१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

२१ किमिको ट्य्राक, २३ वर्षमा कालोपत्र

प्रकाश बराल

बागलुङ — बागलुङको दक्षिणी क्षेत्र कुश्मीसेरा जाने सडक ट्य्राक २३ वर्षअघि नै खुलेको हो । ट्र्याक खुलेको वर्षौं बितिसक्दा पनि सडक निर्माण हुन नसक्दा स्थानीयले सास्ती भोग्दै आउनुपरेको थियो । वर्षायाममा पहिरो जानुका साथै बाटो हिलाम्मे र खाल्डाखुल्डी हुँदा सवारी सहज रूपमा चल्ने अवस्था थिएन ।

२१ किमिको ट्य्राक, २३ वर्षमा कालोपत्र

जैमिनी नगरपालिका–१ का प्रेमप्रसाद सापकोटाले सधैं वर्षायामका लागि चाहिने खाद्यान्न र दैनिक उपभोग्य वस्तुको जोहो हिउँद नसकिँदै गर्दै आएका थिए । अझ वर्षात्को समयमा कोही बिरामी पर्दा बोकेर बजारस्थित अस्पताल पुर्‍याउनुपर्थ्यो । सडक ट्र्याक खुलेको २३ वर्षसम्म स्थानीयले यस्तै सास्ती खेप्दै आएकोमा अब भने अवस्था सहज भएको छ । सदरमुकाम बागलुङदेखि कुश्मीसेरासम्मको २१ किमि लम्बाइको उक्त सडक ट्र्याकको हालै मात्र कालोपत्र गरिएको छ । सडक कालोपत्र भएपछि वर्षात्का लागि खाद्यान्न जोहो गर्नुपर्ने समस्या हटेको सापकोटाले खुसी हुँदै बताए । ‘यसअघि हिउँदमै खाद्यान्न र अत्यावश्यक सामान ल्याएर गोदाम बनाउनुपर्थ्यो, अब त्यो समस्या हट्यो’ सापकोटाले थपे, ‘पैदल नै हिंड्नसमेत जोखिम हुने त्यो बाटोमा बिरामीले खेपेको सास्ती अझै बिर्सेका छैनौं ।’ अब भने हिउँदमा जस्तै वर्षायाममा पनि सहज रूपमा गाडी चल्ने भएपछि स्थानीय खुसी छन् ।

स्थानीय काशीराम आचार्य पनि सडकको सास्ती हटेपछि खुसी देखिए । ‘अब त धेरै सजिलो भयो, आधा घण्टामा सदरमुकाम आइपुगिन्छ’ आचार्यले भने, ‘अब यसअघिको जस्तो दुःखका दिन गए ।’ २०५४ सालमा ट्र्याक खुलेपछि उक्त सडकमा १ अर्बभन्दा बढी रकम खर्च भइसकेको बताइन्छ । यो सडकका लागि तत्कालीन जिविस, आरआईडीपी, कहिले ड्रिलिप र कहिले स्थानीय तहको बजेट लगानी हुँदै आएको थियो । ‘यसअघिको अर्ब बजेटले केही गरेन, अहिले ४० करोडमा सबै सडक स्तरीय भयो’ आचार्यले भने, ‘नेताले बनाउँछु भन्दा बनेन, बरु सडक डिभिजनकै अग्रसरताले सहजै बन्यो ।’ यसअघि ६ शीर्ष नेताले सडक कालोपत्रको आश्वासन दिए पनि पहिले बन्न नसकेको स्थानीयहरू सुनाउँछन् । सुरुमा एसियाली विकास बैंकको ऋण सहयोगमा कामका लागि खाद्यान्न कार्यक्रममार्फत खुलेको ट्र्याकमा करोडौ रुपैयाँ खर्च भएको थियो । यस खण्डमै दोस्रो पटक एसियाली विकास बैंक (एडीबी) कै सहयोगमा १६ करोड रुपैयाँ लगानी गरिएको थियो । विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप) ले ग्राभेलको काम गरेको थियो । २०७० देखि ०७२ सम्मको ठेक्का सम्झौता २०७३ मा पूरा त भयो तर बाटो हस्तान्तरण भएकै वर्ष पनि सहज यात्रा हुन सकेन । सडक असहज भएकाले २१ किमिको दूरी पनि ४ सय रुपैयाँसम्म भाडा तिरेर यात्रा गर्नुपर्थ्यो ।

यतिबेला सडकको १० किमि खण्ड कर्ण बिल्डर्सले ३० करोड रुपैयाँमा कालोपत्र गरेको हो । ‘काम सकेर सवारी गुड्न थालिसकेका छन्, अब समय मिलाएर हस्तान्तरण गर्छौं’ बिल्डर्सका इन्जिनियर हेम गुरुङले भने, ‘लकडाउनले ७ महिनासम्म ठप्प भएकाले ढिला भयो, नत्र गत वर्षै सकिन्थ्यो ।’

त्यसबाहेक बागलुङतर्फको ५ किमि सडक स्थानीय पूर्वाधार साझोदारी विकास कार्यक्रममार्फत कालोपत्र भइसकेको छ । जैमिनीतर्फको ३ किमि खण्ड नगरपालिका र ३ किमि खण्ड गण्डकी प्रदेशको बजेटबाट कालोपत्र गरिएको हो । ‘नगरको बजेटमा अन्य संस्था र सांसदको कोषसमेत लगानीबाट स्तरीय सडकले पालिका जोड्न सकियो’ जैमिनी नगरप्रमुख इन्द्रराज पौडेलले भने, ‘अब भने कर्मचारी पनि पालिकामा आएर टिक्ने सम्भावना देखियो ।’ सडकको सास्ती भएकाले सरुवा भएर आएका प्राविधिक तहका कर्मचारी नबस्दा काममा समस्या परेको उनले बताए । सदरमुकामसम्म कालोपत्र भएकाले अब भने सबै वडा, स्वास्थ्य चौकी र माध्यामिक विद्यालय भएको स्थानसम्म नगरपालिकाले सडकस्तरीय बनाउने उनले योजना सुनाए ।

नगरपालिकाले कुश्मीसेरा बजार पनि ढलान र कालोपत्र गराएको छ । ‘दुर्गम लाग्ने कुश्मीसेरा बजार अब सहज र सजिलै आउन सकिने भएको छ’ कुश्मीसेरा बजार सडक निर्माण समितिका अध्यक्ष धनपति शर्माले भने, ‘दुई–चार वर्षअघि आएका मानिसले अब परिवर्तन भएको देख्न सक्छन् ।’ गत वर्ष २४ लाख, अघिल्लो वर्ष १० लाख र चालु वर्ष पनि १० लाख रुपैयाँ बजेटबाट बजार क्षेत्रलाई स्तरीय बनाइएको उनले बताए । कुश्मीसेरादेखि राङखानी, धुल्लुबास्कोट हुँदै बरेङ जाने सडक पनि निर्माणाधीन छ । उक्त सडकलाई गण्डकी प्रदेश सरकारले गुल्मी जोड्ने रणनीतिक सडकमा सूचीकृत गरेकाले कामले गति लिएको छ । उक्त सडकसमेत कालोपत्र भएपछि मात्रै दक्षिण बागलुङले विकासको उचाइमा पुग्ने पौडेलले बताए ।

प्रकाशित : वैशाख १, २०७८ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?