विपन्नका घर बनाउँदै मनकारी- गण्डकी - कान्तिपुर समाचार

विपन्नका घर बनाउँदै मनकारी

घनश्याम खड्का

म्याग्दी — आपत्‌विपत् पर्दा जसले सघाउँछ, गाउँबस्तीले त्यसलाई सम्झन्छ । तिनै सम्झना भइरहनेमध्येका हुन् दलबहादुर शेरवुजा मगर । हङकङमा मासिक २० हजार डलर कमाइ र परिवार छोडेर उनी ६ महिनादेखि म्याग्दीका गाउँ डुल्दै गत वर्षको बाढीपहिरोमा विस्थापितलाई पुनर्वास गराउन खटिएका छन् । गाउँमा सबै खर्च उनको निजी हुन्छ ।शेरवुजाका अनुसार कात्तिकयता खल्तीबाट ६ लाख खर्च भइसकेको छ ।

उनले दसैंतिहार पहिरोपीडितसँगै पालमा मनाएका थिए । ‘सक्ने मान्छेले आफैं गर्छ, नसक्नेका लागि पो सहयोग गर्नुपर्छ । विपत्ले क्षणभरमै मानिसलाई निरीह बनाइदिन्छ,’ शेरवुजाले भने, ‘विदेशमा आर्जित सीप र समय गाउँलेको सेवामा लगाउन आएको हुँ ।’ बाढीपहिरोले जिल्लामा गत वर्षायाममा धेरै मानवीय तथा भौतिक क्षति पुग्यो ।

सबैभन्दा बढी धवलागिरि–६ मराङ र मालिका–७ विम बस्ती प्रभावित भयो । ३२ जनाभन्दा बढीले ज्यान गुमाए । मनसुनजन्य विपत्बाट जिल्लाका एक हजार ६८ परिवारले घरखेत गुमाए । अर्को मनसुन लाग्ने बेलासम्म विस्थापित अझै त्रिपालमुनि छन् । शेरवुजाको पुर्ख्यौली थलो विम हो । घरविहीनमध्ये ४० परिवारलाई पुनर्वास गराउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले नयाँ घर बनाइरहेको छ ।

मोनाले स्थानीय सरकारको सिफारिस र गृह प्रशासनको स्वीकृतिमा अति विपन्न परिवारलाई नयाँ घर बनाइदिन लागेको हो । शेरवुजा यिनै ४० घर निर्माणको कानुनी प्रक्रिया मिलाउने, विपन्न परिवार छनोट गर्ने, पुनर्वास गराउने घर/शौचालयको डिजाइन इस्टिमेट, काम लगाउने र गुणस्तर मापन अनुगमनसमेतका काम गर्न ६ महिनादेखि हङकङको आफ्नो व्यवसाय छाडेर गाउँमा खटिएका हुन् । ‘असार २६ गते बिहानको पहिरोले टोलका सबै ५ घर लग्यो । ज्यान बाँच्यो । बर्खाको झरी र हिउँदको जाडो गरी ७ महिना त्रिपालमुनि बित्यो,’ विम नैरुङका ७२ वर्षीय अमप्रसाद दर्जीले भने, ‘बाहिर देश गएकाले उठाएको पैसाले घर बन्दै छ । अबको वर्षा नयाँ घरमा बस्न पाइने आशामा छौं ।’

मोनाले विममा १० घर, धवलागिरिमा १४, मंगला, रघुगंगा, अन्नपूर्ण गापा र बेनी नगरपालिकामा ४/४ वटाका दरले ४० नयाँ घर निर्माण थालेको छ । सबै घर सुत्ने कोठा २, एउटा/एउटा बैठक कोठा, भान्सा र शौचालयसहित मोडेलमा भूकम्पप्रतिरोधी हुनेछन् । एउटा तयार पार्दा ५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

