बारपाकको राङरुङमा जिप दुर्घटना, २ को मृत्यु (अपडेट)

हरिराम उप्रेती

गोरखा — बारपाकको राङरुङमा शनिबार लमजुङका शिक्षकहरू सवार जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा सख्त घाइते लमजुङ बिचौरका ५५ वर्षीय रामेश्वर न्यौपाने र ४५ वर्षीय ठाकुर दवाडीको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गोरखाका एसपी शेखर खनालले बताए ।

बारपाकबाट बालुवातर्फ आउँदै गरेको जिप बारपाक सुलिकोट–२ राङरुङमा शनिबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा लमजुङको बिचौरबाट बारपाक घुम्न आएकाहरू सवार थिए । राङरुङमा जिप सडकबाट दुई सय मिटर तल खसेको हो । घाइतेमा लमजुङको बेंसीसहर–१० का सन्तोष तामाङ, दूधपोखरी–२ का विष्णु दवाडी, अनिल मरहट्टा, अमृत दवाडी, विष्णु न्यौपाने, तनहुँको व्यास–१ का सुशील नरालगायत रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये विष्णु र अनिललाई गोरखा अस्पतालले चितवन मेडिकल कलेज रेफर गरेको छ ।

घटनास्थल पुगेका स्थानीयवासी कुमार गुरुङका अनुसार सडकबाट खसेको जिप भिरालो ठाउँमा अड्किएको थियो । ‘६ जनालाई हातले तानेर उद्धार गर्‍यौं, तीन जनालाई स्ट्रेचरमा राखेर सडकसम्म ल्यायौं,’ उनले भने ।

0000

बारपाकबाट बालुवातर्फ आउँदै गरेको ना ५ च ३२९८ नम्बरको जिप बारपाक सुलिकोट गाउँपालिका–२ राङरुङमा केहिबेर अघि दुर्घटना हुँदा ३ जनाको अवस्था गम्भीर भएको छ ।

अन्य ७ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरेर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले बताए ।

लमजुङको विचौरबाट बारपाक भ्रमण गरेर फर्किएका युवाहरु चढेको उक्त जिप राङरुङको सडकबाट ७० मिटर तल खसेको गोरखाका एसपी शेखर खनालले बताए । ‘घटनाको विस्तृत विवरण आइसकेको छैन, सबै घाइतेको भने उद्धार गर्‍यौं,’ उनले भने ।

प्रकाशित : चैत्र २१, २०७७ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?