१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बल्ल बल्यो बिजुली

सम्झना रसाइली

तनहुँ — टुकीकै भरमा रात कटाउँदै आएका जिल्लाका एक सय १५ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान गरिएको छ । जिल्लाको दमौली र घुमाउने घाट जोड्ने बुद्धसिं मोटर मार्गमा पर्ने बन्दीपुर गाउँपालिका, व्यास नगरपालिका र देवघाट गाउँपालिकाका खहरे, थुमथुमे, व्यासको मास्दी, ढाप, सुँढे र रिजाल्दीमा बिहीबार राष्ट्रिय प्रसारण लाइनको विद्युत् जडान गरिएको हो । 

बल्ल बल्यो बिजुली

‘आज आएर बल्ल घरमा बत्ती बाल्दा निकै खुसी लागेको छ,’ व्यास नगरपालिका–१३ मास्दिकी नारीमाया थापाले भनिन् । ‘भौगोलिक रूपमा दमौली बजारबाट धेरै टाढाको बस्ती नभए पनि बिजुली बत्ती बाल्न नपाउँदा कुनै अनकण्टारमा बसेको जस्तै भएको थियो’, उनले भनिन्, ‘अब त हाम्रो दैनिकी पनि सहज हुन्छ होला ।’

सोलार बत्ती जडान गरिएको भए पनि घाम नलाग्दा टुकीकै भरमा साँझको कामकाज चलाउनुपर्ने बाध्यता सुनाउँदै थापाले भनिन्, ‘अब त उज्यालोमा खाना पकाउन र बालबालिकाले अबेरसम्म पढ्न पनि पाउनेछन् ।’ बन्दीपुर गाउँपालिका–६ का वर्जबहादुर गुरुङले बिजुली बत्ती नहुँदा दिउँसै खाना बनाउनुपर्ने बाध्यता अब टरेको भन्दै खुसी व्यक्त गरे । उनले लामो समयको प्रयासपछि गाउँमा बत्ती बल्दा जीवन नै उज्यालो भएको बताए ।

एक सय १५ घरधुरीमा विद्युत् सेवा प्रवाहको शुभारम्भ गर्दै प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले नागरिकका आधारभूत आवश्यकता परिपूर्ति गर्नु आफ्नो पहिलो प्राथमिकता भएको र सोहीअनुसार कामलाई तीव्रता दिइएको बताए । सांसद श्रेष्ठले भने, ‘स्वास्थ्य, शिक्षा, खानेपानी, सडक, बिजुली बत्ती सहज रूपमा सर्वसाधारणले उपभोग गर्न पाउनुपर्छ । विकास निर्माणका काममा राजनीतिभन्दा माथि उठेर सबैले हातेमालो गरी अगाडि बढे समृद्धि छिटै हासिल हुन्छ ।’

स्थानीय निर्वाचनमा देखाइएको उज्यालो बन्दीपुरको सपना अहिले आएर पूरा भएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । उनले भने, ‘गाउँपालिकाको ६ वटा वडामध्ये ५ वटा वडामा पहिले नै विद्युत् सेवा विस्तार भएको थियो । बिहीबार वडा नं. ६ स्थित खहरे र थुमथुमेका ६२ घरहरूमा पनि विद्युत् बत्ती बाल्न सफल भएका छौं । अब बन्दीपुर पूर्ण रूपमा उज्यालो भएको छ ।’

देवघाटका गाउँमा विद्युत् सेवा शुभारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताए । ‘एक वर्षअगाडि नै हामीले गाउँपालिकालाई पूर्ण रूपमा उज्यालो बनाउने योजना थियो तर कोरोनाले गर्दा काम सम्पन्न हुन सकेको थिएन,’ उनले भने, ‘विद्युत् जडान गर्न बाँकी २/३ वटा वडाका घरहरूमा पनि अब हामी चाँडै नै सेवा प्रवाह गरी नागरिकलाई उज्यालोमा बस्ने वातावरण बनाउँछौं ।’

प्रकाशित : वैशाख ३, २०७८ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?