बागलुङमा होली खेल्ने क्रममा झडप, दुई युवाको मृत्यु

प्रकाश बराल

बागलुङ — होली खेल्ने क्रममा झगडा हुँदा बागलुङ, गुल्मी र प्युठानको सिमानाको बलधुरेमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ ।

भीरबाट खसेर उनीहरुको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले पुष्टि गरे । मृतकको नाम भने खुलेको छैन ।

बडिगाड गाउँपालिका १० दर्लिङ र निसीखोला गाउँपालिका ७ को राजकुतका युवाबीच झगडा हुँदा प्रकाश कुँवर र दिपक परियार भीरबाट खसेको स्थानीयले बताए पनि प्रजिअ कार्कीले पुष्टि भइनसकेको बताएका हुन् । उनले भेटिएका मृतक उनीहरु हुन् वा अन्य भन्ने नखुलेको बताए ।

दुवै युवालाई अर्को समूहले कुटपिटपछि भीरबाट खसालेको भन्ने थाह पाएपछि उद्धारका लागि प्रहरी खटाएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले बताए । घटनास्थल सदरमुकाम देखि १ सय किमि पश्चिममा पर्छ । आइतबार दिउँसो घटना भए पनि बेलुकी ९ बजेमात्र प्रहरी घटनास्थल पुगेको हो । घटनामा भागाभाग भएका १५ जना सम्पर्क बाहिर रहेको स्थानीयले बताए ।

मेलामा होली खेल्ने निहुँ भए पनि राजनीतिक कारण भएको कांग्रेस क्षेत्रीय सभापति द्रोण कुँवरले बताए । बेपत्ता भएका कुँवर कांग्रेस जिल्ला सदस्य हुन् । अर्का पनि कांग्रेस कार्यकर्ता भएको र घटनामा संलग्न अर्को पक्ष माओवादी निकट भएको उनले बताए ।


प्रकाशित : चैत्र १५, २०७७ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्

डेढ महिनापछि ६ संक्रमित आइसोलेसनमा

प्रकाश बराल

बागलुङ — डेढ महिना खाली भएको धौलागिरि अस्पतालको आइसोलेसनमा ६ जना कोरोना संक्रमित भर्ना भएका छन् । बहिरंग कक्ष (ओपीडी) मा आएका बिरामीलाई शंका लागेर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म ज्वरो र रुघाखोकीका बिरामी उपचारका लागि आइरहेका मेसु डा. शैलेन्द्र पोखरेलले बताए । लक्षणसहितका संक्रमित बढ्न थाले पनि जिल्लामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना र संक्रमण नियन्त्रणको तयारी भने देखिँदैन ।

बढी भीडभाड हुने सरकारी कार्यालय, सार्वजनिक सवारीसधान मात्रै होइन, अस्पतालमा समेत सुरक्षा सावधानी अपनाइएको छैन । ‘भीडमा पनि मास्क लगाएको देखिँदैन, फेरि जोखिम बढ्ने भयो,’ बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले भने, ‘प्रशासनकै कडाइ आवश्यक देखियो ।’

डा. पोखरेलले हरेक व्यक्ति आफैं सचेत हुनुपर्नेमा जोड दिए । अस्पतालमा सबै स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिने पनि उनले बताए । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जिल्ला भित्रिने व्यक्तिको नामावली उतार्ने, विदेशबाट आएको भए अनिवार्य पीसीआर गर्ने, भीड गर्न नदिने काम पुनः थालेको बताए ।

‘यसअघिका सबै क्वारेन्टाइन सक्रिय बनाउने भनेका छौं,’ कार्कीले भने, ‘विकल्पको खोजी पनि भइरहेको छ ।’ संक्रमण बढ्ने जोखिमका बीच होलीमा भीडभाड गर्न रोक लगाइएको पनि उनले बताए । ‘मास्क नलगाए संक्रामक रोग ऐनअनुसार कारबाही हुनेछ,’ उनले भने, ‘पछिल्लो पटकको कोरोना लहरमा मृत्युदर पनि उच्च भएकोले यसपटक हेलचेक्र्याइँ गर्न दिँदैनौं ।’ भारत र तेस्रो मुलुकमा आउनेलाई जिल्ला प्रवेशद्वारमा जाँच गरी अनिवार्य क्वारेन्टाइनमा राखिने पनि कार्कीले बताए ।

धौलागिरि अस्पतालमा ३० शय्याको मात्रै आइसोलेसन केन्द्र छ । यसअघि आइसोलेसन बनाइएका धौलागिरि बहुमुखी क्याम्पस र बहिरा विद्यालयमा कक्षा सञ्चालन भइरहेको छ । नियमित परीक्षासमेत चलेकोले संक्रमण बढ्नासाथ आइसोलेसन राख्ने स्थानको समेत अभाव हुन सक्ने स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौ बताउँछन् ।

‘बागलुङमा क्षयरोगका बिरामी पनि धेरै देखिएकाले कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ,’ गुरौले भने, ‘त्यस्ता बिरामीलाई कोरोना संक्रमण बढी हुन्छ ।’ हरेक स्वास्थ्य चौकी तहमै कम्तीमा २ सय शय्याको आइसोलेसन बनाइने उनले जनाए ।

प्रकाशित : चैत्र १३, २०७७ १२:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×