खर्क गोठालालाई रेडियो

हरिराम उप्रेती

गोरखा — गाउँपालिकाले रेडियो दिँदै छ भन्ने खबर पाएपछि धार्चे–३ का साइँला गुरुङ बिहीबार गाउँपालिका केन्द्र पुगे । सूचना र सञ्चारमा पहुँच बढाउने उद्देश्यले बाँडिएको रेडियो पाउँदा गुरुङ निकै खुसी देखिए ।

खर्क गोठालालाई रेडियो

कर्मचारीसमक्ष उनले पशु विकासका लागि आउने अनुदानबारे पनि सूचना प्रवाह भए आफूहरूलाई सहज हुने बताए । गाउँपालिकाले उनीजस्तै खर्कका गोठमा बस्ने २० गोठालालाई रेडियो उपलब्ध गराएको छ ।

सूचनासँग जोड्न यस वर्ष रेडियो वितरणको नयाँ कार्यक्रम सुरु गरिएको गाउँपालिका पशु सेवा शाखा प्रमुख ठाकुर ढकालले बताए । ‘खर्कमा घुम्ती गोठ हुन्छन्, पशु उपचारका लागि त्यहाँ पुग्दा भाषाको पनि समस्या छ,’ उनले भने, ‘रेडियो सुन्दासुन्दै भाषा पनि केही सिक्छन् भन्ने उद्देश्य हो ।’ गोठालालाई चाहिने सूचना रेडियोमार्फत् कसरी उपलब्ध गराउन सकिन्छ भनेर छलफल भइरहेको उनले बताए ।

खर्कमा दिनरात बिताउनेलाई मनोरञ्जन र सूचनाका लागि रेडियो वितरण प्रभावकारी बन्ने गाउँपालिकाको विश्वास छ । नेपाली र स्थानीय भाषा बोल्नेलाई लक्षित गरी सूचनासँग जोड्न सूचनामैत्री कार्यक्रमलाई प्राथमिकता दिइएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ बताउँछन् । ‘यहाँका कतिपय वृद्धवृद्धा नेपाली भाषा राम्रोसँग बुझ्दैनन्, स्थानीय भाषा मात्र बुझ्छन्, बोल्छन्’ उनले भने, ‘उनिहरूलाई सूचना पुर्‍याउन स्थानीय भाषाको रेडियो कार्यक्रम गर्न लागेका छौं ।’ टेलिफोनसमेत नटिप्ने खर्कका गोठालाहरू सञ्चारको पहुँचसम्म पुग्न पाईरहेका छैनन् । ‘कम्तीमा रेडियो सुन्न पाए त देशविदेशमा के भइरहेको छ, थाहा पाउन सकिन्छ नि,’ उनले भने । गोठालालाई रेडियो वितरणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा दुई लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

कार्यक्रमको प्रभावकारिताका आधारमा आगामी वर्ष पनि रेडियो वितरण कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ । ‘गाउँपालिकाको सूचना प्रवाहका लागि स्थानीय भाषामा रेडियो कार्यक्रम पनि चलाउँछौं, बस्तीबाट टाढा भेडा चराउन जाने गोठालाले गाउँपालिकामा भइरहेको गतिविधि थाहा पाउन सक्छन्,’ अध्यक्ष गुरुङले भने । रेडियोसँगै गोठालालाई सोलार र त्रिपालसमेत उपलब्ध गराइएको छ ।

धार्चेका सबै वडामा अडियो बडापत्र पनि राखिएको छ । ‘हेल्लो गाउँले प्रमुख’ टोल फ्री नम्बर पनि गाउँपालिकाले सञ्चालन गर्दै आएको छ । ‘एक वडा एक कटुवाल’ भन्ने नारा तय गरेको गाउँपालिकाले कटुवाललाई प्रोत्साहनस्वरूप मासिक पारिश्रमिक पनि उपलब्ध गराउँदै आएको छ । स्थानीयलाई सूचना पुर्‍याउन संस्थागत गरिएको कटुवाल प्रथा प्रभावकारी रहेको अध्यक्ष गुरुङले बताए । ‘स्थानीयले टेलिफोनमार्फत् भनेका कुरामा भन्दा पनि कटुवाललाई बढी विश्वास गर्छन्,’ उनले भने ।

प्रकाशित : वैशाख ३, २०७८ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?