सडक विस्तारमा स्थानीयको अवरोध

प्रकाश बराल

बागलुङ — सडकमा जोडिएका घरटहरा भत्काउन पत्राचार गरेको २ वर्ष बित्दासमेत कार्यान्वयनमा आएको छैन । बरु भत्काउनुपर्ने घर सजिसजाउ गरिएका छन् । कतिपय नक्सा पासै नगरी घर बनिरहेका छन् । 

सडक विस्तारमा स्थानीयको अवरोध

पोखरा–बागलुङ राजमार्गको शून्य किमिस्थित बागलुङको ट्राफिक चोकदेखि मालढुंगासम्म दर्जनौं घर भत्काउनुपर्ने सूचीमा छन् । यी घर भत्काउनुको सट्टा उल्टै मर्मत गर्ने, नयाँ बनाउने काम भइरहेको छ । सडक ट्र्याक खुलेकै समयमा यहाँ १५ मिटर मापदण्ड कायम थियो । मध्यपहाडी लोकमार्गले यो मापदण्ड २५ मिटर पुर्‍याएको छ ।

‘सवारीसाधनको चाप बढी छ, तर मापदण्ड पालना गर्न सकिएन,’ बागलुङ नगरपालिका–२ का अध्यक्ष जीवन आचार्यले स्विकारे, ‘वडा तहले गर्न सक्ने काम रहेनछ, सिंगो नगरपालिका, सडक विभाग र संघीय सरकार नै लाग्नुपर्छ ।’ आचार्यले मात्रै दुई वर्षअघि १८ वटा घरटहरा तत्काल भत्काउन सूचना जारी गरेका थिए । वडा १ मा पनि दर्जनभन्दा बढी घर र अन्य संरचना भत्काउनुपर्ने सूचना थियो । मध्यपहाडी लोकमार्ग कायम भएको वडा १ मा थप २ दर्जन घर भत्काउनुपर्नेछ । लोकमार्गको ट्र्याक अहिले ८ मिटर पनि छैन ।

मध्यपहाडी लोकमार्ग हाल बागलुङ–१ को बांगेचौरदेखि वडा ४ को उपल्लाचौरतर्फ जाने तय भएको छ । मापदण्ड नपुगेको र साँघुरो सडक भएकाले नगरपालिकाले भने ट्राफिक चोक र समीक्षालय बाल उद्यान भत्काएर फराकिलो पारेको छ । व्यक्तिका टहरा भने नगरपालिकाले भत्काउन नसकेको हो ।

‘नगरपालिकाले दुईपटक पत्राचार गरे पनि कसैले टेरेनन्, अनि आफैं फिर्ता भयो,’ स्थानीय गणेश लम्सालले भने, ‘नगरपालिकाले अव्यवस्थित टहरा भत्काएर काम थाल्नुपर्थ्यो तर गरेन ।’ चौडा सडकका लागि साथ दिनुपर्नेमा स्थानीयले संघर्ष समिति बनाएर काममा अवरोध गरेका छन् । ‘लोकमार्गको ट्र्याकमा ३ देखि ४ मिटरको एकतर्फी सडकमात्रै छ,’ वडा १ का सदस्य सूर्य लामिछानेले भने, ‘दुई दर्जन घर जोगाउन चुप बस्दा दुई/चार वर्षमा सयौं घर बनिसक्छन् ।’

प्रकाशित : चैत्र २५, २०७७ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?