१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

शिक्षकले ६ महिनादेखि तलब पाएनन्

सडकका कारण बस्तीबीच मनमुटाव हुँदा विद्यालयको स्रोत गुम्यो
घनश्याम खड्का

म्याग्दी — आर्थिक स्रोत जुटाउन नसक्दा एक विद्यालयले ६ महिनादेखि शिक्षकलाई तलब खुवाउन सकेको छैन । धवलागिरि गाउँपालिका–२ लुलाङस्थित लम्सुङ माविले माध्यमिक तहमा निजी स्रोतबाट नियुक्त गणित र अंग्रेजी विषयका २ शिक्षकलाई कात्तिकयता तलब दिन नसकेको हो ।

शिक्षकले ६ महिनादेखि तलब पाएनन्

२०५७ सालदेखि मावि तह सञ्चालन भएको विद्यालयमा लुलाङ, लम्सुङ र खोरियाका विद्यार्थी पढ्छन् । विद्यालयमा ७० प्रतिशतभन्दा बढी विक र बाँकी मगर विद्यार्थी छन् । निजी स्रोतबाट शिक्षक पाल्न लम्सुङ बस्तीले ४० प्रतिशत, लुलाङले ३५ र खोरियाले २५ प्रतिशत रकम जुटाउने सहमति भए पनि समुदायबीच मनमुटाव हुँदा स्रोत जुट्न छाडेको हो । लम्सुङ र खोरियाका दुई छुट्टाछुट्टै आधारभूत विद्यालयमा पनि निजी शिक्षकलाई तलब खुवाउन चन्दा संकलन हुँदै आएको छ ।

‘विद्यालयका मुख्य स्रोतमा तीनवटा बस्ती रहेको तर पछिल्लो समय बस्तीबीच मनमुटाव भएपछि एउटा समुदायबाट चन्दा संकलन रोकियो,’ लम्सुङ माविका प्रधानाध्यापक मोहनराज पौडेलले भने, ‘एउटाबाट सहयोग नउठेपछि अर्को समुदायले पनि रकम दिएन । शिक्षकलाई तलब दिने मुख्य स्रोत नै बन्द भएपछि शिक्षकलाई कात्तिकदेखि तलब खुवाउन सकेका छैनौं ।’ बस्तीबीच समझदारी गराउन नसकेपछि गाउँपालिकालाई गुहारेको र वैकल्पिक स्रोतको पनि खोजीमा रहेको उनले बताए ।

मावि तहमा एउटै शिक्षक दरबन्दी नभएकाले लम्सुङ माविले निजी स्रोतबाट तलब खुवाउने गरी नियुक्त भएका मुख्य गणित र अंग्रेजीका दुई शिक्षकलाई मासिक ७१ हजार तलब दिनुपर्छ । अर्को मुख्य विज्ञान विषयका शिक्षकको तलब भने गाउँपालिकाले व्यवस्था गर्दै आएको छ । माविका अन्य विषय भने तल्लो तहका दरबन्दीका शिक्षकले पढाउने गर्छन् । यस्ता शिक्षकलाई पनि थप पारिश्रमिक दिइएको छैन । विद्यालयमा १–१० कक्षामा दुई सय विद्यार्थी छन् । साबिक प्रावि तहमा ६ जना र निमावि तहमा २ जना शिक्षक दरबन्दी छ ।

‘प्रावि तहमा दरबन्दी भएका शिक्षकले नै कुनै थप सुविधा नलिई निमावि र मावि तहमा अध्यापन गराउँदै आएका छौं,’ शिक्षक विमला बूढाले भनिन्, ‘दुर्गमको विद्यालयमा अन्य सन्दर्भसामग्री पनि पाइँदैन, कनिकुथी माथिल्लो तह थेगेका छौं ।’ सडक विभागले खन्न लागेको मोटर बाटोमा विवाद भएपछि त्यसको प्रभाव शिक्षकको तलबसम्म पुगेको हो । धवलागिरि गाउँपालिका केन्द्र मुनाबाट खोरिया हुँदै ढोरपाटन सडक खन्न सुरु गरेपछि लम्सुङ र लुलाङका केही व्यक्तिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगराई राष्ट्रिय वनमा सडक खनेको र वन विनाश गराएको भन्दै वन विभागमा उजुरी गरे । उजुरीपछि सडक विभाग काम छाडेर फर्कियो । आफ्नो बस्तीबाट निर्माण सुरु गरेको सडक विभाग फर्किएको भन्दै खोरियावासीले विद्यालयलाई सहयोग रोकेपछि समस्या उत्पन्न भएको हो ।

‘लम्सुङ मावि निरन्तरताको जोखिममा परेको छ । गाउँपालिका समस्याको जानकार छ र समस्या सुल्झाउन अथक प्रयास पनि गरिरहेका छौं,’ धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले भने, ‘अति दुर्गमको दलित बाहुल्य बस्तीबाट अर्को नजिकको विद्यालयमा गाभ्न पनि सजिलो छैन ।’

जिल्लाका गाउँगाउँमा खुलेका अन्य विद्यालयमा पनि शिक्षक दरबन्दी नहुँदा सञ्चालनमा समस्या छ । बसाइँसराइले बस्ती पातलिँदै जाँदा निजी स्रोतबाट सञ्चालित विद्यालय संकटग्रस्त अवस्थामा छन् । दरबन्दीविहीन विद्यालय सञ्चालन गर्ने मुख्य स्रोत वैदेशिक रोजगारीमा रहेका लाहुरे, आमा समूह र सामुदायिक वन हुन् । ‘सरकारी शिक्षा विद्यार्थीलाई निःशुल्क, अभिभावकलाई महँगो भएको छ,’ गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन् । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लाका ३० विद्यालयको माध्यमिक तह, १९ विद्यालयमा निमावि तह र ९ प्राथमिक तह दरबन्दीविहीन छन् ।

प्रकाशित : चैत्र २७, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?