१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

३ वर्षमा बन्यो विस्थापित काउले बस्ती

प्रकाश बराल

बागलुङ — काठेखोला गाउँपालिका–५ काउलेकी बसी परियार ३ वर्षदेखिको विस्थापित बसाइपछि बल्ल आफ्नै घर फर्कने तयारीमा छिन् । घरभित्र भ्वाङ पर्ने र भासिने भएपछि उनी विस्थापित भएकी थिइन ।

३ वर्षमा बन्यो विस्थापित काउले बस्ती

सन्तानसहित छिमेकीको घरमा आश्रय लिएकी बसीले आफ्नै घरमा बस्न पाउने भएपछि खुसी व्यक्त गरिन् । भनिन्, ‘तीन वर्षको कष्टकर बसाइबाट अब भने पार पाइने भयो ।’ नयाँ घरको भित्री काम सकिने क्रममा रहेकाले बसी घर सर्ने दिनको व्यग्र प्रतीक्षामा छिन् ।

उनीजस्तै काउलेस्थित दलित बस्तीका विस्थापित १४ घर परिवारले नयाँ घर पाएका छन् । भूकम्प पुनर्निर्माण प्राधिकरण र गाउँपालिकाको पहल तथा आर्थिक सहयोगमा उनीहरूले घर बनाउन सफल भएको स्थानीय भविराम परियारले बताए । बस्तीका घरघरमा भ्वाङ, बारीका कान्लामा पहिरै पहिरो खसेपछि उनीहरू विस्थापित भएका थिए । बस्तीको तल्लो र माथिल्लो भागमा मध्यपहाडी लोकमार्गको ट्र्याक छ । ट्र्याकमा ठूला मेसिनसमेत प्रयोग भएकाले यो क्षेत्र कमजोर भएको अध्ययनमा देखिएपछि प्राधिकरणको सहयोगमा नयाँ बस्ती बनेको हो ।

हिउँदमा केही राहत भए पनि वर्षातमा उनीहरूलाई बढी सास्ती थियो । घर चिरा परेपछि जोखिम भएर काउले बासी बाध्य भई विस्थापित हुनुपरेको थियो । बिहुँस्थित काउलेमा अचानक जमिन भासिएपछि सबैका घर भत्केका थिए । अर्को वर्ष मात्र वडाले एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराएपछि प्राधिकरणले घर बनाइदिएको हो । प्राधिकरणले प्रतिघर ३ लाख र गाउँपालिकाले एक–एक लाख रुपैयाँ सहयोग दिएको हो । २१ लाख रुपैयाँमा बस्तीका लागि जग्गा खोजिएको थियो ।

हुनेखाने केहीले भने डेरा खोजेर बसेका थिए । तर छिमेकी कहाँ आश्रय लिएर बस्नेको पीडा अलि चर्कै थियो । ‘अर्काको घरछेउमा आश्रय लिदा पाहुना आउँदा बढी समस्या हुन्थ्यो,’ परियारले भनिन्, ‘अब बल्ल समस्या टर्ने भयो ।’ प्राधिकरणले बनाएका घर भूकम्पप्रतिरोधी छन् । तर काउलेवासीले भने नयाँ घरमा कोठा नपुग्ने समस्या हुने गुनासो गरेका छन् । कतिपयले बस्ती हस्तान्तरणपछि पाली हालेर थप कोठा बनाउने योजना पनि सुनाए ।

भूगर्भविद्ले स्थलगत अध्ययनका क्रममा उक्त क्षेत्रमा अझै पनि जग्गा भासिने समस्या आउन सक्ने सुझाव दिएपछि बस्तीका अन्य परिवारलाई पनि सार्न खोजिएको वडाध्यक्ष शिवप्रसाद कँडेलले बताए । ‘बस्ती नै सार्नुपर्ने सुझाव आएको छ । अहिले अत्यावश्यक भएकालाई घर बनाउने काम थाल्दा अन्यको हकमा ढिला भएको हो,’ कँडेलले भने, ‘अहिले जोखिम मोलेरै बसिरहेका बासिन्दाले पनि आफ्नै ढंगले जग्गाको व्यवस्थापन गरिरहेका छन् ।’ दुई घर मात्र बनाउन बाँकी रहेकाले असार मसान्तभित्र सबैलाई घर हस्तान्तरण गर्ने आयोजना प्रमुख रेणुका पाण्डेले बताइन् । प्राधिकरणले यतिबेला बागलुङका २ हजार ३ सय ७५ निजी आवास पुनर्निर्माण गरिरहेको छ । प्राधिकरणको म्याद पनि असार मसान्तबाट नै सकिंदै छ । ५ वर्षको अवधिमा प्राधिकरणले बागलुङका झन्डै एक सय विद्यालय निर्माण गरेको छ । केही सरकारी भवन पुनर्निर्माणसमेत गरिएको उनले जानकारी दिइन् ।

भूकम्पले भत्काएका घरबाहेक सिंगो बस्ती नै जोखिममा भएकाले काउले बस्तीका १४ घर, बुर्तिबाङदेखि बुंगादोभान जाने १५ किमि सडक र केही स्वास्थ्य चौकीसमेत बनाइएको छ । निर्माणाधीन निजी आवासमा प्रक्रियागत ढिलाइले झन्डै ५ सय बनिसकेका घरमा भुक्तानी भएको छैन । सामान्य त्रुटिहरू सच्याएर उनीहरूलाई भुक्तानी दिने व्यवस्थापनमा प्राधिकरणले काम गरिहेको पनि पाण्डेले बताइन् ।

प्रकाशित : वैशाख ३, २०७८ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?