पहिरोले जन्मगाउँ विम र छिमेकी मराङका बस्ती क्षतविक्षत भएको समाचार पढेपछि विपत्मा परेका दाजुभाइलाई यो बेला सहयोग नगरे कहिले गर्ने भन्ने लागेर आफू गाउँ आएको शेरवुजाले बताए । उनले सहयोग जुटाएर राहत लिएर आएका थिए । ‘यहाँ आएपछि थाहा पाएँ, पहिरोपीडितलाई दालचामलको होइन पुनर्वासको आवश्यकता छ,’ उनले भने, ‘कतिको त घर बनाउने जमिनसमेत थिएन, त्यसैले निजी आवास निर्माण थालेका हौं ।’

प्रकाशित : चैत्र २१, २०७७ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्

कम्प्युटर : एक अलिखित कथा

कम्प्युटर कक्ष प्रवेश गर्ने अनुमति पाएपछि जुत्ता खोलेर एप्रोन लगाउनुपर्थ्यो । निकै सतर्क भएर कक्षभित्र प्रवेश गर्नुपर्थ्यो, मानौँ त्यहाँ गम्भीर बिरामीलाई विशेष हेरचाहमा राखिएको छ ।
आईबीएम १४०१ कम्प्युटरको टाउको, सिङ–पुच्छर, जुराले हालको थापाथली, तथ्याङ्क विभागको भुइँतला खर्लप्पै ढाकेको थियो ।
भुवनहरि सिग्देल

नेपालमा कम्प्युटर स्थापना र सञ्चालन गर्न यूएसएडबाट २२०० डलर मासिक तलब पाउने गरी जोन एडम्स प्राविधिक सल्लाहकार भई २०२८ सालमा नेपाल आइपुगेका थिए । जोनसँगै नेपालमा आइपुगेको थियो– आईबीएम १४०१, एक दोस्रो–पुस्ते कम्प्युटर ।

मेरो मस्तिष्कमा जोन एडम्समाथि एउटा रोचक स्मृति छ । उनी भूतपूर्व अमेरिकी सैनिक अधिकृत थिए, १४०१ कम्प्युटरका विज्ञ पनि । मातहतमा काम गर्ने कर्मचारीलाई जोन अति माया गर्थे, कहाँसम्म भने रातिको सिफ्टमा काम गर्ने कर्मचारीले उचित काम गरे/नगरेको निरीक्षण गर्न घरमा आफैँले पकाएको मासु–चिउरा बोकेर १०/११ बजे पनि कार्यालय पुग्थे । र, सबै कर्मचारीलाई खुवाउँथे ।

जोन सात फुट अग्ला थिए । ज्यान खम्बाजस्तो थियो । साथमा उनले नेपालमा एउटा मोटरसाइकल ल्याएका थिए । डबल इन्जिनको त्यो मोटरसाइकल १२०० सीसीको थियो, देख्दै भयङ्कर ! उनलाई मोटरसाइकलको नेपाली नम्बर लिन मन लाग्यो, नम्बर १ नै पाउनुपर्छ भनेर अड्डी कसे । नम्बर दिने विषयमा विवाद भयो । जोनले भने, ‘नेपालमा कि १२०० सीसीको अर्को मोटरसाइकल दर्ता भएको देखाउनोस् अन्यथा मेरो मोटरसाइकललाई १ नम्बर नै चाहिन्छ ।’ अन्ततः १ नम्बर लिइछाडे । उनी मोटरसाइकल चढेर सडकमा निस्किँदा मानिसहरू आश्चर्यले आँखा फारेर परपरसम्मै हेरिरहन्थे ।

जोन नेपाल आउँदा विशेष जातकी कुकुर्नी पनि साथै ल्याएका थिए । उनको प्रिय साथी थियो– कुकुर । त्यसबेला नेपालमा त्यो जातको कुकुर पाल्ने अधिराजकुमार बसुन्धरा शाह मात्रै रहेछन् । समय आएपछि कुकुर्नीलाई भाले लगाउन जोन उनको घर लैजान्थे । कुकुरको कारण राजपरिवारसँग जोनको राम्रो सम्पर्क र आउजाउ बन्यो । जोन गजबका निसानावाज मानिन्थे । अधिराजकुमारहरूसँग सिकार खेल्न पनि पुगेका हुन्थे ।

