१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आगलागीका घटना बढे, दमकल छैन

जनप्रतिनिधिले आवश्यकता महसुस गरेनन्, भएकाको पनि प्रभावकारी छैन सेवा
प्रदेश ब्युरो

पोखरा — यतिबेला वनजंगलमा मात्र होइन, बस्ती र घरमा पनि आगलागीका घटना बढिरहेका छन् । समयमै आगो नियन्त्रण नहुँदा जनधनको क्षति हुने गरेको छ । आगलागी नियन्त्रणका लागि दमकल (बारुण यन्त्र) सेवाको महत्त्वपूर्ण भूमिका रहन्छ ।

आगलागीका घटना बढे, दमकल छैन

प्रभावकारी सेवाका लागि चालक, तालिमप्राप्त अग्निनियन्त्रक, समयमै पानी भर्ने व्यवस्था हुनु जरुरी छ । तर गण्डकी प्रदेशका विभिन्न जिल्लामा पर्याप्त दमकल छैनन् । दमकल भए पनि दरबन्दीअनुसार र दक्ष कर्मचारी अभावमा सेवा प्रभावकारी हुन सकेको छैन । साथै साँघुरा, कच्ची सडकका कारण आगो नियन्त्रणमा दमकल जान नसक्ने अवस्था छ ।

गत फागुन र चैतमा बागलुङ सदरमुकाम बागलुङ बजारमा मात्रै आगलागीका ४ घटना भए । तीमध्ये २ वटामा दमकल बिग्रेकाले स्थानीयले पानी बोकेर निभाए । गत आइतबार बजारको एक फर्निचर उद्योगमा लागेको आगाले ठूलो क्षति पुगेपछि जिल्लाको दमकलले मात्र नभ्याएपछि पर्वत र म्याग्दीबाट समेत झिकाई ५ घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।

तीन साताअघि मात्रै बरेङ र गलकोटमा भएको आगलागीमा दमकल सेवा उपलब्ध हुन सकेन । बागलुङ सदरमुकामबाहेक अन्यत्र दमकल छैन । ६ वर्षअघि बागलुङ नगरपालिकाले ल्याएको दमकल पनि नियमित चल्दैन । ‘कहिले फोहोरा बिग्रेको भन्दै आउँदैन, कहिले पानी नराखी लापरबाही गरिन्छ,’ स्थानीय विदेशकुमार श्रेष्ठले भने, ‘दमकल भनेको चौबीसै घण्टा तयारी अवस्थामा बस्नुपर्नेमा खोजी गर्दा पनि भेटिँदैन ।’ दमकलका चालक एक जनामात्रै भएकाले खोजेकै बेला पठाउन नसकेको बागलुङ नगरपालिकाका योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताए ।

गलकोट नगरप्रमुख भरत शर्मा गैरेले दमकल किन्ने तयारी नभएको बताए । ‘आवश्यकता छ’ गैरेले भने, ‘अब छलफल हुनेछ ।’ सदरमुकाममा दमकल राख्ने स्थान पनि छैन । दमकल पटकपटक बिग्रने कारणले आवस्यक पर्दा सेवा पाउन नसकेको स्थानीय विष्णु खत्रीले गुनासो गरे । बागलुङका अधिकांश गल्ली साँघुरो भएकाले दमकल जान नसकेर तत्काल आगो नियन्त्रणमा समस्या पर्ने बागलुङ–२ का सदस्य अर्जुन घिमिरेले बताए । ‘मुख्य सडकमा मात्रै दमकल पुग्छ, भित्री खण्डमा आगोलागी भएमा नियन्त्रणमा लिन गाह्रो छ,’ उनले भने, ‘योजनाबद्ध विकास नहुँदाको समस्या हो यो ।’ नगरपालिकाले नियमित बजेटमा मर्मत र इन्धनको व्यवस्था गरेपनि दमकल व्यवस्थापन समिति नभएपछि चाहेको बेला सेवा दिन नसकिएको उनले जनाए । दमकल संचालनका लागि प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघ र नगरपालिकाको सञ्चालक समिति बने पनि निस्क्रिय छ ।

