२ घण्टा हिँडेर स्कुल

पर्वत — मोदी–३ घुरुंगाका विद्यार्थीलाई दैनिक दुई घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ । गाउँमा रहेको लाङ्दी आधारभूत विद्यालय कक्षा ५ सम्म मात्र हुन्छ ।

त्यसभन्दा माथिको पढाइका लागि घुरुंगाका ३१ परिवारका विद्यार्थी दुई घण्टा पैदल हिँडेर छिमेकी पूर्ण गाउँमा रहेको हिमालय मावि पुग्नुपर्ने बाध्यता छ ।

टाढा जानुपर्ने भएकाले कतिपय बीचमै विद्यालय छोड्न बाध्य छन् । घना जंगल, खोल्साखाल्सी र भीरको बाटो हुँदै हिमाल मावि जान असुरक्षित महसुस गरी अभिभावक आफ्ना बालबालिकालाई एक्लै पठाउन नसक्ने गुनासो गर्छन् । ‘स्कुल गएका केटाकेटी बेलुका घर नआउँदासम्म बेचैनी भइरहन्छ,’ स्थानीय यामबहादुर पुनले भने, ‘बाटो असजिलो छ । बर्खाका बेला त हिँडिसाध्य छैन ।’

टाढा भएकाले विद्यार्थीलाई पनि बिहान उठ्नेबित्तिकै विद्यालय जाने हतारो हुन्छ । घर फर्किंदा झमक्क साँझ परिसकेको हुन्छ । कक्षा सातमा अध्ययनरत सीमा पुनले भनिन्, ‘पुस–माघमा घर फर्किंदा राति नै हुन्छ ।’ दुई–दुई घण्टा हिँडाइको थकानले गृहकार्य गर्न र पढ्न गाह्रो हुने गरेको विद्यार्थीको गुनासो छ ।

विद्यालय टाढा भएकै कारण कतिपयले छोराछोरीलाई बीचमै पढाइ रोकेका स्थानीय सोनी गुरुङले बताइन् । ‘सक्नेले सहरमा लगेर पढाउँछन्,’ उनले भनिन्, ‘नसक्नेका छोराछोरी गाउँमै गोठालो बनेका छन् ।’ स्थानीय सरकार आएपछि बालबालिकाको पढाइ सहज हुने अपेक्षा गरेका स्थानीय यति बेला निराश छन् । ‘चुनावताका नेताले आकाशकै तारा खसाल्छौं भनेझैं गर्नुभयो,’ स्थानीय माया गुरुङले भनिन्, ‘चुनाव जितेपछि विकासको त कुरा छोडौं, नेताहरूको मुख देख्नसम्म पाइएको छैन ।’

प्रकाशित : वैशाख ७, २०७८ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?