जोनकी कुकुर्नी गर्भवती भई । त्यस खुसीमा उनले अफिसका कर्मचारीलाई मिठाई बाँडे । कुकुर्नीलाई सुत्केरी व्यथा लाग्यो । जोन बेलुकीपख मात्रै खुसी हुँदै अफिस आइपुगे र भने, ‘बिहानैदेखि कुकुर्नीलाई व्यथा लाग्यो । त्यसको हेरचाह गर्दा अबेर भयो । ११ वटा छाउरा पाई । सबै स्वस्थ छन् । आज म सबै साथीलाई खुसीको भोज खुवाउँछु ।’ पछि शान्ति सिंहलगायत राजपरिवारका सदस्यलाई ११ वटा छाउरा ५५ सयका दरमा बेचे । त्यस खुसीमा जोनले सबै कर्मचारीलाई गोदावरीमा पिकनिक लगे ।

जोनको नेपाल बसाइको समयावधि सकियो । उनले मोटरसाइकल कार्गो गरी अमेरिका पठाए । तर, कुकुर्नी अमेरिका लैजान नियमले दिएन । आफूले असाध्यै जतन गरी पालेको कुकुर्नी अरूसँग छाडेर जान पनि मनले मानेन । र, उनले आफ्नै हातले कुकुर्नीलाई गोली हाने । त्यसको सद्गत गरे । नेपालमा कम्प्युटरको मेनफ्रेम सञ्चालनमा महत्त्वपूर्ण योगदान गरेका जोन त्यसपछि रुँदै नेपालबाट बिदा भए ।

...

२०२८ सालअघि सीमित नेपालीले मात्रै कम्प्युटरको नाम–काम जानेका थिए । साधारण लोकको कुरा त परै रहोस् राजधानीका, सरकारी कार्यालयका कर्मचारीलाई समेत कम्प्युटरबारे थाहा थिएन । २०३१ सालमा यान्त्रिक शारिणीकरण (यासा) केन्द्र गठनपछि कम्प्युटरबारे प्रथमतः जनचेतना जगाउने काम त्यस केन्द्रले गर्‍यो । कम्प्युटर के हो ? यसले के काम गर्छ ? कसरी काम गर्छ ? किन यसबाट काम गर्नुपर्छ ? जस्ता थुप्रै आधारभूत कार्यक्रम, लेखापढी परिपत्र, प्रचारप्रसार, गोष्ठी र सेमिनार केन्द्रले गरेको थियो ।

केन्द्रले नेपालभरिका कार्यालय, संघसंस्थालाई कम्प्युटरबाट किन काम गर्नुपर्छ भन्ने परिपत्र गरेको थियो । एक–डेढ महिनापछि सुदूर पहाडी जिल्लाको स्थानीय विकास कार्यालयबाट एउटा सोधनीपत्र आयो । पत्रमा केन्द्रलाई ‘यान्त्रिक करणीकरण केन्द्र’ सम्बोधन गरिएको थियो । भित्रको बेहोरा यस्तो थियो, ‘कम्प्युटरबाट तथ्याङ्क शुद्ध राख्न सकिन्छ भन्ने बेहोरा अवगत भयो । तर, यान्त्रिक करणीकरण कस्ता घटनालाई भन्छन् ? बुझिएन । यो कार्यालयमा यान्त्रिक करणीकरणका कुनै तथ्याङ्क नभएको जानकारी गराइएको छ ।’

