लाप्राकको गुप्सीपाखा बस्ती हस्तान्तरण

हरिराम उप्रेती

गुप्सीपाखा,गोरखा — धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखामा भूकम्प पीडितका लागि बनेको एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ ।

लाप्राकको गुप्सीपाखा बस्ती हस्तान्तरण

बिहीबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली र गैरआवासीय नेपाली संघ(एनआरएनए)का अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा बस्ती हस्तान्तरण गरे । बस्ती हस्तान्तरण समारोहमा भाग लिन चारवटा हेलिकप्टरमा पुनःनिर्माण प्राधिकरण र एनआरएनएका प्रमुख तथा प्रतिनिधि बिहीबार गुप्सीपाखा आएका थिए ।


स्थानीय डम्बर सिं गुरुङलाई लालपुर्जा वितरणसँगै बस्ती हस्तान्तरण गरिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, तत्कालीन शहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघबीच सम्झौता भएर २०७३ वैशाख १२ बाट लाप्राक बस्ती पुनःनिर्माण सुरु भएको थियो । बस्ती पुनःनिर्माण सुरु भएको झण्डै पाँच वर्षपछि लाप्राकबासीले नयाँ घर पाएका हुन् ।


गुप्सीपाखामा पाँच सय ७३ घर निर्माण भएसँगै बस्ती आकर्षक बनेको छ । निर्माण सम्पन्‍न भएका घरमा भूकम्प पीडित पनि सर्न थालेका छन् । २० भन्दा बढी घरधुरी गुप्सीपाखा बस्तीमा सरिसकेको धार्चे गाउँपालिका–४ का वडा अध्यक्ष राज गुरुङले बताए । लाप्राकस्थित गुप्सीपाखा बस्तीका लागि मात्र ६१ करोड ४० लाख २८ हजार तीन सय १५ रुपैयाँ खर्च भएको एनआरएनएले जनाएको छ । उक्त रकममध्ये ५७ करोड ६६ लाख ४ हजार आठ सय ३६ रुपैयाँ बस्ती पुनःनिर्माणमा मात्र खर्च भएको छ ।


एकदेखि डेढ वर्षमै बस्ती पुनःनिर्माण सक्ने योजना रहेपनि वर्षा र हिउँ पर्दा ढिला भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले बताए । ढिलै भएपनि सुन्दर बस्ती बनाएर हस्तान्तरण गरेको उनको भनाइ छ । गुप्सी पाखालाई पूर्वाधारयुक्त बस्ती बनाउने पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले बताए । खानेपानी, ढल,नाली तथा पहिरो नियन्त्रण लगायतका काम गर्ने योजना अघि बढिरहेको उनको भनाइ छ ।

प्रकाशित : वैशाख ९, २०७८ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?