१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुध्रिएन कास्की कारागार

नाइके र सहनाइकेद्वारा कैदीबाट मनपरी रकम असुली, विरोध जनाउनेलाई कुटपिट
दीपक परियार

पोखरा — प्रचलित नियम, कानुन तोड्नेलाई सबक सिकाउन कारागार चलान गरिन्छ । तर त्यही कारागारमा राज्यका कुनै ऐन, नियम, कानुनले काम गर्दैनन् भने विडम्बना नै मान्नुपर्छ । पोखरा कारागारको अवस्था यस्तै छ । वर्षौंदेखिको बेथिति अझै उस्तै छ । 

सुध्रिएन कास्की कारागार

कारागार व्यवस्थापन ऐन २०१९, नियमावली २०२० र कारागार व्यवस्थापन कार्यविधि २०७३ अनुसार ‘नेगेटिभ सूची’ का कसुरमा अदालतबाट दोषी ठहर भएकालाई आन्तरिक प्रशासन सुम्पन पाइँदैन । कार्यविधिमा लागूऔषध, बलात्कार, कर्तव्य ज्यान, भ्रष्टाचार, जासुसी, मानव बेचबिखन, संरक्षित वन्यजन्तु तस्करी, पुरातात्त्विक सम्पदा चोरीसहित १० कसुरमा कैद भुक्तान गरिरहेका व्यक्तिलाई आन्तरिक प्रशासनमा खटाउन नपाउने प्रावधान छ । तर कास्की कारागारमा कानुनविपरीत कैदीलाई आन्तरिक प्रशासनमा खटाइएको छ । एक पटक आन्तरिक प्रशासनमा खटिइसकेका कैदीलाई दोहोर्‍याएर जिम्मेवारी दिन नपाइने प्रावधान पनि उल्लंघन गरिएको छ ।

जबर्जस्ती करणीको कसुरमा ५ वर्ष सजाय काटेर हालै कास्की कारागारबाट छुटेका रेशमराज पौडेलले कारागारभित्र हुने गैरकानुनी कामको फेहरिस्त सुनाए । कारागारमा ‘ए’ ब्लकमा नरबहादुर पाइजा पुन चौकीदार छन् । उनी लागूऔषध कसुरमा कैद भुक्तान गरिरहेका छन् । ‘बी’ ब्लकमा कर्तव्य ज्यान कसुरमा सजाय काटिरहेका लक्षुकुमार गुरुङ चौकीदार छन् । दुवै जना दोहोर्‍याइ–तेहर्‍याइ चौकीदार भइसकेका छन् । पौडेलका अनुसार कारागारको आन्तरिक प्रशासन ऐन, नियमभन्दा पनि दुई चौकीदारको मनोमानीले चल्छ । वार्षिक रूपमा चौकीदार फेर्नुपर्ने प्रावधान भएकाले उनीहरू एक वर्ष चौकीदार भएपछि अर्को वर्ष डमी चौकीदार खडा गर्छन् । ‘आफूले भनेको मान्नेलाई नाम मात्रैको चौकीदार बनाइन्छ,’ पौडेलले भने, ‘खटनपटन सबै नरबहादुर र लक्षुकुमारकै हुन्छ ।’

कास्की कारागारको ‘ए’ ब्लक, ‘बी’ ब्लक र महिला ब्लकमा गरी ८ सय ८६ कैदी/बन्दी छन् । हरेक ब्लकमा १–१ जना चौकीदार नियुक्त हुन्छन् । २५ कैदीबन्दी बराबर एक नाइके र १० बराबर एक सहनाइके चुनिने प्रावधान छ । चौकीदारले दुई महिना, नाइकेले डेढ महिना र सहनाइकेले एक महिना कैद मिनाहा पाउँछन् । कैदीको कार्यकुशलताका आधारमा नाइके र सहनाइके चुनिनुपर्ने भए पनि कास्की कारागारमा भने चौकीदारलाई २० हजार र ५ हजार रुपैयाँ बुझाउनुपर्छ । आफूसमेत ५ हजार रुपैयाँ बुझाएर सहनाइके भएको पौडेलले बताए । ‘कैद छुटका लागि चौकीदारले कागजी प्रक्रिया अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘पैसा नबुझाए कामै गर्दैनन् ।’ कैदीले अर्को कारागारमा सर्न चाहे चौकीदारलाई ५० हजार रुपैयाँसम्म बुझाउनुपर्छ ।

जाडो र गर्मीमा कामदारी सुविधाबापत नाइकेलाई २ हजार ५ सय र सहनाइकेलाई २ हजार रुपैयाँ आउँछ । चौकीदारले ‘बाहिरको सर’ लाई बुझाउनुपर्ने बताउँदै नाइकेसँग १ हजारदेखि १५ सय र सहनाइकेसँग ३ सयदेखि ५ सय रुपैयाँ असुल्छन् । दुवै ब्लकमा चौकीदारले क्यान्टिन, किराना र टेलिफोन चलाएका छन् । विद्युत् महसुल नलाग्ने, कोठा भाडा तिर्नु नपर्ने, सस्तो कामदार पाउने ठाउँमा किरानाका सामान एक सयदेखि दुई सय प्रतिशतसम्म महँगो छ । सस्तो दरको टेलिफोन सेवा लिए पनि नेपालमा प्रतिकल ३ रुपैयाँ, भारतमा १५ रुपैयाँ, खाडी मुलुक र युरोपमा ३० रुपैयाँ र अमेरिकामा ६० रुपैयाँ लिइन्छ, जुन महँगो हो । कैदीबन्दीले दैनिक ६० रुपैयाँ र ६ सय ग्राम चामल पाउँछन् । क्यान्टिनमा कम गुणस्तरको खाना खुवाइन्छ । फोन, किराना र क्यान्टिनबाट मात्रै चौकीदारले मासिक ५–७ लाख रुपैयाँ आम्दानी गरेर घर पठाउने गरेको पौडेल बताउँछन् ।

