कोरोनाकालमा बनेका प्राविधिक

अगन्धर तिवारी

पर्वत — कोरोना कहर नहुँदो हो त पर्वतका श्याम अधिकारी क्याम्पसको पढाइमै व्यस्त हुन्थे । गत चैत ११ देखि लकडाउन सुरु भएपछि उनी कुश्मा–१० पीपलटारीको घरमै बस्न थाले । व्यवस्थापनमा स्नातक अध्ययनरत उनलाई लकडाउन आफ्नो प्रतिभा निखार्ने अवसर बन्यो । 

लकडाउन सुरु भएदेखि उनले गाउँमै पाइने कच्चा पदार्थको उपयोग गरेर घरायसी उपकरण निर्माण गरिरहेका छन् । इन्टरनेटमा उपलब्ध भिडियो हेर्दै उनले दैनिक उपभोग्य सामग्री बनाएका हुन् ।

गाउँमा दैनिक कामकाजका लागि उपयोगमा आउने कुचो, चुलेसो, रोटी मेकर, टेबल पंखा, ट्रफी, मेडल, कुर्ची, टेबल, मोबाइल स्ट्यान्ड, खुत्रुके लगायतका उपकरण बनाएका छन् । फुर्सदको समयमा चिनियाँ भिडियो हेर्ने क्रममा त्यसबाटै प्रभावित भई अभ्यास गर्दै जाँदा घरेलु उपकरण निर्माण गर्न सहज भएको उनी बताउँछन् । ‘यस्ता भिडियो धेरै हेर्थें,’ अधिकारीले भने, ‘घरमा आमाले काम गर्दा धेरै असुविधा भएको महसुस भएपछि त्यसलाई सहज पार्ने उपकरण निर्माणको अभ्यासमा लाग्दै जाँदा सफल भएँ ।’ अचेल उनले गाउँघरमा खेर गएका सामानको उपयोग गरेर फोल्डिङ टेबल, कुर्चीदेखि रिमोटबाट चल्ने गाडीसम्म बनाउन थालेका छन् ।

आफूलाई रोटी बेल्दा असजिलो भएपछि छोराले बनाइदिएको काठको मेसिन देखाउँदै लालकुमारी अधिकारीले भनिन्, ‘अचेल भिडियोमा देखेका सबै सामान बनाउँछ । सुरुमा त पत्याएकै थिइनँ । अहिले धेरै सजिलो भएको छ ।’ विगत एक महिनादेखि अधिकारीले दुई दर्जनभन्दा धेरै घरायसी उपकरण तयार पारिसकेका छन् । कोरोना महामारीले शैक्षिक संस्था बन्द भएको बेला उनले सामाजिक सञ्जाल उपयोग गरे । अहिले उनको प्रतिभा देखेर स्थानीय चकित छन् ।

कमजोर आर्थिक अवस्थाकै कारण औजारको जोहो गर्न कठिन भएको अधिकारीले बताए । ‘फर्निचरमा गएर साइजअनुसारका काठ काटेर ल्याउँछु,’ उनले भने, ‘सधैं जान समस्या हुन्छ । उनीहरूको काममा पनि अवरोध हुन्छ । आफैंसँग सामान भए सजिलो हुन्थ्यो ।’ उपकरणका लागि कुश्मा नगरपालिकामा निवेदन दिएका उनले आसलाग्दो जवाफ र सहयोग पाएका छैनन् । उनले आफूले बनाएका हरेक सामग्रीको भिडियो टिकटकमा समेत राखेका छन् ।

प्रकाशित : वैशाख ११, २०७८ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?