घटना धेरै, उपयोग कम

गत २७ चैतमा स्थानीय पाखोमा लागेको डढेलो बस्तीमा पस्दा पर्वतको पैयुँ–६ काहुँडाँडामा ५ घर र १५ गोठ जले । गत सोमबार विद्युत् सर्ट हुँदा कुश्मा नगरपालिका–२ खुर्कोटकी लीलकुमारी सुवेदीको घर जलेर खरानी भयो । फागुन र चैतमा मात्रै पर्वतका तीन दर्जनभन्दा बढी सामुदायिक वनमा आगलागी भयो । आगलागीका घटना बढिरहँदा दमकलको भने अभाव छ । यसले स्थानीय र सुरक्षाकर्मीले घरयासी भाँडाकुँडाको प्रयोग गरी आगो निभाउनुको विकल्प छैन । जिल्लाभर कुश्मा नगरपालिकासँग एउटा मात्रै दमकल भए पनि सडकको सहज पहुँच नहुँदा र घटनाबारे तत्काल खबर नपाउँदा आगलागी भएको ठाउँसम्म समयमै पुग्ने अवस्था छैन ।

कुश्माले ७० लाख रुपैयाँको लागतमा ४ वर्षअघि दमकल खरिद गरेको थियो । ‘सम्भावित दुर्घटनाबाट जोगाउन हरदम प्रयास गरेका छौं,’ नगरप्रमुख रामचन्द्र जोशीले भने, ‘सबैतिर पुर्‍याउन सडकको पहुँच छैन । पहुँच भएका ठाउँबाट तत्कालै खबर नआउँदा सबैतिर पुर्‍याउन नसकिएको यथार्थ हो ।’

सडकको पहुँच भए नगरबाहिर पनि पुगेर सेवा दिन सक्ने नगरपालिकाले जनाएको छ । केही दिनअघि बागलुङ बजारको एक पसलमा लागेको आगो निभाउन कुश्माबाट दमकल गएको थियो । पर्वतका अन्य स्थानीय तहले भने दमकलमा गरेको लगानीअनुसार उपयोगी नहुने भएकाले खरिद गर्न नसकिएको जनाएका छन् । ‘करोड हाराहारी लगानी गर्नुपर्छ,’ फलेबास नगरप्रमुख पदमपाणि शर्माले भने, ‘दुई पालिका मिलेर लिनसके सहज हुन्थ्यो ।’ दमकल चालक, इन्धनलगायत सञ्चालन खर्चमा समेत नियमित आर्थिक व्ययभार पर्ने भएकाले खरिद गर्न नसकिएको स्थानीय तहले जनाएका छन ।

धूलो नियन्त्रणमा दमकल

म्याग्दी सदरमुकाम बेनी नगरपालिकामा मात्रै एउटा दमकल छ । कठिन भूगोल, साँघुरा सडक र पहाडको टुप्पोमा छरिएका बस्तीमा आगलागी हुँदा समयमा दमकल पुर्‍याउनै समस्या छ । ‘गाउँपालिका केन्द्र सहरोन्मुख छन । सडक पनि गाउँसम्म विस्तार भएकाले स्थानीय तहमा कम्तीमा एउटा दमकल आवश्यक भइसकेको छ,’ मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले भनिन्, ‘सबै बस्तीमा दमकल पुर्‍याउन नसके पनि मुख्य सडकसँग जोडिएका बस्तीमा आगलागी हुँदा पुर्‍याउन सकिन्छ । एउटा पालिकाले मात्र दमकल राख्न स्रोत जुटाउन नसके मिलेर पनि राख्न सकिन्छ ।’