अफिसमा धेरै दिनसम्म ‘करणीकरण’ शब्दले निकै चर्चा पायो । ‘यान्त्रिक शारिणीकरण’ ले कम्प्युटरको पूरै प्रतिनिधित्व गर्दैन भन्ने निष्कर्षपछि त्यो शब्दलाई नेपालीकरण गरिदिन प्रज्ञा प्रतिष्ठान गुहारियो । प्रतिष्ठानबाट ‘सुसाङ्ख्य’ शब्द प्रयोग गर्नू भनियो । त्यसपछि केन्द्रको लेटरप्याडमा यान्त्रिक शारिणीकरण (राष्ट्रिय सुसाङ्ख्य र कम्प्युटर) केन्द्र लेखियो । तर, नेपाली जनजिब्रोले ‘कम्प्युटर’ शब्दलाई नै रोज्यो । त्यसपछि नेपाल राजपत्रमा सूचना प्रकाशित गरी ‘राष्ट्रिय कम्प्युटर केन्द्र’ नाम प्रचलनमा आयो ।

...

त्यही यान्त्रिक शारिणीकरण केन्द्रमा नासुसरहको पदमा मेरो नाम निस्किएको थियो । तर, हाजिर हुन बोलाइएको थिएन । अफिसबारे जानकारी लिन म त्यहाँ पुगेको थिएँ । त्यसपछि २४ वर्ष मैले त्यही अफिसमा काम गरेँ ।

जम्मा २ एमबीआर क्षमताको, आइबियम १४०१, दोस्रो पुस्ते कम्प्युटर थियो त्यो, मैले काम सुरु गर्दा । यो लेख त्यही १४०१ कम्प्युटरकै कथा हो ।

२०३२ चैत २४ गते कम्प्युटर कक्ष अवलोकन गर्दै तत्कालीन राजा वीरेन्द्र र युवराज दीपेन्द्र

त्यस कम्प्युटरका टाउका, सिङ–पुच्छर, जुराले हालको थापाथली, तथ्याङ्क विभागको भुइँतला खर्लप्पै ढाकेको थियो । कम्प्युटर कक्ष प्रवेश गर्ने अनुमति लिएपछि जुत्ता खोलेर एप्रोन लगाउनुपर्थ्यो । निकै सतर्क भएर भित्र प्रवेश गर्नुपर्ने, मानौँ त्यहाँ गम्भीर बिरामीलाई विशेष हेरचाहमा राखिएको होस् । त्यहाँ २५ डिग्री तापक्रम रहनेगरी वातानुकूलित व्यवस्था थियो । निर्बाध बिजुली दिन स्ट्यान्डबाई जेनरेटर जडान गरिएको थियो । छत र भुइँमा फल्स फ्लोरिङ गरिएको थियो । चारैतिर भित्तामा साउन्ड प्रुफ टायल लगाइएको थियो ।

म अफिस पुगेको पहिलो दिन ढोकाबाहिरका गार्ड लालबहादुरले जानकारी दिएका थिए– भित्र एक जना विश्वनाथ उपाध्याय छन्, उनी कम्प्युटर अपरेटर हुन् ।

कक्ष प्रवेश गरेपछि देखियो– अजङ्गको कालो दराजजस्तो यन्त्रसामुन्ने एक जना मात्रै मानिस उभिएका थिए । उनी त्यो यन्त्रभन्दा दुई फुट होचा थिए । सिसाको भागमा मुसाका आँखाजस्ता हरियो, पहेँलो र राता बत्ती घरीघरी पिलपिल गरिरहेका थिए ।

अन्योलमा थिएँ, बोल्न हुने हो कि होइन । बिस्तारै सोधेँ, ‘नमस्ते विश्वनाथजी, के कम्प्युटर भनेको यही हो ?’

उनले झुलुक्क मेरो अनुहारतिर आँखा लगाए । तुरुन्तै यन्त्रतिर हेरेर भने, ‘पूरै कम्प्युटर यो होइन । यो सीपीयू मात्रै हो । यसमा अहिले प्रोग्रामिङ टेस्ट भइरहेको छ ।’

पल्लो कुनाको त्योभन्दा ठूलो दराज देखेर सोधेँ, ‘अनि ऊ त्यो के हो त ?’

