१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

ट्र्याकमै अल्झियो करिडोर

ठेकेदार कम्पनी नै सम्पर्कविहीन भएपछि मोदीबेनी पालना ट्र्याक खोल्न ढिलाइ
अगन्धर तिवारी

पर्वत — राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको आगामी २ वर्षभित्रै पर्वत खण्डको सबै सडक कालोपत्रे सक्ने लक्ष्य राखे पनि जिल्लाभित्र अझै ट्र्याक पूरा हुन सकेको छैन । ट्र्याक खुलाउने क्रममा गत चैत २५ मा कुश्मा–५ मोदीबेनीघाट नजिकै कालीगण्डकी नदी किनारमा एक्स्काभेटर खसेपछि यतिबेला काम रोकिएको छ । 

ट्र्याकमै अल्झियो करिडोर

सुर्य कन्स्ट्रक्सनले जिम्मा लिएको सडकको ट्र्याक खुलाउने क्रममा ब्रेकरले पहरो फुटाउँदै गर्दा माथिबाट आएको ढुंगाले लागी एक्स्काभेटर खसेको थियो । आयोजना प्रमुख सुबोध देवकोटाले पर्वत खण्डमा मोदीबेनीको करिब ५ सय मिटर ट्र्याक खुल्न बाँकी रहेको बताए । वैशाखभित्रै सक्ने लक्ष्य रहेको जानकारी दिँदै उनले भने, ‘छिट्टै कालोपत्रका लागि काम अघि बढाउने योजना हो । मेसिन खसेपछि काम रोकिएको छ ।’ काम कहिले सुरु गर्ने भन्ने टुंगो लागिनसकेको उनले बताए ।

करिडोरअन्तर्गत पर्वतमा रानीपानी–फलेबास–ढिक खण्डको २३ किमि कालोपत्रका लागि ठेक्का प्रक्रिया अघि बढेको छ । कडा चट्टान फुटाउने क्रममा मेसिनसहित मान्छे खसेर दुर्घटना भएपछि बाँकी काम कसरी अघि बढाउने भन्नेमा नै अन्योलता देखिएको छ । झन्डै २ वर्षसम्म सम्पर्कविहीन भएको सूर्य कन्स्ट्रक्सनलाई सम्पर्कमा ल्याएर काममा लगाइएको आयोजना प्रमुख देवकोटाले बताए । ठेकेदार कम्पनी नै सम्पर्कविहीन भएपछि मोदीबेनी क्षेत्रको ट्र्याक खोल्न ढिलाइ भएको हो । पर्वत खण्डको ३९ किलोमिटर कालोपत्रका लागि एक अर्ब २३ करोड रुपैयाँ विनियोजन भएको छ ।

२०७५ जेठ २१ मा काम सक्ने गरी २०७३ असार २२ मा सूर्य कन्स्ट्रक्सनले सम्झौता गरेको थियो । जिम्मा लिएको १४ किमिमध्ये मोदीबेनी र फलेबास–ढिकसम्मकै केही भागको ट्र्याक अझै खोल्न सकेको छैन । कन्स्ट्रक्सनका प्रतिनिधि दीपक रैसवालले नयाँ मेसिन र चालक खोजेर काम अघि बढाइने बताए । सडकले दक्षिणका एक नगरपालिका र ३ गाउँपालिकाको बस्ती जोड्छ । २०६२ मा पर्वतको त्रिवेणी–रानीपानी–बाच्छा हुँदै रेखांकन गरिएको करिडोर २०६४ मा बागलुङतर्फ सरेको थियो । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पालामा बागलुङ पुर्‍याइएको करिडोरको पर्वतमा कालीगण्डकी लोकमार्ग नामकरण गरी शाखा विस्तार गरिएको थियो । हाल सडकको दुवै जिल्लालाई समान प्राथमिकतासाथ विस्तार गरिएको आयोजनाले जनाएको छ ।

प्रकाशित : वैशाख ५, २०७८ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?