कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

तनहुँमा एक चितुवा नियन्त्रणमा

सम्झना रसाइली

तनहुँ — ब्यास नगरपालिका–६ सिसाघाटका दिलबहादुर कुमाल (मदन) बुधबार बिहान खानपिन गरी भैंसी र गोरु लिएर गोठालो जाँदै थिए । घरबाट निस्कनसाथ नजिकैको जंगलबाट छिमेककी एक महिला चिच्याएको सुने । ‘दाई मलाई बचाउनुस्, चितुवाले आक्रमण गर्न लाग्यो ।’

तनहुँमा एक चितुवा नियन्त्रणमा

कुमाल दौडिएर महिला भएकोमा पुग्दा चितुवा आएको रहेछ । गोठालो गएका महिलाले चितुवा देखेपछि हारगुहार गरेका थिए । कुमाल त्यहाँ पुग्ने बित्तिकै चितुवाले कुमालमाथि नै आक्रमण गर्न खाज्यो । ५३ वर्षीय कुमालले तत्कालै चितुवामाथि जाइलागे । ८ वर्षको जस्तो देखिने चितुवालाई २ मिनेटको घम्साघम्सी पछि कुमालले चितुवलाई आफ्नो नियन्त्रणमा लिन सफल भए ।

आफूलाई आक्रमण गर्न आएपछि चितुवासँग एक्लै भिडेका कुमालले चितुवाको खुट्टा समात्न पुगे र लगत्तै टाउको पनि समाते । ‘करिब २ मिनेटसम्म चितुवसँग घम्साघम्सी पर्‍यो’, कुमालले भने, ‘पछि हल्लाखल्ला सुनेपछि भाइ भेषबहादुर पनि घटनास्थलमा आइपुग्यो र हामी दुई मिलेर चितुवा नियन्त्रणमा लियौं ।’

चितुवा नियन्त्रणमा लिने दिलबहादुर कुमाल (मदन) । तस्बिर : सम्झना/कान्तिपुर

हल्लाखल्ला भएपछि गाउँले पनि जम्मा हुन थाले । गाउँलेको सहयोगमा चितुवालाई बाँध्न सफल भएको कुमालले बताए । उनले भने, ‘सुरुमा चितुवा देख्ने बित्तिकै डर लाग्यो तर चितुवा आफैमाथि जाइलागेपछि आफू बच्नका लागि भएपनि प्रतिरोध गर्नुपर्ने अवस्था आइलाग्यो ।’ चितुवा बुढो भएका कारण पनि नियन्त्रणमा लिन सहज भएको उनले बताए । चितुवालाई बाँधेर राखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

चितुवा नियन्त्रणमा आइसकेपछि चितुवा हेर्न स्थानीयको भीड लागेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए । ‘८ वर्षको बुढो भाले चितुवा रहेछ’, उनले भने, ‘कुमाल र चितुवाको लडाइँमा चितुवा निकै घाइते भएको छ । चितुवाको अवस्था नाजुक छ ।’ चितुवालाई अहिले कार्यालयमै पानी र मासु दिएर राखिएको उनले बताए ।

जिल्लामा विगत ३ वर्षदेखि मानव र चितुवाबीच द्वन्द्व बढ्दै गएको छ । जंगलमा वन्यजन्तुको आहारा र बासस्थानको व्यवस्थापन खलबलिएपछि चितुवा मानवबस्ती आउने गरेको छ । मानवबस्तीमा आहाराका लागि आउने र घरपालुवा जनावरलाई आक्रमण गर्न नसकेपछि बालबालिका, महिला र वृद्धवृद्धालाई आक्रमण गरी ज्यानै लिने गरेको छ । २०७४ फागुन १ गतेयता जिल्लामा चितुवाको आक्रमणबाट १० बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : वैशाख ८, २०७८ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?