‘ए ! त्यो यसको टेप युनिट हो । अहिले बढी कुरा यहाँ नगरौँ । काम सकेर बाहिर बसेर गफ गरौँला ।’ कुरा त सकियो, तर मेरो जिज्ञासा सकिएको थिएन । विश्वनाथ काम सकेर बाहिर आए । उनले दक्षिणतर्फको ठूलो हलमा लिएर गए । त्यहाँ ६४ वटा डाटाइन्ट्री र १६ वटा भेरिफाई मेसिन लहरै राखिएका थिए । एक प्रकारको खटङ्टङ ध्वनिले पूरै हल गुन्जायमान थियो । मेसिनमाथि चाङका चाङ पन्चकार्ड राखिएको थियो– एउटा कार्डमा पन्च गरिसकेपछि अर्को कार्ड खत्रक्क मेसिनमा झर्थ्यो र कार्ड भरिएपछि अर्कोतिर सर्थ्यो ।

किपन्च मेसिनको बोर्ड टाइपराइटरको जस्तै थियो । तर, त्यसले अक्षर टाइप गर्ने होइन, कार्डमा दुलो पार्थ्यो । प्रत्येक अपरेटरलाई कोडसिट, कुनै सिस्टम या प्रोग्राम पन्च गर्न दिइन्थ्यो । ती विवरण कार्डमा दुलो बनाएर सीपीयूसँगैको कार्ड रिडर मेसिनमा राखेर पढाएपछि मात्रै कम्प्युटरले बुझ्थ्यो ।

डाटाइन्ट्री कक्ष

कस्तो भने कम्प्युटरको मेमोरीलाई रामबहादुर र ३५ अङ्क बुझाउनु छ । त्यसले न कसैको नाम बुझ्छ न अङ्क । त्यसले ० र १ बाहेक अरू केही बुझ्दैन । रामबहादुरको कोड बनाउनुपर्‍यो, ०११०११ । कम्प्युटरले बुझ्ने यत्ति हो । अब अर्को फसाद, ३५ अङ्क कसरी बुझाउने ? ३ अङ्क पढ् भन्ने प्रोगाम सुरुमा त्यसलाई बुझाउने । अनि ३ अङ्क भनेको १ को ३ गुना धेरै हो भनेर प्रोग्रामले बुझाउने । त्यसैगरी ५ भनेको १ को पाँच गुना धेरै हो भनी बुझाएपछि मात्र रामबहादुर ३५ कम्प्युटरले भन्न सक्थ्यो । लौ हेर्नोस् बिजोग !

ठूल्ठूला कोडिङ सिट तयार पारिएका थिए । यो सिट डिजाइन गर्दा छलफल हुन्थ्यो, नेपालीका सकेसम्म लामा नाम कति अक्षरका होलान् ? साथीबाट एउटा नाम आयो, गोरक्षबहादुर न्हुच्छे प्रधान । रोमन अंग्रेजीमा यो नाम ३० अक्षर लामो हुने भयो । यसैलाई मानक बनाई कोडिङ सिटमा ३० कोष्ठ कायम गरिएको थियो ।

भेरिफाईतर्फ डाटाइन्ट्रीमा कुनै गल्ती भएको छ कि भनेर हेर्दै थिएँ । डाटाइन्ट्री र भेरिफाई प्रक्रियामा आउनुपूर्व सिस्टम एनालिस्टले कुन कामको कस्तो प्रकृति छ ? त्यसमा केकस्ता समस्या छन् ? त्यसलाई कम्प्युटरबाट कसरी सम्पादन गर्ने ? नतिजा कस्तो निकाल्नुपर्ने ? आदि अध्ययन गरेर प्रोग्रामरलाई निर्देशन दिएपछि त्यो सिस्टममा ‘ओआरटीआरएएन टीभी’ या ‘एएलजीओएल’ या ‘सीओबीओएल’ कुन प्रोग्रामिङ भाषा ठीक हुन्छ ? भनेर अध्ययन गरिन्थ्यो र प्रोग्राम तयार हुन्थ्यो । त्यसलाई कोडमा बदलेर मात्र डाटाइन्ट्री स्तरमा पुग्थ्यो ।

