कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शीतल पाटी पुनर्निर्माण

हरिराम उप्रेती

गोरखा — भूकम्पले क्षति पुर्‍याएको गोरखा दरबार परिसरमा रहेको शीतल पाटीको पुनर्निर्माण भएको छ । दरबार आउने भक्तजन र विशिष्ट पाहुनाको विश्रामस्थलका रूपमा प्रयोग हुँदै आएको पाटी पुरानै स्वरूपमा निर्माण गरिएको हो ।

शीतल पाटी पुनर्निर्माण

५० लाख रुपैयाँको बजेटले पाटी बनाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले बताए । ‘पाटी बहुआयामिक छ,’ उनले भने, ‘भीआईपी आउँदा बस्ने ठाउँ रहेछ । त्यसमुनि तत्कालीन समयको कैदी खाना छ, त्यो बेला कानुनविपरीत कार्य गर्नेलाई सजायका लागि राखिन्थ्यो भन्ने छ, तल्लो कोटतिरको गतिविधि पनि यहाँबाट निगरानी गरिन्थ्यो भन्ने पनि सुनेका छौं ।’ हाल पूजाको समयमा शीतल पाटीबाट नगरालगायत बाजा बजाइन्छ । २०७२ को भूकम्पले पाटीको गाह्रो चर्किएको र छानाका झिँगटी बाँदरले खसालेपछि जीर्ण बनेको थियो । ‘पाटीको पेटीलगायत सामान्य संरचना निर्माणका काम भने बाँकी रहेको र अब एक सातामा सकिनेछ,’ उनले भने ।

दरबार परिसरमै रहेको दमैपाटीको मर्मत पनि सकिएको छ । २०२३ सालमा बनेको दमैपाटीमा बाँदरले झिँगटी खसाल्दा जीर्ण बनेको थियो । गोरखा दरबारमा नित्य पूजाको समयमा बज्ने नगरा, रासा, कर्नाल, धोपलगायत पाँच बाजा पाटीमा छन् । गोरखा दरबार परिसरमै रहेको कालीका मन्दिर र रंगमहल मर्मतको काम भने सुरु भएको छैन । गोरखा दरबार पुनर्निर्माण समयमा सम्पन्न नहुँदा कालीका मन्दिरको मर्मत अलमलमा परेको भुसालले बताए । कालीका मन्दिर र रंगमहल मर्मतका लागि आएको रकम फ्रिज हुने गरेको छ । ‘गत वर्षको एक करोड खर्च गर्न सकेनौं, यस वर्षको ५० लाख रुपैयाँ पनि खर्च हुने–नहुने अन्योलमा छ,’ उनले भने । २०७६ मंसिरसम्म पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको गोरखा दरबारको म्याद सकिएर २ वर्ष बित्दासम्म ७५ प्रतिशतमात्र सकिएको छ । ‘ठाउँ साँघुरो छ, सबै संरचना एकै चोटि भत्काएर पुनर्निर्माण गर्ने अवस्था छैन,’ भुसालले भने । दरबारका केही सामग्री कालीका मन्दिरमा राखिएको छ । दरबार पुनर्निर्माण सकिए आवश्यक सामग्री सारेर मर्मत थाल्ने उनले बताए ।

भूकम्पले कालीका मन्दिरसमेत क्षतविक्षत भएको छ । तत्कालीन शाहवंशीय राजाहरूको कुलदेवता मान्दै आएको गोरखा कालीका मन्दिरको पूर्वी र दक्षिण भागको गाह्रो चर्किएको छ । छानामा आधामात्र झिँगटी छन् । पुरातात्त्विक सम्पदामा जस्ताको छाना हाल्न नमिल्ने भए पनि पानी चुहिनबाट बचाउन ३ वर्षयता जस्ताले ढाकिएको छ । ‘चलिआएको संस्कृति पूजाआजा बन्द गरी कालीका मन्दिर मर्मत गरिहाल्ने अवस्थामा छैनौं,’ भुसालले भने, ‘मूल दरबार तयार नभएर कालिका र रंगमहलको काम अवरुद्ध भएको हो, दरबार बनेपछि उचित ठाउँमा राखेर रेक्ट्रोफिट्रिकको काम सुरु गर्ने तयारीमा छौं ।’ तत्काल कालीका मन्दिर मर्मत थालेमा परम्परागत पूजाआजा अवरुद्ध हुनेतर्फ सचेत रहेको उनले बताए । भूकम्पले क्षति पुर्‍याएको उपल्लोकोटको सत्तल, विद्यामन्दिर, गोरखनाथ पाटी र गोरखनाथ मन्दिरको पुनर्निर्माण सकिएको छ ।

प्रकाशित : वैशाख २, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?