सेवाग्राही र वडाध्यक्षबीच झडप

सम्झना रसाइली

तनहुँ — भिमाद नगरपालिकास्थित जनप्रतिनिधि र सेवाग्राहीबीच झडप भएको छ । बिहीबार बिहान करिब ११ बजेतिर भिमाद–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ र सोही वडाका चिरञ्जीवी खनालबीच हात हालाहाल भएको हो ।

सेवाग्राहीलाई वडाध्यक्षले हातपात गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । हकवालाको सिफारिस लिन पुगेका खनाललाई वडाध्यक्ष श्रेष्ठले हातपात गरेको आरोप लागेको छ । तर वडाअध्यक्ष श्रेष्ठले भने खनालले आफूमाथि अपशब्द बोली हातपात गरेपछि प्रतिरक्षा गर्न खोजेको बताएका छन् ।

सोही वडामा बसोवास गर्ने सावित्री दमै नामकी एकल अपांगता भएकी महिला करिब २० वर्षदेखि बस्दै आएको जमिन सेवाग्राही खनालले आफ्नो भनी दाबी गर्न थालेपछि वडाध्यक्ष र खनालबीच विवाद सृजना भएको बताइएको छ । ‘२०७२ सालको गोरखा भूकम्पले सावित्रीको घर भत्काएपछि वडाबाट पहिलो र दोस्रो किस्ता लिएर सोही जग्गामा घर बनाउँदै गर्दा खनालले आएर रोकेका छन् । घर बनाउन रोकेपछि वडा कार्यालयमा खनालमाथि ती महिलाले उजुरी हालेकी छन्’, वडाध्यक्ष श्रेष्ठले बताए ।

‘एकल महिलाको बसोवासका लागि सबै मिलेर छलफल गराैं भन्दा खनाल मान्दै नमानी मेरो काम गर्दिनुस् म जान्छु भोलि छलफल गरौँला भन्न थाले’, वडाध्यक्षले भने, ‘उजुरी परेको छ आजै टुङ्गो लगाउ भन्दा म दिँदै दिन्न मेरो जग्गा भन्दै अपशब्द प्रयोग गरी ममाथि जाइलागे ।’

खनाल हातपातमा उत्रिएपछि प्रतिरक्षा गरेको बताउँदै वडाअध्यक्ष श्रेष्ठले भने, ‘फोटो र भिडियोमा सेवाग्राहीको व्यवहार नदेखाइ मेरो मात्र खिचियो । कसरी हुन्छ मलाई फसाउने र मेरो चरित्रहत्या गर्ने हिसाबमा भिडियो खिचेर सार्वजानिक गरिएको छ ।’

यता सेवाग्राही खनाल भने, आफू अन्तिमसम्म नम्र भएर बोल्दा पनि वडाध्यक्षले नै हातपात गरेको आरोप लगाएका छन् । खनालले भने, ‘म हकवालाको सिफारिस लिन गएको थिए, वडामा सबै काम भएर राजस्व पनि तिरेर रसिद लिइसकेको थियो । सिफारिस पत्रमा हस्ताक्षरका लागि वडाअध्यक्षको कार्यकक्षमा गएको तर उहाँले हस्ताक्षर गर्न मान्नुभएन । उहाँले उल्टै मेरो जग्गामा अर्कैलाई घर बनाउन दिनुपर्छ भन्न थाल्नु भयो ।’

खनालले भने, ‘यो विषयमा भोलि आएर सल्लाह गरौँला आज मलाई हतार छ मेरो यति काम गर्दिनुस् भन्दा, छलफल नगरी हस्ताक्षर गर्दिन भन्नुभयो । उसोभए यो रसिद लिनु र मैले तिरेको पैसा फिर्ता दिनुस् भन्दा उल्टै मसँग झर्किएर अपशब्द बोल्दै हातपातमा उत्रिनु भयो ।’

यस घटनाका विषयमा भिमाद नगरपालिकाका नगरप्रमुखले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन् । उनले भने, ‘सामाजिक सञ्जालमा राखिएको तस्बिर र भिडियो एकपक्षीय ढंगले राखिएको देखिएको छ । यस विषयमा दुवै पक्षसँग छलफल गरी सत्यतथ्य के हो भनी पहिचान गरी सोही अनुसार कारवाही अगाडि बढाउने छौं ।’

प्रकाशित : वैशाख ९, २०७८ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?