२ एमबी र्‍यामको एउटा कम्प्युटर चलाउनु थियो । डाटाइन्ट्री र भेरिफाईतर्फका ८० जना, प्रोग्रामिङ र सिस्टमतर्फ १२ जना, प्रशासन–लेखातर्फ ६ जना र गार्डपियन गरी ७ जना कर्मचारी यसमा कार्यरत थिए ।

...

कम्प्युटरको इतिहास हेर्दा दोस्रो विश्वयुद्धपछि, सन् १९५० को सुरुमै हार्डवर्ड युनिभर्सिटीका हर्मन हलरिथले व्यावसायिक कम्प्युटरको परिकल्पना गरे । भ्याकुम ट्युबमा आधारित यसलाई युनिभ्याक कम्प्युटर नाम दिए । यसलाई पहिलो पुस्ताको कम्प्युटर भनियो । गणना गर्ने काममा यसको उपयोग प्रभावकारी हुने ठहरपछि १९५३ मा ट्रान्जिस्टरमा आधारित अर्को कम्प्युटर निर्माण गरियो । यसले तुलना गर्न सक्थ्यो, ० र १ अङ्क चिन्थ्यो र हो या होइनसम्म भन्थ्यो । यसलाई दोस्रो पुस्ताको नाम दिइयो । यसलाई मेनफ्रेम कम्प्युटर प्रणाली भनिन्थ्यो । यो निर्माणपछि विश्वबजार यसतर्फ आकर्षित भयो । विभिन्न कम्पनीहरू यसमा सक्रिय भए । अमेरिकाको आईबीएम कम्पनीले यसैमा आधारित दोस्रोपुस्ते १४०१ कम्प्युटर बनायो । इन्डियाले कम्पनीसँग यसलाई भाडामा लियो र विसं २०१८ को जनगणनामा यसको प्रयोग गरी अभूतपूर्व सफलता देखायो । नेपालले त्यही कम्प्युटर मासिक एक लाख भारु भाडा तिर्ने सर्तमा आईबीएमसँग सम्झौता गर्‍यो । त्यसैबाट २०२८ सालको जनगणना तथ्याङ्क निकालिएको थियो ।

जनगणना कार्यपछि तत्कालीन नेपाल सरकारले २०३१ पुस १४ गते यान्त्रिक शारिणीकरण केन्द्र नामको संस्था गठन गर्‍यो । देशका सरकारी र अर्धसरकारी निकायका काम यसले गर्ने भनी कार्यक्षेत्र पनि तोकिदियो । यो निश्चित आयुभन्दा दस वर्ष बढी चलिसकेको कम्प्युटर थियो । विश्वबजारमा अन्य शक्तिशाली कम्प्युटर बनिसकेका थिए । त्यसतर्फ ध्यान नदिई त्यही हात्ती गरिबले पाल्यो । यसरी नेपालको इतिहासमा सर्वप्रथम २०२८ सालबाट कम्प्युटरको प्रयोग सुरु भयो । यो प्रणालीमा सुरुमा काम गरेका अधिकृत नारायणप्रसाद नयन, विमलप्रकाश नेपाली, सुरेन्द्रकुमार सिंह र सुदर्शनराज पौडेल थिए । यिनका साथमा तथ्याङ्क विभागले नियुक्ति गरेका २८ जना सहायक कर्मचारी पनि यता सरे ।

