१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तनहुँसुर संरक्षण गरिँदै

सम्झना रसाइली

तनहुँ — ऐतिहासिक महत्त्वको तनहुँसुरमा रहेका धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक सम्पदा नष्ट हुने खतरामा पुगेपछि अहिले संरक्षण अभियान सुरु गरिएको छ ।

तनहुँसुर संरक्षण गरिँदै

सेनवंशी राजाले राज्य सञ्चालन गरेको ठाउँ तथा तनहुँसुरका पुरातात्त्विक सम्पदालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न व्यास नगरपालिकालगायत सरोकारवाला निकायले चासो देखाउन थालेका हुन् ।

सम्पदाको पुनः निर्माण गरी संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार गर्न थालिएको हो । विश्व सम्पदा दिवसका अवसरमा नगरपालिका र सम्पदा नेपालले ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको महत्त्वका विषयमा अन्तरक्रिया गरे । पुरातात्त्विक सम्पदा र वन तथा वातावरण संरक्षण, स्थानीय कला संस्कृतिको प्रदर्शन, सामुदायिक होमस्टेको अनुभव आदानप्रदान, पुरातात्त्विक सम्पदाको महत्त्व एवं वातावरण संरक्षण विषयक माविस्तरीय वक्तृत्वकला प्रतियोगिताजस्ता कार्यक्रम भए । तनहुँसुरमा पर्यटन प्रवर्द्धन साथै पुरातात्त्विक सम्पदालाई विश्वमाझ चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सम्पदा नेपालका अध्यक्ष एवं पर्यटनविद् हरिसिं गुरुङले बताए ।

तनहुँसुरलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक विविधतायुक्त पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै स्थानीय समुदायलाई प्रोत्साहन गर्ने उद्देश्यसहित गरिएको कार्यक्रम उपलब्धिमूलक हुने अपेक्षा गरिएको व्यास–११ का वडाध्यक्ष नीरबहादुर खड्काले बताए ।

‘तनहुँसुर दरबार परिसरअन्तर्गतका पुरातात्त्विक सम्पदाका साथै वातावरण संरक्षण एवं प्रवर्द्धनका लागि जनचेतना अभिवृद्धि गर्ने लक्ष्य हो,’ उनले भने, ‘साथै होमस्टेको प्रवर्द्धन गरी आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गर्दै आर्थिक समृद्धिमा पनि टेवा पुग्नेछ ।’

राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले पुरातात्त्विक सम्पदाको संरक्षण गरी देश–विदेशमा आफ्नो क्षेत्रलाई परिचित गराउनुपर्ने बताए । ‘राजाका पालामा चलाएका तोपदेखि सैनिक बस्ने गढी, दरबारजस्ता ऐतिहासिक सम्पदा छन्,’ उनले भने, ‘यसको संरक्षणमा स्थानीयवासी तथा स्थानीय सरकार जागरुक हुन जरुरी छ ।’ कृषि, पर्यटन र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए । ‘ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिकलगायतका सम्पदाको महत्त्व बुझ्न सकेका छैनौं,’ उनले भने, ‘हाम्रा ग्रामीण बस्ती उजाडिँदै जाँदा सम्पदा नासिने खतरा पनि बढेको छ, त्यसैले यस्ता सम्पदाहरूको संरक्षण गरी ग्रामीण पर्यटन प्रवर्द्धन गर्न हामीले अभियान चलाएका छौं ।’

तनहुँसुरमा जीर्ण अवस्थामा रहेको खड्ग कालिका मन्दिर पुनर्निर्माणका लागि पुरातत्त्व विभागले ५० लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, खड्गदेवी मोटरमार्गको ६ किमि खण्ड कालोपत्रका लागि संघीय सरकारको ५ करोड र नगरपालिकाको ५ करोड छुट्याइएको छ ।

तनहुँसुरबाट हिमशृंखला, महाभारत पर्वत शृंखला, कलेस्ती फाँट, चुँदी फाँट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । तनहुँसुर दरबारका अवशेष, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवाँ, कुँडापानी, बाइससिढी चौतारा, ढुंगेसाँघु, फूलपाती ढुंगा, रानीपोखरी, धर्मशाला, रानीबगैंचा, गढी, भगवतीपानी मन्दिर यहाँका आकर्षण हुन् ।

प्रकाशित : वैशाख ६, २०७८ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?