछि उनी खुसी हुँदै स्थानीय मनमाया मगरले सुनाइन्, ‘अहिले गाउँ फेरिएको छ । घर अगाडिबाटै मोटर चढेर बजार जान पाउँदा खुसी छौं ।’

पूर्व पश्चिम राजमार्गबाट १० किलोमिटर उत्तरमा पर्ने यस बस्तीमा ९० प्रतिशत मगर समुदायको बसोबास छ । मुन्डे हुँदै कीर्तिपुर जाने सडकमा समस्याको रूपमा रहेको टोक्रे खोलामा मोटरेबल पुल बनिसकेको छ । घण्टौं हिँडेर दलदले बजार पुग्नुपर्ने बाध्यता पुल बनेपछि हटेको छ । गाउँमा नै खाद्यान्न पसल तथा कृषिउपजको संकलन केन्द्र स्थापना भएको छ ।

भूकम्पले भत्काएका मध्ये एक सय ५ घर पूर्णरुपमा निर्माण भइसकेका छन् । गाउँमा नै सिकर्मी र डकर्मी तालिम लिएका युवाले आफ्नै गाउँमा सीपको सदुपयोग गरेर खण्डहर गाउँलाई चिटिक्क बनाएका हुन् । सरकारले पुनर्निमार्णका लागि अनुदान दिएको तीन लाख रुपैयाँमा केही रकम थप गरेर पक्की घर बनाइएका हुन् ।

देवचुली–६ का वडाध्यक्ष मीनबहादुर सोतीले विकासका न्यूनतम पूर्वाधारको काम भइरहेको बताए । ‘अधिकांश मगरको बसोबास रहेको र अशिक्षित समुदाय भएकाले विकासले गति लिन सकेको थिएन,’ उनले भने, ‘अहिले स्थानीय आफैं गाउँ विकास गर्न कस्सिएका छन् । यसमा स्थानीय सरकारले साथ दिएको छ ।’

भूकम्पले भत्किएको कीर्तिपुरको नेपाल राष्ट्रिय शारदा प्रावि अहिले आधारभूत तहमा स्तरोन्नति भएको छ । कक्षा ५ सम्म अध्ययन गरेपछि करिब तीन घण्टा हिँडेर दलदले बजार पुग्नुपर्ने बाध्यता हटेको छ । दुईतले नयाँ संरचनामा कक्षा सञ्चालन भईरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख राजेन्द्र कार्कीले भूकम्पले थलिएको कीर्तिपुर गाउँले मुहार फेरेको बताए । ‘सरकारले प्रदान गर्ने तीन लाख रुपैयाँको मात्र भरमा नपरेर यहाँका स्थानीय र जनप्रतिनिधिले गाउँको मुहार फेर्ने अभियानमा लागेकाले आज यो सफलता हात परेको हो,’ उनले भने, ‘विकास गर्नका लागि सरकारी कदम मात्र पर्याप्त हुँदैन । स्थानीयको सक्रियता पनि मुख्य हुन्छ भन्ने कुरा कीर्तिपुरवासीले प्रमाणित गरिदिएका छन् । गाउँले सक्रिय हुँदा हामीले पुनर्निर्माणमा लिएको लक्ष्य सहजै पूरा गर्न सफल भयौं ।’

प्रकाशित : वैशाख १२, २०७८ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?