कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

दरबन्दी ३१, कार्यरत ६

पूर्वी नवलपरासी — डन्डास्थित जिल्ला अस्पतालमा ३१ स्वास्थ्यकर्मीको दरबन्दीमा ६ जना मात्र कार्यरत छन् । दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचार सेवा प्रभावित भएको हो । अस्पतालमा ३ चिकित्सकको दरबन्दी रहेकामा एक जना पनि आएका छैनन् । अस्पतालले आफ्नै स्रोतबाट ९ स्वास्थ्यकर्मी (चिकित्सकसमेत) राखेको छ ।

विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालमा रहेको भेन्टिलेटर, आईसीयू पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन । जिल्ला अस्पतालमा ५ बेडको आईसीयू रहेकामा ३ मात्र सञ्चालनमा छन् । ३ भेन्टिलेटरको व्यवस्था छ । आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि विशेषज्ञ चिकित्सक, स्टाफ नर्स नहुँदा समस्या भएको छ । पटक–पटक स्वास्थ्यकर्मी पठाउन अनुरोध गर्दै आए पनि दरबन्दीका स्वास्थ्यकर्मी आएका भने छैनन् ।

सरकारबाट १५ बेड सञ्चालनको अनुमति पाएको जिल्ला अस्पतालले ४९ बेड सञ्चालनमा ल्याएको छ । अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नआए पनि अस्पताल व्यवस्थापन समितिले करारमा स्वास्थ्यकर्मी नियुक्ति गरेर काम चलाइरहेको दाबी गरे । उनले दक्ष र विशेषज्ञ चिकित्सकको अभावमा आईसीयू र भेन्टिलेटर कक्ष पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको जानकारी दिए ।

अस्पतालमा पीसीआर परीक्षणको व्यवस्था पनि मिलाइएको छ । ३ महिनाको अवधिमा एक हजार जनाभन्दा बढीको पीसीआर परीक्षण गरिसकिएको छ । जिल्ला अस्पतालमा ६ बेडको आइसोलेसन कक्ष छ । हाल कोरोना संक्रमित २ बिरामी आइसोलेसनमा उपचाररत छन् । कोभिडको जोखिम देखिएकाले त्यसको व्यवस्थापन सुरु भएको सुवेदी बताउँछन् ।

पूर्वी नवलपरासीमा ३ दर्जनभन्दा बढी सरकारी तथा निजी स्वास्थ्य केन्द्र रहेका छन् । आईसीयू र भेन्टिलेटर सेवा रहेको यो एक मात्र जिल्ला अस्पताल हो । तर विशेषज्ञ चिकित्सक नभएका कारण सामान्य शल्यक्रिया गर्नुपर्ने बिरामीलाई समेत बाहिरी जिल्ला रिफर गर्नुपर्छ । कावासोतीमा रहेको रक्त सञ्चार केन्द्रमा संकलन हुने गरेको रगत पूर्वी नवलपरासीका अस्पतालमा शल्यक्रिया नहुने गरेका कारण भरतपुर रक्त सञ्चार केन्द्रमा पठाउने गरिएको छ ।

प्रकाशित : वैशाख ७, २०७८ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?