स्थानीय तहको पुँजीगत खर्च निराशाजनक- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहको पुँजीगत खर्च निराशाजनक

घनश्याम खड्का

म्याग्दी — जिल्लाका सबै स्थानीय तहको दोस्रो चौमासिकसम्मको पुँजीगत खर्च निराशाजनक देखिएको छ । पुरातन शैली, संस्कार र प्रवृत्तिलाई त्याग्न नसक्दा पुँजीगत खर्च २५ प्रतिशतभन्दा कम भएको हो । 

संघीय तथा प्रदेश सरकारबाट स्थानीय तहसम्म बजेट निकासामा ढिलाइ हुने र समयमै योजना सम्झौता तथा कार्यान्वयन नहुने समस्याको पुनरावृत्तिले दोस्रो चौमासिकसम्म पनि खर्च न्यून भएको स्थानीय तहले जनाएका छन् ।

अन्नपूर्ण गाउँपालिकाले जम्माजम्मी १५ प्रतिशतमात्र खर्च गरेको छ । पुँजीगततर्फको १५ करोड ५६ लाख ३४ हजार रुपैयाँ बजेटको जम्मा १५.११ प्रतिशत मात्र खर्च भएको छ भने चालुतर्फ ३२ प्रतिशत खर्च भएको छ । लेखा अधिकृत जयप्रसाद सुवेदीका अनुसार, प्रमुख प्रशासकीय अधिकृत रिक्त हुँदा छनौट भएका योजना सम्झौता भै अधिकांश सम्पन्न भएपनि भुक्तानी रोकिदाँ भौतिक प्रगति न्यून देखिएको हो । ‘काम र भुक्तानी गर्ने मुख्य समयमा २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत रिक्त रह्यो, अव प्रगति बढ्छ’ सुवेदीले भने, ‘हाम्रो मात्र होईन देशभरी नै चैत–असार योजना निर्माणमा हतारोको सिजन हो ।’

मंगला गाउँपालिकाले फागुन मसान्तसम्म पुँजीगततर्फ १६ प्रतिशत खर्च गरेको छ । चालुतर्फ भने ४१ प्रतिशत खर्च छ । प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले गापाभित्रका सवै ५ वटै वडासचिव रिक्त रहेकोले योजना कार्यान्वयनमा समस्या भएको बताए । मालिका गाउँपालिकाले चालुवर्ष छनौट गरेका २ सय १५ मध्ये दोस्रो चौमासिकसम्म १ सय ३९ योजनामात्र सम्झैता भएको छ । गाउँपालिकाले १५ वेड क्षमताको दरवाङ अस्पतालसहित ३१ योजना सम्पन्न गर्दा पुँजीगततर्फ २१.८१ प्रतिशत र चालुतर्फ ३७.७९ प्रतिशत बजेट खर्च भएको छ । जिल्लाको करिव धवलागिरी गाउँपालिकाले पुँजीगततर्फ १४ करोड २३ लाख रुपैयाँमध्य २४.२९ प्रतिशत खर्च गरेको जनाएको छ । त्यस्तै, चालुतर्फको २५ करोड ४० लाख मध्ये ३२.६ प्रतिशत खर्च गरेको छ । रघुगंगा गाउँपालिकाले दोस्रो चौमासिकसम्म पुँजीगततर्फ १३ करोड ८७ लाख मध्ये २३ प्रतिशत मात्र खर्च गर्न सकेको छ । चालुतर्फ २८ करोड ३७ लाख रुपैयाँमध्ये ३७.५७ प्रतिशत खर्च गर्न सकेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । बेनी नगरपालिकाले पुँजीगततर्फको २० करोड ८७ लाख मध्ये ३५.ं९१ प्रतिशत र चालुतर्फ ४२ करोड २९ लाखमध्ये ५१ं.१८ प्रतिशत खर्च भएको लेखापाल रत्न केसीले बताए ।

प्रकाशित : वैशाख ५, २०७८ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्

फोहोर बेचेर भीरकोट नगरपालिकाको वर्षमा १८ लाख आम्दानी

कान्तिपुर संवाददाता

स्याङ्जा —  फालिएको फोहोर बिक्री गरेर भीरकोट नगरपालिकाले एक वर्षमा १७ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

फोहोरलाई व्यवस्थित गर्ने उद्देश्यले २८ रोपनीमा फोहोर संकलन केन्द्र सञ्चालनमा ल्याएको नगरपालिकाले घरघरबाट निस्किने फोहोर कुहिने र नकुहिने गरी संकलन गर्न थालेको छ ।

वडा ४ स्थित गैह्राथोकमा स्थानीयको जग्गा किनेर केन्द्र निर्माण गरिएको नगरप्रमुख छायाराम खनालले बताए । केन्द्रमा अहिले २ मेसिन छन् । ‘अझै दुईवटा मेसिन खरिद प्रक्रियामा छौं,’ नगरप्रमुख खनाल भन्छन्, ‘नकुहिने फोहोर छुट्टै राखेका छौं । कुहिने फोहोरलाई मेसिनबाटै चाल्ने र काट्ने काम गर्छौं । गन्ध नआओस् भनेर औषधि प्रयोग गर्छौं । एक महिनापछि पुनः काटेर प्याकिङ गर्छौं र बेच्छौं ।’ मल, सिसा र प्लास्टिकजन्य वस्तु बिक्री गरिने र यस वर्ष फोहोरबाट मात्रै २५ लाख रुपैयाँ आम्दानी हुने अनुमान नगरपालिकाको छ ।

फोहोर व्यवस्थापनका लागि नगरपालिकाले एक करोड रुपैयाँ र राष्ट्रिय योजना आयोगले विशेष अनुदानमा ३ करोड रुपैयाँ उपलब्ध गराएको नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले बताए । उनका अनुसार पार्कसहितको फोहोर संकलन केन्द्रको अवधारणा ल्याइएको हो । २ प्रशासनिक भवन, शौचालय, पार्क र कम्पाउन्ड बन्नेछ । साथै बालउद्यान, ताल र तालमा शिवमूर्ति राखी फाउन्टेन पनि बनाइने रेग्मीले बताए । फोहोर संकलन केन्द्रमा ८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रकाशित : वैशाख ५, २०७८ १०:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×