बेनी नगरसँग भएको ४ हजार लिटर क्षमताको एउटै दमकल पनि सानो चक्काको टु–ह्वीलवाला हो । त्यसैले यो सजिलो बाटोमा मात्र गुड्छ । बेनीबजार पहाडको खोंचमा छ, बाँकी बस्ती सबै डाँडापाखामा छरिएका छन । सडक साँघुरा र उकाला छन् । दमकलको क्षमता र सडकको स्तरको कारण सबै ठाउँमा नपुगे पनि बेनीको खुला मञ्चमा कुनै कार्यक्रम हुँदा धूलो नियन्त्रण गर्न भने दमकल उपयोगी भएको छ । अघिल्लो वर्ष कोरोना संक्रमण रोक्न भन्दै क्लोरिन पनि दमकलले नै छर्केको थियो । ‘धेरै ठाउँमा दमकल गुड्ने सडक छैन । मिल्नेसम्म पुर्‍याइएको छ,’ चालक नारायण गर्वुजाले भने, ‘सके आगो निभाउने, नभए बेनीको धूलो नियन्त्रण गर्न पानी छर्ने काममा राम्रो उपयोग भएको छ ।’

दमकल भए पनि ढिला

लमजुङका सबै स्थानीय तहले विपद्को पूर्वतयारी योजना बनाएका छन । वडादेखि पालिका तहसम्म समिति गठन गरेका छन् । तर, आगलागीजस्ता विपद्का लागि चाहिने अत्यावश्यक दमकल ल्याउन भने चासो दिएका छैनन् । बेंसीसहर नगरपालिकाको एक मात्र दमकल राख्ने निश्चित ठाउँ नहुँदा प्रहरी, जिल्ला समन्वय समितिलगायत ठाउँमा राख्ने गरिन्छ । अस्पताल, प्रहरी, सरकारी कार्यालयमा पानी ओसार्ने काममा समेत प्रयोग गरिँदै आएको दमकल आगलागी हुँदा भने ढिला पुग्ने गरेको स्थानीयको गुनासो छ । गत शनिबार राति बेंसीसहर–८ दनाइफाँटको एक हार्डवेयरमा आगलागी हुँदा ४५ मिनेटपछि मात्रै दमकल पुगेको थियो । दमकल प्रहरीले चलाएको थियो । स्थानीयले दमकलमा पानीसमेत पूरै नभएको गुनासो गरे ।

सहरमा आगलागीका घटना भइरहे पनि जनप्रतिनिधिले दमकलको आवश्यकता महसुस गरेका छैनन् । ८ स्थानीय तहमध्ये ४ गाउँपालिकामा भने भौगोलिक अवस्थाले दमकल गुड्न समस्या छ । मध्यनेपाल नगरप्रमुख रमेशकुमार पाण्डेले आवश्यक भए पनि दमकल किन्न नसकिएको बताए । सुन्दरबजार नगरप्रमुख जनकराज मिश्रले चालक, प्राविधिक राख्नुपर्ने भएकाले खर्चिलो हुने भएकाले सचेतनामूलक कार्यक्रममा जोड दिएको बताए । प्रहरी निरीक्षक ओमप्रकाश पुनले आगलागीका घटना जानकारीमा आउनेबित्तिकै प्रहरी खटिने र दमकल पनि सँगै लैजाने बताए ।

व्यवस्थापनमा चुनौती भन्दै बेवास्ता

सहज रूपमा व्यवस्थापन र सञ्चालनमा चुनौती रहेको भन्दै तनहुँका स्थानीय तहले दमकल खरिदमा चासो देखाएका छैनन् । जिल्लामा पछिल्लो समय बढ्दो बजारीकरणसँगै आगलागीका घटना पनि बढेका छन् । तर दमकलको सहज पहुँच नहुँदा क्षतिको मात्रा पनि बढेको छ । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकासँग मात्र दमकल छन् । तर, सञ्चालनमा भने व्यासको मात्र भएकाले जिल्लाभर कुद्नुपर्ने अवस्था छ । बन्दीपुरले आवश्यक व्यवस्थापन गर्न नसक्दा सञ्चालनमा आउन सकेको छैन ।

