कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बागलुङ झडप : जिल्ला प्रहरीको अनुसन्धान टोली घटनास्थलतर्फ

स्थानीयका अनुसार हराएको भनिएका केही मानिस सम्पर्कमा आएका छन्
प्रकाश बराल

बागलुङ — होली खेल्ने क्रममा झडप हुँदा दुई युवकको मृत्यु भएको प्रकरणमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको टोली सोमबार बिहान घटनास्थलतर्फ लागेको छ । जिल्ला प्रहरीप्रमुख कृष्णबहादुर पल्ली मगरसहित ११ जनाको टोली खटिएको हो । 

आइतबार होली मेलामा झडप हुँदा निसीखोला गाउँपालिका–७ का ३६ वर्षका प्रकाश कुँवर र ३४ वर्षका दीपक परियारको मृत्यु भएको छ ।

शव सोमबार पोस्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले बताए ।

झडपका क्रममा बागलुङ, गुल्मी र प्युठानको सिमाना बलधुरेमा भिरबाट खसेर दुई युवकले ज्यान गुमाएका हुन् । उक्त घटनामा केही घाइतेसमेत भएको अनुमान छ ।

‘सामूहिक झडपले घटना भएकाले अनुसन्धान गर्न प्रहरी उपरीक्षकसहित ११ जनाको टोली घटनास्थल गएको हो,’ हवारीले भने, ‘दुर्गम स्थल भएकाले सूचना संकलनमा समेत कठिनाइ भएको हो ।’

बडिगाड गाउँपालिका–१० दर्लिङ र निसीखोला गाउँपालिका–७ को राजकुतका युवाबीच झडप भएको थियो । घटनास्थल सदरमुकामदेखि १ सय किमी पश्चिममा पर्छ । हराएको भनिएका केही मानिस सम्पर्कमा आउन थालेको स्थानीयले बताए ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङ र हरिचौरको टोली आइतबार राति नै घटनास्थल पुगिसकेको छ ।

प्रशासनले केही दिनअघि नै होलीमा मेला–महोत्सव नगर्न निर्देशन जारी गरेको थियो । तर उक्त मेलामा ६ सयभन्दा बढी मानिस भेला भएका थिए । समन्वयबिना मेला गर्दा घटना भएको देखिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । ‘समन्वयबिनै कार्यक्रम गरिएको रहेछ, छानबिन गर्छौं,’ कार्कीले भने, ‘दु:खद घटना भएकाले पहिलो काम अनुसन्धान हो, त्यसपछि कारबाही प्रक्रिया थाल्छौं ।’

प्रकाशित : चैत्र १६, २०७७ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?