कारागारभित्र पुल, क्यारम बोर्ड, लुडोजस्ता मनोरञ्जनात्मक खेल राखिएका छन् । पुल बोर्ड चलाउनेले वार्षिक ७ देखि १० लाख रुपैयाँ चौकीदारलाई बुझाउनुपर्छ । लुडो चलाउनेले ५५ हजार रुपैयाँ र क्यारम बोर्ड चलाउनेले २५ हजार रुपैयाँ चौकीदारलाई बुझाउँछन् । क्यान्टिनमा सेयर हाल्न कैदीसँग १ लाख ५० हजार रुपैयाँदेखि १ लाख ७० हजार रुपैयाँसम्म उठाइए पनि चौकीदारले कुनै हरहिसाब सार्वजनिक गर्दैनन् । ‘हरहिसाब खोज्नेलाई डरधम्की दिइन्छ,’ पौडेलले भने, ‘जेलभित्रै कुटपिट गरिन्छ ।’

आन्तरिक प्रशासनको गलत प्रवृत्तिविरुद्ध बोल्नेलाई मानसिक अवस्था कमजोर हुने गरी ‘भौतिक कारबाही’ गरिन्छ । मानसिक रोगी नभए पनि चिकित्सकसँगको मिलेमतोमा कतिपय कैदीलाई मानसिक रोगीको आरोप लगाइन्छ । तीन वर्षदेखि कर्तव्य ज्यान कसुरमा ‘ए’ ब्लकमा कैद भुक्तान गरिरहेका विष्णु सुनारलाई मानसिक अवस्था कमजोर हुने गरी कुटपिट गरिएको छ । मानसिक अवस्था ठीकै भए पनि कमजोर भएको भन्दै ‘बी’ ब्लकमा भएका रोशन विकलाई मुढा बुन्ने काम गर्नबाट वञ्चित गरिएको छ । ‘मानसिक रोगी हो भने केन्द्रीय कारागार पठाउनुपर्छ,’ पौडेल भन्छन्, ‘तर चौकीदारको विरोध गरे त्यस्तै अवस्था हुन्छ भनेर देखाउनका लागि पनि उनीहरूलाई कास्की कारागारमै राखिएको छ ।’

चौकीदारले कारागार बाहिर पनि गुन्डा पालेर राखेको भन्दै कैदीलाई डर देखाउँछन् । कैद पूरा गरेर जानेलाई बेथितिबारे कतै केही नबोल्न र बोलेमा बाहिर रहेका गुन्डाले नछाड्ने धम्की दिन्छन् । कैदीबन्दीले अध्ययनका सामग्री मगाए पनि चौकीदारले प्रवेश नदिने गरेको पौडेलले बताए । खाली समयको सदुपयोग गर्दै लेखिएका साहित्यिक सिर्जना प्रकाशन गर्न बन्देज लगाइएको छ । कैदीबन्दी फोहोर र पानी चुहिने ठाउँमा सुत्न बाध्य छन् । जेल प्रशासनलाई प्रभावमा पारेर चौकीदारले भने अस्वाभाविक सुविधा लिएका छन् । कारागार प्रमुख (जेलर) को कार्यकक्ष छेउमा चौकीदारको कम्युटरसहित छुट्टै कक्ष छ । बिनाबर्दीका सिपाही लिएर कारागारबाहिर घुमफिर गर्छन् । कास्कीका कैदीबन्दीका लागि बेड खाली गरिन्छ । अन्यले भने उपचारका लागि पनि मेडिकल नाइकेलाई मनाउनुपर्छ ।

कारागारको बेथितिबारे कुरा उठाउँदा चौकीदार नरबहादुर पाइजा पुनले आफ्नो सबैसँग ‘सेटिङ’ भएकाले कसैले केही गर्न नसक्ने बताउँदै आएका छन् । ‘कारागार व्यवस्थापन विभागका महानिर्देशक, प्रमुख जिल्ला अधिकारी, जेलर र मानवअधिकारकर्मी सबैलाई किनेको छु भन्छ,’ पौडेलले भने, ‘उनीहरू पटकपटक चौकीदार हुनुको पछाडि शंका गर्ने ठाउँ छ ।’ कारागारमा हुने गलत प्रवृत्ति नसुध्रिए आफू अनशन बस्ने उनले सुनाए ।

कास्की कारागारमा एक महिनादेखि काजीमान सुनार जेलरको भूमिकामा छन् । कारागारमा आफ्नो अनुभव नयाँ भएकाले पनि के–कसरी चल्छ भन्ने बुझ्दै गरेको उनले बताए । जेलर, कर्मचारीले चलाउनेभन्दा पनि बाहिर–बाहिरबाट कारागार चल्ने गरेको उनले स्विकारे । ‘म अहिले सिकाइकै चरणमा छु,’ उनले भने, ‘मेरो बलबुताले भ्याउनेसम्म सुधार गर्ने हो । आफ्नो कार्यकालमा केही सुधार गर्छु ।’ सजाय पूरा गरेर जेलबाट छुट्नेहरूसँग आफूले प्रतिक्रिया माग्दा कसैले गुनासो नगरेको उनको दाबी छ । ‘आन्तरिक प्रशासनबारे नराम्रो कुरा कसैले भनेनन्,’ उनले भने, ‘भित्रभन्दा बाहिर चलखेल गर्ने मान्छे धेरै हुने रहेछन् ।’

प्रकाशित : वैशाख ३, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?