बागलुङ झडप : जिल्ला प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ

स्थानीयका अनुसार हराएको भनिएका केही मानिस सम्पर्कमा आएका छन्
प्रकाश बराल

बागलुङ — होली खेल्ने क्रममा झडप हुँदा दुई युवकको मृत्यु भएको प्रकरणमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको टोली सोमबार बिहान घटनास्थलतर्फ लागेको छ । जिल्ला प्रहरीप्रमुख कृष्णबहादुर पल्ली मगरसहित ११ जनाको टोली खटिएको हो । 


आइतबार होली मेलामा झडप हुँदा निसीखोला गाउँपालिका–७ का ३६ वर्षका प्रकाश कुँवर र ३४ वर्षका दीपक परियारको मृत्यु भएको छ ।

शव सोमबार पोस्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले बताए ।

झडपका क्रममा बागलुङ, गुल्मी र प्युठानको सिमाना बलधुरेमा भिरबाट खसेर दुई युवकले ज्यान गुमाएका हुन् । उक्त घटनामा केही घाइतेसमेत भएको अनुमान छ ।

‘सामूहिक झडपले घटना भएकाले अनुसन्धान गर्न प्रहरी उपरीक्षकसहित ११ जनाको टोली घटनास्थल गएको हो,’ हवारीले भने, ‘दुर्गम स्थल भएकाले सूचना संकलनमा समेत कठिनाइ भएको हो ।’

बडिगाड गाउँपालिका–१० दर्लिङ र निसीखोला गाउँपालिका–७ को राजकुतका युवाबीच झडप भएको थियो । घटनास्थल सदरमुकामदेखि १ सय किमी पश्चिममा पर्छ । हराएको भनिएका केही मानिस सम्पर्कमा आउन थालेको स्थानीयले बताए ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङ र हरिचौरको टोली आइतबार राति नै घटनास्थल पुगिसकेको छ ।

प्रशासनले केही दिनअघि नै होलीमा मेला–महोत्सव नगर्न निर्देशन जारी गरेको थियो । तर उक्त मेलामा ६ सयभन्दा बढी मानिस भेला भएका थिए । समन्वयबिना मेला गर्दा घटना भएको देखिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । ‘समन्वयबिनै कार्यक्रम गरिएको रहेछ, छानबिन गर्छौं,’ कार्कीले भने, ‘दु:खद घटना भएकाले पहिलो काम अनुसन्धान हो, त्यसपछि कारबाही प्रक्रिया थाल्छौं ।’

प्रकाशित : चैत्र १६, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्

बागलुङमा होली खेल्ने क्रममा झडप, दुई युवाको मृत्यु

प्रकाश बराल

बागलुङ — होली खेल्ने क्रममा झगडा हुँदा बागलुङ, गुल्मी र प्युठानको सिमानाको बलधुरेमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ ।

भीरबाट खसेर उनीहरुको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले पुष्टि गरे । मृतकको नाम भने खुलेको छैन ।

बडिगाड गाउँपालिका १० दर्लिङ र निसीखोला गाउँपालिका ७ को राजकुतका युवाबीच झगडा हुँदा प्रकाश कुँवर र दिपक परियार भीरबाट खसेको स्थानीयले बताए पनि प्रजिअ कार्कीले पुष्टि भइनसकेको बताएका हुन् । उनले भेटिएका मृतक उनीहरु हुन् वा अन्य भन्ने नखुलेको बताए ।

दुवै युवालाई अर्को समूहले कुटपिटपछि भीरबाट खसालेको भन्ने थाह पाएपछि उद्धारका लागि प्रहरी खटाएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए । घटनास्थल सदरमुकाम देखि १ सय किमि पश्चिममा पर्छ । आइतबार दिउँसो घटना भए पनि बेलुकी ९ बजेमात्र प्रहरी घटनास्थल पुगेको हो । घटनामा भागाभाग भएका १५ जना सम्पर्क बाहिर रहेको स्थानीयले बताए ।

मेलामा होली खेल्ने निहुँ भए पनि राजनीतिक कारण भएको कांग्रेस क्षेत्रीय सभापति द्रोण कुँवरले बताए । बेपत्ता भएका कुँवर कांग्रेस जिल्ला सदस्य हुन् । अर्का पनि कांग्रेस कार्यकर्ता भएको र घटनामा संलग्न अर्को पक्ष माओवादी निकट भएको उनले बताए ।


प्रकाशित : चैत्र १५, २०७७ २१:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×