कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

जनशक्ति नहुँदा थन्किए उपकरण

लाखौंको लगानी खेर, दक्ष जनशक्ति जान मानेनन्
अगन्धर तिवारी

पर्वत — अस्पतालको सुविधा बिस्तार गर्न गत वर्ष पर्वत अस्पतालले खरिद गरेका उपकरण जनशक्ति अभावले थन्किएका छन् । जिल्ला अस्पतालको सेवा तथा गुणस्तर सुधार गर्न भन्दै अघिल्लो वर्ष प्रदेश सरकारको बजेटमा बनाइएका सघन उपचार कक्ष (आइसीयू), भेन्टिलेटर तथा अक्सिजन प्लान्ट उपयोगविहीन बनेका हुन् ।

जनशक्ति नहुँदा थन्किए उपकरण

अस्पताल प्रशासनका अनुसार विगत २ वर्षदेखि ५० बेडमा स्तर बृद्धि गर्न संघीय सरकारमार्फत २५ करोड रुपैयाँको लागतमा भवन निर्माण भइरहेका छन् । गण्डकी प्रदेशमार्फत अघिल्लो वर्ष नै कार्यान्वयन हुने गरी पाँच बेड आइसीयू र ३ बेड भेन्टिलेटरका लागि एक करोड ६९ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो ।

अन्य उपकरण खरिदका लागि ४० लाख रुपैयाँ, सवारीसाधन खरिदमा ४५ लाख रुपैयाँ, डायलासिस सञ्चालनका लागि मेसिन बाहेक २५ लाख रुपैयाँ बजेट प्राप्त भएको हो । अक्सिजन प्लान्ट जडानका लागि ७५ लाख रुपैयाँ, आँखा तथा दाँत सेवा विस्तारका लागि ५० लाख रुपैयाँ, भौतिक पूर्वाधार निर्माणका लागि ४० लाख रुपैयाँ, विद्युतीय मेडिकल अभिलेख प्रणालीका लागि २८ लाख रुपैयाँ र कोल्ड मर्चरी च्याम्बर (लास चिस्यान केन्द्र) का लागि ८ लाख रुपैयाँ बजेट थियो । तर, ती मध्ये डायलासिस बाहेकका अधिकांस सेवा सुरु भएकै छैनन् ।

प्राप्त बजेटबाट अस्पतालका लागि आवश्यक सबै उपकरण खरिद गरेको भए पनि जनशक्ति अभावको कारण देखाउँदै अस्पतालले डायलासिस बाहेकका कुनै पनि सेवा सञ्चालनमा ल्याएको छैन । अक्सिजन उत्पादन प्लान्ट जडान गरी वायरिङ समेत गरेको भए पनि उत्पादन नभएको अस्पतालमा कार्यरत एक कर्मचारीले बताए ।

‘समितिले अक्सिजन उत्पादन भयो भनेको छ,’ ती कर्मचारीले भने, ‘तर, सबै काम देखाउनका लागि मात्रै भएको हो । अक्सिजन चाहिँदा बाहिरबाटै ल्याउने हो ।’ पछिल्लो समय देशभर दोस्रो चरणको कोरोना भाइरसको महामारी बढिरहेका बेला गम्भीर बिरामीको सहजताका लागि खरिद गरिएका उपकरण सञ्चालनका लागि तालिमप्राप्त जनशक्ति नहुँदा लाखौंको लगानी खेर गएको छ ।

पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोबिन्द गिरी पहाडीका अनुसार प्रदेश सरकारले तत्कालै दक्ष जनशक्ति उपलब्ध गराउने सर्तमा खरिद गरिएका उकपरण स्टोरमै थन्किएका छन् ।

‘सामग्री खरिद गरिहाल्नुस् । मेनपावर हामीले पठाउँछौं भनेपछि उपकरण खरिद गर्‍यौं,’ उनले भने, ‘हामीसँग त्यसै पनि मेनपावरको कमी छ । आइसीयू, भेन्टिलेटर चलाउन छुट्टै मेनवापर चाहिने भएपछि हामीसँग भएकोबाट सम्भव भएन । मन्त्रालयले पठाएन ।’ जनशक्ति नभएपछि खरिद गरिएका सबै उपकरण जस्ताको तस्तै स्टोरमा थन्क्याएर राखिएको अध्यक्ष गिरीले बताए ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोदविन्दु शर्माले पर्वत अस्पतालमा मात्रै नभएर यो समस्या प्रदेशका सबै जिल्लामा भएको बताए । ‘भेन्टिलेटर चलाउन क्रिटिकल केयर मेडिसिनमा एमडी गरेको डाक्टर आवश्यक हुन्छ,’ उनले भने, ‘त्यस्तो जनशक्ति नेपालभरि ३–४ जना मात्रै छन् ।’ उनका अनुसार अहिले हाल ९ जना दक्ष जनशक्ति भर्ना गर्न निवेदन आह्वान गरेकोमा ५ जना सम्पर्कमा आएका छन् । अन्तर्वार्तापछि ती जनशक्ति पोखराबाहिर जान मानेनन् । सम्पर्कमा ल्याउने निकै प्रयास गर्दा समेत सफल नभएको उनले बताए ।

केही तालिमप्राप्त स्टाफ नर्सले पनि सञ्चालन गर्न सक्ने भएकोले प्रदेशको सामाजिक विकास मन्त्रालयले अहिले उक्त तालिम सञ्चालन गरिरहेको उनले बताए ।

प्रकाशित : वैशाख १२, २०७८ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?