कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मेलमिलापको दर बढाउने योजना

प्रकाश बराल

बागलुङ — सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले अदालतमा आउने मुद्दालाई मेलमिलाप मार्फत टुंग्याउने दर बढाउने बताएका छन् ।

उनले अहिले २० प्रतिशत मुद्दा मेलमिलाप मार्फत् टुंगोमा पुगेको बताउँदै यो दरलाई बढाएर समाजमा सामाजिक सद्‌भाव ल्याउने सरकारी नीति र सर्वोच्च अदालतको योजना रहेको सुनाए ।

मेलमिलाप पद्धतिमा पक्षहरुको भूमिका विषयक कार्यक्रममा शनिबार बागलुङ आएका न्यायाधीश केसीले अदालतबाट हारजीत भएका मुद्दाले समाज विभक्त हुने र मेलमिलाप भएमा एकताबद्ध बन्ने बताएका हुन् । शनिबार सर्वोच्चकै आयोजनामा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका कानून व्यवसायी र मेलमिलापकर्ताबीच नेपालको मेलमिलाप पद्धतिको सुधारका विषयमा अन्तरक्रिया सम्पन्‍न भएको थियो ।

कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले मुद्दालाई मेलमिलापमा टुंगो लगाउँदा इतिहास रच्ने अवसर बन्ने बताए । उनले सिंगापुरमा अध्याधिक प्रयोगमा आएको मेलमिलाप नीति नेपालमा उत्साहजनक रुपमा प्रवेश भएको बताए ।

कार्यक्रममा न्यायाधीशद्वय श्रीकान्त पौडेल र श्रीलाल पौडेलले न्यायिक निकायको कामकारबाही र मेलमिलापको आवश्यकता लगायतका विषयमा कार्यपत्र मार्फत मेलमिलाप प्रक्रिया बढाउने योजना सुनाएका थिए । उनीहरुले नेपालमा ९६ मेलमिलाप केन्द्र र १ हजार ९ सय ४४ जना सूचिकृत मेलमिलापकर्ता मार्फत कूल मुद्दाको २० प्रतिशत छिटोफानो भएको तथ्यांक प्रस्तुत गरेका थिए ।

२०६८ सालमा ऐन आएर पनि अभ्यास भइरहेको मेलमिलापलाई कम्तिमा ५० प्रतिशत सफलतामा पुर्‍याउने सर्वोच्चको योजनामा सबैले साथ दिनुपर्ने समेत केसीले बताए । सर्वोच्चले बागलुङका १० वटै पालिकाको न्यायिक समितिको समीक्षा, अनुगमन र न्यायिक कार्यको अभिमुखिकरण समेतको योजना बनाएको छ ।

प्रकाशित : वैशाख ४, २०७८ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?