पोखरा विमानस्थलको म्याद ६ महिना थप्ने तयारी

उपकरण जडान र परीक्षणका लागि विदेशी प्राविधिक आउनुपर्छ तर भिसा नीतिका कारण आउन पाएनन्
दीपक परियार

पोखरा — निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा नसकिने भएको छ । ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले म्याद थपका लागि निवेदन दिने तयारी गरेको छ । सन् २०२१ जुन १० मा सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनामा ठेकेदार कम्पनीले ६ महिना म्याद थपको निवेदन दिने तयारी गरेको हो ।

पोखरा विमानस्थलको म्याद ६ महिना थप्ने तयारी

हाल विमानस्थलको ७२ प्रतिशत काम सकिएको आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । तोकिएको म्याद सकिन ७५ दिन बाँकी छ । यो अवधिमा बाँकी काम सक्न सम्भव छैन । अहिलेकै गतिमा काम भए निर्माण पूरा हुन आगामी डिसेम्बरसम्म पुग्नुपर्छ । ‘कोरोना महामारी नभएको भए ६ महिना अगावै सक्ने योजना थियो,’ उनले भने, ‘बीचमा काम एकदम सुस्त भएकाले तोकिएको समयमा सक्न मुस्किल छ ।’ विमानस्थलमा १८ प्रतिशत उपकरण र १० प्रतिशत सिभिलको काम बाँकी छ । विमानस्थललाई आवश्यक उपकरणमध्ये चीनबाट आउनुपर्ने सामान आइसकेको छ । अमेरिका, युरोप र अस्ट्रेलियाबाट आउनुपर्ने सामग्री आइपुगेको छैन । उपकरण जडान र परीक्षणका लागि सम्बन्धित कम्पनीकै जनशक्ति आउनुपर्छ । स्पष्ट भिसा नीतिको समस्याले तत्काल ती कामदार आउने अवस्था नरहेको आयोजना प्रमुख मुनकर्मीले बताए । यिनै विविध कारणले ठेकेदार कम्पनीले म्याद थपको निवेदन दिने तयारी गरेको हो ।

विमानस्थलको १४ वटा बिल्डिङ निर्माण भएर फिनिसिङको काम बाँकी छ । हालसम्म २ हजार ५ सय मिटर लामो रन–वे, ट्याक्सी–वे, टर्मिनल बिल्डिङ, टावर, ह्यांगर, एप्रोन, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग (एक्सेस रोड), सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्टको काम सकिएको छ । हाल १ सय ६६ चिनियाँ र ५ सय ४८ नेपाली गरी ७ सय १४ कामदार निर्माणमा खटिएका छन् ।

इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) मोडलमा निर्माणाधीन विमानस्थलमा हाल डेडिकेटेड फिडर निर्माणको काम भइरहेको छ । विमानस्थलभित्र फ्युल स्टेसन बनाउन नेपाल आयल निगमले चैत २ मा टेन्डर आह्वान गरेको छ । निगमले ट्यांक फाउन्डेसन, पम्प सेड, ग्यान्ट्री सेड, फायर पम्प सेड, प्रशासकीय भवन, प्रयोगशाला भवन, बाउन्ड्री पर्खाल, भण्डारण ट्यांक, पाइपिङ, पम्पिङ, फिल्ट्रेसन प्रणाली, अग्नि नियन्त्रण प्रणाली, अन्य मेकानिकल र विद्युतीय काम गर्नेछ । फ्युल स्टेसन बनाउन विमानस्थलले जग्गा उपलब्ध गराइसकेको छ । उडान हुने बेलासम्म फ्युल स्टेसन निर्माण नसकिए गाडीबाट ल्याएर पनि उपलब्ध गराउने आश्वासन निगमले दिएको छ ।

विमानस्थलको पूर्वपट्टि उडान र अवतरणमा अवरोध पुर्‍याउने डाँडा कटान गर्न बाटो खुलेको छ । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको फागुन १३ को बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई डाँडा काट्न निर्देशन दियो । निर्देशनबमोजिम विमानस्थलबाट डेढ किलोमिटर दक्षिणपूर्वमा रहेको बानियाँपाखा (रिठ्ठेपानी) डाँडा कटान ६ महिनाभित्र गर्नुपर्छ । संसदीय समितिको निर्देशनपछि फागुन २० मा भएको मन्त्रिपरिषद् बैठकले रिठ्ठेपानी डाँडाका रुख कटान र पोल हटाउन अनुमति दियो । वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले डाँडाका रुख कटानका लागि अनुमति दिएको हो । आयोजनाको डिजाइनमा उक्त डाँडा ४० मिटर काट्नुपर्छ । निजी जग्गाधनीले जग्गा कटान गरिरहेका छन् । सरकारी जग्गा कटान भने सुरु भएको छैन ।

निर्णयको प्रति आयोजनालाई प्राप्त भइनसकेको मुनकर्मीले बताए । ‘ससर्त छ कि निःसर्त छ, निर्णय हेरेपछि मात्रै थाहा हुन्छ,’ उनले भने, ‘निःसर्त भयो भने एक साताभित्र काम थाल्छौं ।’ प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गर्नुपरे डाँडा कटान सुरु गर्न तीन महिनासम्म लाग्न सक्ने उनी बताउँछन् । डिभिजन वन कार्यालय कास्कीले कटान गर्नुपर्ने रुखको ट्यागिङ गरिसकेको छ । कटुस, चिलाउनेलगायत सानाठूला गरी ६ सय रुख काट्नुपर्ने वन कार्यालयका प्रमुख केदार बरालको भनाइ छ । मन्त्रिपरिषद्ले गरेको निर्णय वन मन्त्रालय, वन मन्त्रालयले वन विभागमा पठाउँछ । वन विभाग र प्राधिकरणबीच सम्झौता भएपछि विभागले डिभिजन वन कार्यालयलाई निर्देशन पठाउँछ । कार्यालयले आयोजनालाई कटान आदेश दिन्छ ।

प्रकाशित : चैत्र १६, २०७७ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?