केन्द्रमा धमाधम काम आउन थाले : भवन विभागको हाउस होल्ड सर्भे, अमेरिकी दूतावासको टेलिफोन डाइरेक्टोरी, परिवार नियोजनका विविध तथ्याङ्क, नेपाल वायुसेवा निगमको इन्टरलाइन बिलिङ, पर्यटन विभागको पर्यटक तथ्याङ्क, नेपाल राष्ट्र बैँकको परिवार बजेट सर्भेक्षण, त्रिविविको छात्र रजिस्ट्रेसन, आईएलओको ग्रामीण पारिवारिक सर्भेक्षण ।

समस्या खडा भयो । कामको चाप दिनानुदिन बढ्दै छ । चौबीसै घण्टा काम गनुपर्ने अवस्था आइपर्‍यो । कम्प्युटरका सबै डिभाइस जडान गर्ने ठाउँ भएन । कर्मचारीले बसेर काम गर्न पाएका थिएनन् । छुट्टै भाडाको घर लिएर कर्मचारीजति त्यसमा राखियो । तथ्याङ्क विभागको भुइँतलामा प्रविधिक विभाग राखियो । चार सिफ्टमा कर्मचारीलाई विभाजित गरेर चौबीसै घण्टा कम्प्युटर कक्ष चालु गरियो । खाद्य अनुसन्धानशाला, अमेरिकन पिसकोर, सेडा, आयल निगम, विश्व बैँक, जलवायु विज्ञान, योजना आयोग, एसपी कार्यालय, कृषि विकास बैँक, एसएलसी परीक्षा, महालेखा, विज्ञान तथा प्रविधि परिषद्, निजामती किताबखाना आदि कामका चाप थपिँदै थिए । सिंहदरबार पुनः निर्माण कम्पनीले कम्प्युटर केन्द्रलाई स्थायित्व दिन छुट्टै भवन बनाउनू भनी सिंहदरबार कम्पाउन्डभित्र ११ रोपनी जग्गा उपलब्ध गरायो । भवन निर्माणपछि त्यसमा थर्ड जेनरेसनको नयाँ कम्प्युटर राख्ने योजनामा काम हुँदै थियो ।

सबै कामका लागि अलग सिस्टम र प्रोग्रामिङ गर्नुपर्ने हुन्थ्यो । प्रोग्रामिङतर्फ प्रमोदवीर तुलाधर, हरिगोपाल श्रेष्ठ, अशोक आचार्य, कल्याणनाथ उपाध्याय, हरिहरनाथ रेग्मी, पुष्कर वाग्ले, उदय नेपाली, तेजप्रसाद कोइराला, हेमबहादुर शाक्य आदि कर्मचारी दिनरात खटिएका थिए । काम गर्ने कम्प्युटर प्रणालीको हालत अर्कै थियो । चक्रवृद्धि ब्याज हिसाब गर्नुपर्ने बैँक, कर्मचारी सञ्चय कोष आदि प्रोग्रामिङका टेस्ट जटिल र लामा हुन्थे । कुनै बेला कम्प्युटरलाई प्रोग्राम पढिसक्न दिन–रात लाग्थ्यो । त्यसलाई बीचमा रोक्न मिल्दैनथ्यो । सम्बन्धित कर्मचारी नखाई, नसुती कम्प्युटरअगाडि खडा रहनुपर्थ्यो । नेपालमा सूचना प्रविधि क्षेत्रमा लामो अनुभव र इतिहास बोकेर आएको राष्ट्रिय कम्प्युटर केन्द्र नवीन कम्प्युटर युगमा प्रवेश गर्दै थियो । तत्कालीन सरकारको अप्रत्याशित निर्णयले २०५५ साल कात्तिक ७ गते यसको विघटन भयो । यो प्रविधिमा काम गर्ने २ सय ८३ जना कर्मचारीले ठाडो अवकाश पाए ।

प्रकाशित : चैत्र २१, २०७७ १०:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×