कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेशभर फैलिँदै कोरोना

जनशक्ति अभावमा कोभिड अस्पतालकै आईसीयू र भेन्टिलेटर सञ्चालनमा आएनन्

पोखरा — अति प्रभावित कास्की र बागलुङबाहेक गण्डकी प्रदेशका अन्य जिल्लामा समेत कोरोना भाइरस संक्रमण तीव्र रूपमा फैलिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार गएको २४ घण्टामा ७ सय २७ जनामा गरिएको परीक्षणमा १ सय १५ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेशभर फैलिँदै कोरोना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित भनी वर्गीकरण गरेको कास्कीमा २४ घण्टामा ९४ जनामा कोरोना पोजिटिभ देखिएको छ । हालसम्म कास्कीमा ३ सय ७२ जना सक्रिय संक्रमित छन् । कास्की पछि बागलुङमा सक्रिय संक्रमित ५१, तनहुँमा १२, पूर्वी नवलपुरमा ११, स्याङ्जामा ७, पर्वतमा ७, म्याग्दीमा ५ र गोरखामा १ जना सक्रिय संक्रमित छन् । लमजुङ, मनाङ र मुस्ताङमा भने अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । यीमध्ये ४ सय २० संक्रमित होम आइसोलेसनमा छन् । कास्कीका ३ संक्रमित निजी अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत छन् । बागलुङको धौलागिरि अस्पतालमा एक संक्रमितलाई भेन्टिलेटरमा राखिएको छ ।

गण्डकी प्रदेशले कोरोना महामारीकै बेला पोखराको सिसुवामा सञ्चालनमा ल्याएको संक्रामक तथा सरुवा रोग अस्पतालमा १७ जना संक्रमितलाई राखिएको छ । कोभिड–१९ को उपचारका लागि तोकिएको अस्पतालमा ७ बेड आईसीयू र ७ वटै भेन्टिलेटर जडान गरिएको छ । तर, जनशक्ति अभावमा आईसीयू र भेन्टिलेटर सञ्चालनमा आउन भने सकेका छैनन् । अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले प्रदेशले आईसीयू र भेन्टिलेटर सञ्चालन गर्ने जनशक्तिको व्यवस्थापन अझै नगरेको बताए । उनका अनुसार, न्यूनतम स्वास्थ्य सेवाको मापदण्ड अपनाउँदा एक आईसीयू बेड सञ्चालन गर्न ४ जना स्टाफ नर्स आवश्यक हुन्छ । अस्पतालमा हाल ६ स्टाफ नर्स मात्रै छन् ।

अस्पतालमा रहेको आईसीयू र उच्च निर्भरता एकाई (एचडीयू) गरी १० बेड चौबीसै घण्टा सेवा दिन प्रयोगशालामा एक मेडिकल टेक्नोलोजिस्ट (बीएमएलटी) सहित १० जना आवश्यक पर्छ । हाल तीन जना मात्रै ल्याब टेक्निसियन अस्पतालमा छन् । मेडिकल अधिकृत १० जना आवश्यक पर्नेमा हाल ३ जनाले मात्रै सेवा दिइरहेका छन् । कन्सल्ट्यान्ट चिकित्सक चार जना हुनुपर्नेमा तीन जना मात्रै छन् । फार्मेसीमा समेत जनशक्ति अभाव छ ।

अस्पतालमा रहेका संक्रमितलाई आईसीयूमा राख्नुपर्ने अवस्था आउँदा अन्य अस्पतालमा रेफर गर्नुपर्ने बाध्यता रहेको डा. गौचनले बताए । ‘अहिले अक्सिजन लगाउनुपर्ने केही संक्रमितलाई मात्रै आंशिक रूपमा आईसीयू सेवा दिएका छौं,’ उनले भने । प्रदेश स्वास्थ्य निर्देशनालयले जनशक्ति थप्ने गृहकार्य गरिरहेको उनले बताए । जनशक्ति थप्न प्रदेशको मन्त्रिपरिषद्बाट निर्णय भएर आउनुपर्ने भएकाले समय लाग्न सक्ने उनी बताउँछन् ।

उनका अनुसार, कोरोना संक्रमणबाट गम्भीर भइसकेपछि अस्पताल आउनेको संख्या बढ्दो छ । कोरोनाको लक्षण देखिएको ९/१० देखिदेखि १८ दिनपछि परीक्षण गराएर अस्पताल आउने गरेको गौचनले सुनाए । ‘अहिले दोस्रो लहरको कोरोना छिटोछिटो फैलिने खालको देखिएको छ,’ उनले भने, ‘छिटो परीक्षण गराउनुपर्ने जनचेतना आवश्यक छ ।’ गत साता १ सय ७४ संक्रमितको नमुना टेकु अस्पतालमा पठाउँदा १ सय ४ मा यूके भेरियन्टको लक्षण देखिएको उनले बताए ।

‘सुरक्षित छौं’

बागलुङ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको अति जोखिम जिल्लामा बागलुङलाई सूचीकृत गरे पनि शुक्रबार यहाँका सबै शैक्षिक संस्था खुलेका छन् । अधिकारको बहानामा स्वास्थ्य मापदण्ड पालनामा समेत ख्याल गरिएको छैन ।

मन्त्रालयले जोखिमका रूपमा सूचीकृत गरे पनि पालिकाले आफ्नो क्षेत्र सुरक्षित भएको ठहर गर्दै विद्यालय खुल्न दिएका छन् । पालिकाले मन्त्रिपरिषद्को निर्णय आएमा मात्र बन्द गर्ने बताए । सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, कक्षामा थोरै विद्यार्थी राख्ने जस्ता सावधानीका विषयमा सहमत भए पनि शैक्षिक संस्था बन्द नै गर्ने विषयमा जान नसकिएको बागलुङ नगरशिक्षा अधिकारी डण्डपाणि शर्माले बताए । ‘लामो समय पढाइ बिग्रेको छ, दूरी कायम गरेर पढाइ चलाउनैपर्छ,’ शर्माले भने, ‘मन्त्रिपरिषद्बाटै निर्णय आयो भनेमात्रै बन्द गरौंला ।’

जोखिमकै बीच सबै पालिका र जिल्लास्तरीय राष्ट्रपति खेलकुद प्रतियोगिता पनि सम्पन्न भएका छन् । चैत २९ र ३० मा भएको जिल्लास्तरीय खेलमा मात्रै ५ सय ५० विद्यार्थी सहभागी थिए । शुक्रबारमात्रै बागलुङमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अधिकांश बागलुङ नगरभित्रका रहेको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

शिक्षा मन्त्रालयले २ साताअघि धूलो र प्रदूषणको कारण देखाएर ५ दिन विद्यालय बन्द गराउँदा पनि यहाँ नियमित कक्षा सञ्चालनमा थिए । शिक्षा विकास तथा समन्वय इकाइले विद्यालय बन्द गराउन पत्राचार गरे पनि पालिकाले विज्ञप्तिमार्फत बन्द नहुने जनाएका थिए । ‘आफ्नो क्षेत्रमा के कति जोखिम छ भन्ने कुरा स्थानीय रूपमै थाहा हुन्छ, केन्द्रले भनेर हुँदैन’ शर्माले भने, ‘अहिलेसम्म यहाँका विद्यालयमा जोखिम छैन ।’

प्रकाशित : वैशाख ४, २०७८ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?