फोहोर बेचेर भीरकोट नगरपालिकाको वर्षमा १८ लाख आम्दानी- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फोहोर बेचेर भीरकोट नगरपालिकाको वर्षमा १८ लाख आम्दानी

कान्तिपुर संवाददाता

स्याङ्जा —  फालिएको फोहोर बिक्री गरेर भीरकोट नगरपालिकाले एक वर्षमा १७ लाख ८१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

फोहोरलाई व्यवस्थित गर्ने उद्देश्यले २८ रोपनीमा फोहोर संकलन केन्द्र सञ्चालनमा ल्याएको नगरपालिकाले घरघरबाट निस्किने फोहोर कुहिने र नकुहिने गरी संकलन गर्न थालेको छ ।

वडा ४ स्थित गैह्राथोकमा स्थानीयको जग्गा किनेर केन्द्र निर्माण गरिएको नगरप्रमुख छायाराम खनालले बताए । केन्द्रमा अहिले २ मेसिन छन् । ‘अझै दुईवटा मेसिन खरिद प्रक्रियामा छौं,’ नगरप्रमुख खनाल भन्छन्, ‘नकुहिने फोहोर छुट्टै राखेका छौं । कुहिने फोहोरलाई मेसिनबाटै चाल्ने र काट्ने काम गर्छौं । गन्ध नआओस् भनेर औषधि प्रयोग गर्छौं । एक महिनापछि पुनः काटेर प्याकिङ गर्छौं र बेच्छौं ।’ मल, सिसा र प्लास्टिकजन्य वस्तु बिक्री गरिने र यस वर्ष फोहोरबाट मात्रै २५ लाख रुपैयाँ आम्दानी हुने अनुमान नगरपालिकाको छ ।

फोहोर व्यवस्थापनका लागि नगरपालिकाले एक करोड रुपैयाँ र राष्ट्रिय योजना आयोगले विशेष अनुदानमा ३ करोड रुपैयाँ उपलब्ध गराएको नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले बताए । उनका अनुसार पार्कसहितको फोहोर संकलन केन्द्रको अवधारणा ल्याइएको हो । २ प्रशासनिक भवन, शौचालय, पार्क र कम्पाउन्ड बन्नेछ । साथै बालउद्यान, ताल र तालमा शिवमूर्ति राखी फाउन्टेन पनि बनाइने रेग्मीले बताए । फोहोर संकलन केन्द्रमा ८ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रकाशित : वैशाख ५, २०७८ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्

एक घर, एक करेसाबारी

आश गुरुङ

लमजुङ — मर्स्याङ्दी गाउँपालिका–७ उस्ताकी मैंखु गुरुङको भान्सामा एक वर्षअघिसम्म जिल्ला बाहिरबाट ल्याइएका तरकारी पाक्ने गर्थ्यो । अहिले भने उनी उस्ताबेंसीमै फलेको ताजा तरकारी पकाउँछिन् । मैंखुमात्रै होइनन्, हरेक गाउँलेको भान्सामा अचेल आफ्नै गाउँमा उत्पादित तरकारी पाक्ने गरेको छ । 

लमजुङको मस्र्याङ्दी–७ उस्ताबेंसीमा स्थानीय कृषकले गरको सामूहिक तरकारी खेतीअन्तर्गत टनेलभित्र गरिएको फर्सी खेती । तस्बिर : कान्तिपर

उस्तामा अहिले सामूहिक तथा व्यक्तिगत रूपमा तरकारी खेती गर्नेको संख्या बढ्दो छ । स्थानीय हिमकुमारी घलेले घरमा उपभोग गरेर बाँकी रहेको तरकारी बिक्रीसमेत गर्छिन् । ‘पहिले किनेर तरकारी खाने ज्यान यही हो ।

अहिले गाउँमै फलाउन थाल्यौं,’ उनले भनिन् । उस्तागाउँ र बेंसीका कृषकले गाउँबेंसी पौरखी कृषक समूहलाई कृषि सहकारी बनाएर सामूहिक तरकारी खेती गरिरहेका छन् । अहिले उस्तामा उत्पादित तरकारी ङादी, भुलभुले, खुदीमात्रै नभएर सदरमुकाम बेंसीसहरसम्म पुग्छ । समूहकी अध्यक्ष उमा घलेले यस वर्ष गोलभेंडा ७ क्विन्टल, बन्दा १५ क्विन्टल र आलु ३० क्विन्टल उत्पादन गरिएको बताइन् । यहाँका तरकारी बालीमा विषादी राखिएको छैन । अहिले ४ टनेलमा क्याप्सिकम, २ टनेलमा काँक्रो, २ टनेलमा घिरौंला र करेला लगाइएको छ ।

अगुवा कृषक डम्बरबहादुर गुरुङको अध्यक्षतामा २०७३ सालमा २८ कृषक मिलेर गाउँबेंसी पौरखी कृषक समूह गठन भएको थियो । लगत्तै २० रोपनी जग्गा भाडामा लिएर आलु र तरकारी खेती थालिएको थियो । गाउँपालिकाले ५० प्रतिशत अनुदानमा एउटा हाते ट्र्याक्टर दिएपछि जुर्मुराएका थिए ।

यही समूहले अहिले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ सञ्चालन थालेको छ । उनीहरूले हाइटेक प्लास्टिक टनेल, बाख्रा खोर सुधार र नश्ल सुधार, डालेघाँस नर्सरी स्थापना गरेका छन् । तरकारी स्टोर, मलखाद, सिँचाइको पनि व्यवस्था गरिएको छ । भाडाकै ३० रोपनीमा कार्यक्रम सञ्चालन भइरहेको छ । मर्स्याङ्दी–७ का वडाध्यक्ष युवा घलेले कृषकलाई परम्परागत र निर्वाहमुखी खेतीभन्दा व्यवसायिकीकरणमा जोड दिइएको बताए ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार आमा समूहमार्फत एक घर, एक करेसाबारीको अभियान पनि थालिएको छ । ‘बाहिरबाट आउने विषादीयुक्त तरकारीमा रोक लगाएका छौं । गाउँको तरकारी गाउँमै बिक्री हुन्छ,’ उनले भने, ‘कतिपय युवा विदेशबाट फर्केर तरकारी खेती र पशुपालनमा लागेका छन् । आमा, महिला समूह पनि सक्रिय भएर लागेका छन् ।’ गाउँपालिकामा अब बाहिरबाट तरकारी ल्याउनुपर्ने बाध्यता नरहेको र गाउँका चुल्होमा गाउँकै तरकारी पाक्ने उनले बताए ।

प्रकाशित : वैशाख ५, २०७८ ०९:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×