बागलुङ कालिकामा एक वर्षपछि भिड

बागलुङ — यहाँस्थित बागलुङ कालिका भगवती मन्दिरमा झन्डै एक वर्षपछि बुधबार सयौं भक्तजनको ओइरो लागिरहेको छ । चैतेदसैंको तिथि सुरु भएको र नयाँ वर्षसमेत परेकोले बुधबार सयौं भक्तजन आइपुगेका हुन् ।

बागलुङ कालिकामा एक वर्षपछि भिड

गत वर्षको चैतेदसैं मेला र बडादसैंमा समेत पूजा गर्न नपाएका भक्तजन अहिले ओइरिएका छन् । बागलुङ, पर्वत र म्याग्दीसहित चितवन, नवलपुर, तनहुँ, लमजुङलगायत जिल्लाका भक्तजन यहाँ आएका हुन् । कालिका भगवती गुठीले मन्दिरमा पूजा गर्ने र व्यावसायिक कार्यका लागि समेत व्यवस्थापन गरिदिएपछि भक्तजन बढेका हुन् ।

अघिल्लो वर्ष लकडाउनका कारण मन्दिर बन्द थियो । बडादसैंमा पनि स्थानीय रूपमा कोरोना संक्रमण बढेकाले मन्दिर प्रवेशमा रोक लगाइएको थियो । ‘दुई वर्षपछि मात्रै कालिका मन्दिरमा भक्तजन आएको देख्न पाइयो’ स्थानीय पवन राजभण्डारीले भने, ‘कोरोना संक्रमणको जोखिमले रोकिएका भक्तजन यतिबेला कालिकाप्रतिको विश्वासले आएका हुन् ।’ केही दिनदेखि कालिका मन्दिरसहित यहाँको पञ्चकोट र कुडुलेस्थित शालिग्राम संग्रहालयमा समेत भक्तजन बढेका हुन् ।

यतिबेला सदरमुकामका होटलसमेत भरिभराउ छन् । ‘एउटै कोठामा ५ जनासम्म पाहुना राखिएको छ’ होटल संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले भने । मन्दिर व्यवस्थापनले मास्क अनिवार्य लगाउन, मन्दिर प्रवेशद्वारमा धारा राखेर साबुनपानीले हात धुने व्यवस्था मिलाएको अध्यक्ष राजु खड्काले बताए ।

प्रशासनले पनि मास्क लगाउने र स्वास्थ्य मादपण्ड पालनामा कडाइ गरेको छ । यहाँ मंगलबारदेखि नै चैतेदसैं मेलाको चहलपहल सुरु भैसकेको हो । चैत १० सम्म नै यहाँ स्वतःस्फूर्त मेला लाग्नेछ । मेलामा विशेषगरी घरेलु सामान लिएर आउने धेरै छन् । डोकोडालो, नाङ्लो, ठेकी, कुटो कोदालोजस्ता घरेलु प्रविधिले बनेका सामान बिक्री गर्ने पर्वको रूपमा पनि चैतेदसैंलाई लिइन्छ । गाउँका उद्यमीले पनि यही मौकामा सामान बेच्ने गरेका छन् । ‘हामीले मेला भनेर आयोजना गरेका छैनौं, तर आएका भक्तजन र उद्यमीलाई बस्ने तथा व्यवसाय गर्ने व्यवस्थापन गराएका छौं’ खड्काले भने, ‘सयौं वर्षअघिको चलनमा यहाँका धेरै मानिसको विश्वास र आस्था छ ।’

प्रकाशित : वैशाख २, २०७८ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?