सदरमुकाम प्राथमिकतामा रहे पनि अन्य स्थानीय तहमा दमकल पठाउने व्यासका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए । बन्दीपुरका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले दमकलचालक नरहेको र अन्य सवारीचालकबाट काम चलाइएको बताए । अन्य स्थानीय तहले दमकल खरिदका लागि कुनै पनि तयारी नभएको बताएका छन् । बढी खर्चिलो हुने भएकाले अन्य स्थानीय तहले भने दमकल खरिदमा चासो नदिएका हुन् । दमकल खरिदभन्दा सञ्चालन खर्च बढी हुने भएकाले स्थानीय तहले आट्न नसकेको शुक्लागण्डकीका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए ।

दमकल छ, कर्मचारी छैनन्

बजेट, सडकको सहज पहुँच अभाव रहेको भन्दै कास्कीका ४ गाउँपालिकाले दमकल खरिदमा चासो देखाएका छैनन् । आगलागी भइहाले स्थानीयले पानी बोकेर र स्याउलाले हम्केर आगो निभाउन बाध्य छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले दमकल किन्ने क्षमता नभएको बताए । ‘हामीसँग बजेट छैन, कसरी दमकल किन्ने ?’ उनले भने, ‘भीरपाखा बढी भएकाले पुर्‍याउन पनि सकिँदैन ।’ आगलागी भएमा गाग्री, रोचा, थाल, कचौरा लिएर घटनास्थल पुग्ने उनले बताए । गापामा एक वर्षयता १५ घर, ५ धन्सार र गोठ जलेका छन् ।

कास्कीकै रूपा गाउँपालिकामा पनि दमकल छैन । आगलागीका घटना भए पोखरा महानगरको दमकल ल्याइने अध्यक्ष नवराज ओझाले बताए । पालिकाका सबै ७ वटै वडामा अग्नि नियन्त्रण रेखा राखिएको र खानेपानी पाइपको व्यवस्था भने गरिएको उनको भनाइ छ । जंगलको आगो नियन्त्रणमा पनि अग्निरेखाको साहायता लिइने गापाले जनाएको छ । दमकल खरिदका लागि कार्ययोजना भने सार्वजानिक गरेको छ । मादी र माछापुच्छ्रे गाउँपालिकामा पनि दमकल नभएकाले आगलागी भएमा स्याउला र पानीको पाइपकै भर पर्नुपर्छ । पोखरा महानगरमा एउटा सानोसहित ४ दमकल छन् । महानगरको आकस्मिक सेवा उपशाखा इन्चार्ज रामजी केसीले चारवटै दमकल एकैसाथ चलाउन नसकिने बताए ।

‘एउटा दमकलमा कम्तीमा पनि ५ कर्मचारी चाहिन्छ । एउटा दमकल लिएर हिँड्यो भने अर्को दमकलमा जाने मान्छे हुँदैनन्,’ उनले भने । महानगरमा ३ चालकसहित १० मात्रै कर्मचारी छन् । २ कर्मचारी मात्रै तयारी अवस्थामा हुन्छन् । महानगरमा चालु आवमा मात्रै आगलागीका एक सय २८ घटना भएका छन् । ‘घटना भएपछि स्थानीयले प्रहरीमा खबर गरेपछि प्रहरीले हामीलाई भन्छ,’ केसीले भने, ‘ढिला खबर हुँदा पनि समयमै पुग्न सकिँदैन ।’ अत्यावश्यकीय सेवाका लागि सोहीअनुसारको ऐन कानुन बनाएर कर्मचारी राख्नुपर्नेमा कर्मचारीले जोड दिए ।

-प्रकाश बराल (बागलुङ), अगन्धर तिवारी (पर्वत), घनश्याम खड्का (म्याग्दी), आश गुरुङ (लमजुङ), सम्झना रसाइली (तनहुँ) र प्रतीक्षा काफ्ले (कास्की)

प्रकाशित : वैशाख ६, २०७८ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?