२७ वर्षसम्म पनि सुध्रिएन सडक

तनहुँ — तनहुँकै विकट दक्षिण भेगमा सडकको पहुँच पुर्याउन २७ वर्षअघि ट्र्याक खोलिए पनि उक्त ग्रामीण सडकको स्तरोन्नति अझै हुन सकेको छैन । २०५१ सालमा सर्वसाधारणकै सक्रियतामा खोलिएको बुद्धसिंह मोटरमार्ग यतिबेला दयनीय अवस्थामा पुगेको छ ।

ग्रामीण सडकले दक्षिण पूर्वको कोटा, बैदी, छिपछिपे, धरमपानी, मास्दिघाट, नाल्दीपुल लगायतका गाउँबस्तीका बासिन्दालाई सडक सञ्जालसँग जोड्छ । साविकका गाउँ विकास समिति र स्थानीय जनताको सक्रियतामा दमौलीदेखि घुमाउनेघाटसम्म कच्ची सडक बिस्तार गरिएको थियो । ट्र्याक खोल्दा जस्तो अवस्थामा थियो, अहिले पनि सडक त्यस्तै छ । पोखरा–डुम्रे–आँबुखैरेनी–मुग्लिङ हुँदै नारायणगढ जानुभन्दा दमौलीबाट बुद्धसिंहमार्ग हुँदै घुमाउने निस्किएर नारायणगढ पुग्न २३ किलोमिटर छोटो पर्छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसँग जोड्ने सबैभन्दा छोटो बाटो र पृथ्वी राजमार्गको वैकल्पिक सडकको रूपमा समेत बुद्धसिंह मोटर मार्गलाई लिइन्छ ।
सरोकारवाला निकायले स्तरोन्नतिमा ध्यान नदिँदा स्थानीयले सास्ती खेप्नुपरेको बन्दीपुर गाउँपालिका–३ नाल्दीपुलकी ५१ वर्षीया आशकुमारी गुरुङले बताइन् । सडक नभएको ठाउँमा सडक आउँदा खुसी लागे पनि कालोपत्रे नहुँदा हिउँदमा धूलो र बर्खायाममा हिलोले सताउने गरेको उनले सुनाइन् । ‘यो बाटो बनेपछि छोटो बाटो दमौली जान पाइने भयो भन्ने लागेको थियो,’ उनले भनिन्, ‘कहिले हिलो, कहिले धूलो र पहिरोले गर्दा लामो बाटो नहिँडी सुखै छैन ।’ पहिरो गएको समयमा सवारीसाधन नचल्दा उपचारका लागि दमौली पुग्न घण्टौं हिँडेर लैजानुपर्ने बाध्यता रहेको उनले बताइन् ।
दमौलीबाट घुमाउनेघाटसम्मको ३२ किलोमिटर सडक सेती नदीको किनारैकिनार खनिएको छ । सडक खनिएसँगै वर्षायाममा ठाउँठाउँमा पहिरो खस्ने हुँदा पैदल हिँड्नसमेत जोखिमको अवस्था छ । अहिले हिउँदमा मुस्किलले आधा दर्जन यात्रुवाहक सवारी चल्छन् । गन्तव्यमा नपुगिन्जेलसम्म यात्रा त्रासपूर्ण हुने व्यास नगरपालिका–१४ मास्दिघाटकी नरीमाया थापाको अनुभव छ ।
सडकको स्तरोन्नति र पहिरो रोकथामको काम नहुँदा सडकका किनारमा रहेका बस्ती जोखिममा छन् । निर्वाचनको समयमा राजनीतिक दलका नेताले उक्त बाटो कालोपत्रे गर्ने घोषणा पटकपटक गरे पनि चुनाव पछि सधैं बेवास्ता गर्ने गरेको स्थानीयको गुनासो छ । व्यास–१४ मास्दिघाटकी ५९ वर्षीया दिलिसरा आलेले भनिन्, ‘चुनावको समयमा बाटो ल्याइदिन्छु, बिजुली ल्याइदिन्छु, खानेपानी सबै सेवासुविधा घर आँगनमा ल्याउँछु भनेर भोट माग्न आउँछन् । ठाउँमा पुगेपछि जनताले हिलो खाए पनि खाओस्, धूलो खाए पनि खाओस्, उनीहरूलाई केही मतलब छैन ।’
२०६४ असार १४ गते पहिलोपल्ट मास्दिघाटमा गाडी गुडेको थियो । अहिले प्रदेश सरकार मातहत रहे पनि उक्त मोटरमार्गलाई आवश्यक बजेट व्यवस्थापन गर्न नसकेको र नेताले पनि भाषणमा मात्र सीमित राखेको बुद्धसिंह मोटरमार्ग उपभोक्ता समितिका पूर्वअध्यक्ष चन्द्रबहादुर गुरुङ बताउँछन् ।
प्रकाशित : वैशाख ११, २०७८ १०:२०