कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

सहचालक हत्याका आरोपित दिल्लीबाट पक्राउ

घाइते साथीलाई कालीगण्डकीमा बगाएर फरार रहेका दुवै जना पक्राउ
प्रतीक्षा काफ्ले

स्याङ्जा — घाइते सहचालकलाई कालीगण्डकीमा फालेर हत्या गरेको घटनाका आरोपित भारतको नयाँदिल्लीबाट पक्राउ परेका छन् । साथीको हत्याका आरोपित गल्याङ–८ बंग्रान्तीका २७ वर्षीय अमित परियार श्रीमती र छोरीसहित भारत पुगेका थिए । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक हरिप्रसाद पौडेल र प्रहरी जवान गमबहादुर क्षेत्री उनको पिछा गर्दै दिल्लीसम्म पुगेका थिए ।

सहचालक हत्याका आरोपित दिल्लीबाट पक्राउ

सुराकीका आधारमा अमितलाई शुक्रबार दिल्लीको अशोक विहारबाट पक्राउ गरेको हो । त्यहाँबाट पनि परिवारसहित अन्यत्रै भाग्न तयारी रहेको अवस्थामा पक्रिएको प्रहरी निरीक्षक पौडेलले बताए ।

परियारविरुद्ध सोमबार जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । गल्याङ–९ पारीचौरस्थित बेलचौर–साँखर कच्ची सडकमा चैत ५ गते साँझ ढुंगा लिएर आएको ट्र्याक्टरबाट खसेर गल्याङ–८ का १९ वर्षीय सहचालक गणेश गाहा घाइते भएका थिए । परियारले चलाएको ट्र्याक्टरमा अर्का सहचालक २१ वर्षीय सुनील राना पनि थिए ।

घाइते गाहालाई परियार र रानाले कालीगण्डकी नदीमा लगेर फालिदिएका थिए । प्रहरीका अनुसार एकै ठाउँका मिल्ने साथी उनीहरूले घटनाका दिन मदिरा सेवन गरेका थिए । गाहा घाइते भएको थाहा भए आफूहरू जेल जानुपर्ने डरले कालीगण्डकीमा लगेर फालिदिएको प्रहरी अनुसन्धानले देखाएको छ । ‘उपचार पाएको भए गाहाको मृत्यु हुने थिएन,’ एसपी होबिन्द्र बोगटीले भने, ‘उपचारका क्रममा मृत्यु भयो भने जेल जानुपर्छ । अहिले नै बगाइदिए कसैलाई थाहा हुँदैन भनेर नदीमा फालेका रहेछन् ।’

घटनाको भोलिपल्ट गाहाको शव कालीगण्डकी किनारमा भेटिएको थियो । कालीगण्डकीको घाट साँखरस्थित ढुंगा लोड गरी आउने क्रममा गाहा ट्र्याक्टरबाट खसेका थिए । राना र परियारले पुनः बाटो मोडेर नदीमा लगेर फालेको प्रहरीले जनाएको छ । घटनापछि परियार सपरिवार बेपत्ता भएका थिए भने सहचालक राना तानसेनस्थित दिदीको घर पुगेका थिए । घटनाबारे बताएपछि दिदीले भाइलाई प्रहरीमा आत्मसमर्पण गर्न लगाएकी हुन् । रानालाई पाल्पा प्रहरीले नियन्त्रणमा लिएपछि घटनाबारे खुलेको हो । परियार र रानाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १७, २०७७ २१:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?