कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

जो तामा खानी चलाउँथे

प्रकाश बराल

बागलुङ — तमानखोला गाउँपालिका–६ स्थित विष्णु आधारभूत विद्यालयका प्रधानाध्यापक ओमप्रकाश छन्त्यालका बाउबाजे नै तामा खानी उत्खनन गर्ने गर्थे । बुबा रूपलाल खानीका मुखिया नै थिए । रूपलालका छिमेकी वर्षवीर डिठ्ठा थिए । ५० वर्षअघिसम्म रूपलाल र वर्षवीरले राज्यलाई कर तिरेर खानी सञ्चालन गरेको अभिलेखमा नै छ ।

जो तामा खानी चलाउँथे

सरकारले भारतीय सामान आयात गर्न स्वदेशी उत्पादनमा कर बढाएपछि छन्त्यालहरू अन्य पेसामा लाग्न बाध्य भए । कर बढाइएकै कारण खानी बन्द हुँदै गए । स्वदेशी तामा र फलाममा आत्मनिर्भर सरकारले आयातलाई महत्त्व दियो । अहिले पनि गाउँमा उनीहरूलाई मुखिया भनेरै सम्बोधन गरिन्छ । ‘शिक्षकबाटै ३० वर्षे जागिर पूरा गरेर पेन्सनको बेला भइसक्यो, अझै मुखियाका खलक भन्ने धेरै छन्,’ ओमप्रकाशले भने, ‘शिक्षकभन्दा पनि मुखियाकै नामबाट चिनिन्छु ।’ बुबा रूपलालसँगै कर बुझाउन ओमप्रकाश पनि काठमाडौं गएको अझै सम्झन्छन् । ‘इमानदार भएर खानी चलाउँदा पनि कर बढेको बढ्यै भएपछि त्यो कामै छोडिएको हो,’ उनले भने, ‘कर तिर्न पनि काठमाडौं पुग्नुपर्थ्यो ।’ अधिकांश खानी राणाकै पालामा बन्द भएका थिए । केहीले पछिसम्म चलाएको उनले बताए ।

तमानखोला–६ को नर्जाखानीको अधिकांश भागमा तामा खानीका धाउ अझै भेटिन्छन् । ‘त्यतिबेला १२ खानी भनेर बागलुङलाई चिनिन्थ्यो । जहाँ खानी थियो, त्यहाँ छन्त्याल थिए,’ वडाध्यक्ष कुलबहादुर छन्त्यालले भने, ‘अहिले पनि खानी भएका गाउँमा छन्त्यालको बसोबास छ ।’ बलिया र मिहिनेती भएकाले सरकारले उनीहरूमार्फत खानी उत्खननको काम गराएको कुलबहादुरले बताए ।

बागलुङको नर्जाखानी, खुंखानी, सिसाखानी, राङखानी, लेखानी, भुंखानीलगायतका स्थान खानीबाटै नाम राखिएका स्थान हुन् । त्यसताका हरेक घरले करस्वरूप बर्सेनि २ धार्नी तामा सरकारलाई तिर्ने गरेको ८७ वर्षीया भीममाया छन्त्याल सुनाउँछिन् । ‘सरकारले कर बढाइदियो, त्यसपछि उत्पादन पनि हुन छाड्यो,’ उनले भनिन्, ‘खानी खोस्रने मुखियाका छोराले अहिले पढाएर खाएका छन् ।’ खानी निकाल्न छाडेपछि मात्रै छन्त्यालहरू खेतीपाती र अन्य पेसामा लागेको उनले बताइन् । ‘इमानदार भएकाले राज्यलाई बुझाए, ढाँट र छल गरेको भए अझैसम्म निकाल्न सक्थे,’ वडाध्यक्ष छन्त्याल भन्छन्, ‘घरेलु कामका लागि पछिसम्म निकालिएको खानी बजारका सामानले विस्थापित गराएको छ ।’ वर्षवीर उनका हजुरबा हुन् ।

यस क्षेत्रमा तामा र फलाम खानी प्रशस्तै छन् । ‘सामान्य पहिरो खसेको ठाउँमा पनि तामाको धाउ भेटिन्छ,’ ओमप्रकाशले भने, ‘पहिरोको धाउ पगालेर पनि गाग्री बनाइएको छ ।’ विधिवत् रूपमा तामा खानी उत्खनन गर्ने हो भने राज्यको मुख्य आयस्रोत हुन सक्ने उनले बताए । तर राज्यको दृष्टि नपरेकामा उनको गुनासो छ ।

नर्जाखानीसहित ९ गाउँमा तामा खानी भएको प्रारम्भिक अध्ययनले देखाइसकेको छ । खानी भएका सबै गाउँमा छन्त्याल बस्छन् । छन्त्यालले खानी निकाल्ने, विश्वकर्माले पगाल्ने र थकालीले निकासी गर्ने पुरानो चलनको प्रमाणस्वरूप ती सबै स्थानमा छन्त्याल र विश्वकर्माको संयुक्त बसाइ अझै भेटिन्छ । जिल्लाका पुराना १२ वटा खानी अहिले भने ठप्प छन् ।

थकाली भने धमाधम बसाइँ सर्दै सहर झरेपछि यहाँका घरहरू जीर्ण र रित्ता छन् । ‘अधिकांश थकाली बसाइँ सरे । छन्त्याल र विश्वकर्मा खानीको काम छाडेर खेतीपातीमा लागेका छन्,’ स्थानीय रनकुमारी विकले भनिन्, ‘राज्यले चाहेको खण्डमा थोरै लगानीमा धेरै खानी उत्पादन गर्न सकिन्छ ।’ चन्द्रशमशेरको पालासम्म यहाँका ९ खानी सञ्चालनमा रहेको तथ्यांक छ । विदेशी धातुको आयात बढाउन राणाले स्थानीय खानी उत्खनन रोकेको स्थानीय बताउँछन् ।

राङखानीबाट पनि २०३६ सम्म सिसा उत्खनन गरिएको जैमिनी नगरपालिका–१० का हर्कबहादुर श्रीषले बताए । ‘सिसा खानी भएको भन्ने थाहा छ, छन्त्यालको साथमा लागेर मगरले पनि उत्खनन गर्थे,’ श्रीषले भने, ‘राँगोको गर्धन जस्ता पाता निकाल्ने गरेकाले यो ठाउँको नाम समेत राँगो खानीबाट राङखानी भएको हो ।’ सरकारलाई कर तिरेका मगरबस्तीमा पनि मुखिया खलक बाँकी छन् ।

परम्परागत झोलुंगे पुलमा गाउँघरमै निर्मित फलामे साङ्लो प्रयोग भएको पाइन्छ । अहिले पनि यहाँको भीमगिठे, खरबाङ, ग्वालीचौर, राङखानीलगायत गाउँमा फलामे साङ्लाले बनेका झोलुंगे पुल देख्न सकिन्छ ।

‘हाम्रो गाविसमा खानी छ भनेर गर्व गरे पनि उत्खनन गरेर हामी धनी बन्ने सपना मात्र भयो,’ सिसा खानीका संगम घर्तीमगरले भने, ‘विदेशबाट आयात गर्ने फलाम र सिसा यहीं उत्पादन भएमा देशको अर्थतन्त्रमा सुधार आउने थियो ।’

प्रकाशित : वैशाख ४, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?