डेढ महिनापछि ६ संक्रमित आइसोलेसनमा- गण्डकी - कान्तिपुर समाचार

डेढ महिनापछि ६ संक्रमित आइसोलेसनमा

प्रकाश बराल

बागलुङ — डेढ महिना खाली भएको धौलागिरि अस्पतालको आइसोलेसनमा ६ जना कोरोना संक्रमित भर्ना भएका छन् । बहिरंग कक्ष (ओपीडी) मा आएका बिरामीलाई शंका लागेर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म ज्वरो र रुघाखोकीका बिरामी उपचारका लागि आइरहेका मेसु डा. शैलेन्द्र पोखरेलले बताए । लक्षणसहितका संक्रमित बढ्न थाले पनि जिल्लामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना र संक्रमण नियन्त्रणको तयारी भने देखिँदैन ।

बढी भीडभाड हुने सरकारी कार्यालय, सार्वजनिक सवारीसधान मात्रै होइन, अस्पतालमा समेत सुरक्षा सावधानी अपनाइएको छैन । ‘भीडमा पनि मास्क लगाएको देखिँदैन, फेरि जोखिम बढ्ने भयो,’ बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले भने, ‘प्रशासनकै कडाइ आवश्यक देखियो ।’

डा. पोखरेलले हरेक व्यक्ति आफैं सचेत हुनुपर्नेमा जोड दिए । अस्पतालमा सबै स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिने पनि उनले बताए । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जिल्ला भित्रिने व्यक्तिको नामावली उतार्ने, विदेशबाट आएको भए अनिवार्य पीसीआर गर्ने, भीड गर्न नदिने काम पुनः थालेको बताए ।

‘यसअघिका सबै क्वारेन्टाइन सक्रिय बनाउने भनेका छौं,’ कार्कीले भने, ‘विकल्पको खोजी पनि भइरहेको छ ।’ संक्रमण बढ्ने जोखिमका बीच होलीमा भीडभाड गर्न रोक लगाइएको पनि उनले बताए । ‘मास्क नलगाए संक्रामक रोग ऐनअनुसार कारबाही हुनेछ,’ उनले भने, ‘पछिल्लो पटकको कोरोना लहरमा मृत्युदर पनि उच्च भएकोले यसपटक हेलचेक्र्याइँ गर्न दिँदैनौं ।’ भारत र तेस्रो मुलुकमा आउनेलाई जिल्ला प्रवेशद्वारमा जाँच गरी अनिवार्य क्वारेन्टाइनमा राखिने पनि कार्कीले बताए ।

धौलागिरि अस्पतालमा ३० शय्याको मात्रै आइसोलेसन केन्द्र छ । यसअघि आइसोलेसन बनाइएका धौलागिरि बहुमुखी क्याम्पस र बहिरा विद्यालयमा कक्षा सञ्चालन भइरहेको छ । नियमित परीक्षासमेत चलेकोले संक्रमण बढ्नासाथ आइसोलेसन राख्ने स्थानको समेत अभाव हुन सक्ने स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौ बताउँछन् ।

‘बागलुङमा क्षयरोगका बिरामी पनि धेरै देखिएकाले कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ,’ गुरौले भने, ‘त्यस्ता बिरामीलाई कोरोना संक्रमण बढी हुन्छ ।’ हरेक स्वास्थ्य चौकी तहमै कम्तीमा २ सय शय्याको आइसोलेसन बनाइने उनले जनाए ।

प्रकाशित : चैत्र १३, २०७७ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्

मुम्बईको कोरोना अस्पतालमा आगलागी : कम्तीमा ९ जनाको मृत्यु

एजेन्सी

मुम्बई — भारतको मुम्बईमा एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ । 

तस्बिर : रोयटर्स

मुम्बईको भान्डुप क्षेत्रको ड्रिम्स मलमा रहेको सनराइज अस्पतालमा शुक्रबार बिहान भएको आगलागी भएको मुम्बई मिररले जनाएको छ । मृत्यु हुनेहरु कोभिड–१९ बिरामी हुन् वा होइनन् भन्ने खुलेको छैन ।

ड्रिम्स मलको तेस्रो तलामा रहेको सनराइज अस्पताल कोरोना संक्रमतिका लागि डेडिकेटेड अस्पताल हो । अस्पतालमा रहेका बिरामीको उद्धार गरी अर्को अस्पतालमा सारिएको मुम्बई प्रहरीले जनाएको छ । त्यस्तै उनीहरुलाई अक्सिजन सपोर्टमा राखिएको पनि जनाइएको छ ।

मुम्बई महानगरका मेयर किशोरी पेड्नेकरले अस्पतालमा रहेका ७० जना बिरामीलाई नजिकै रहेको अर्को अस्पतालमा सारिएको बताइन् । आगलागी कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको पनि उनले बताइन् । कोरोना महामारी फैलिएपछि गत वर्षबाट मात्रै उक्त अस्पताल सञ्चालनमा आएको थियो ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण तीव्र बनेको छ । त्यसमध्ये पनि महाराष्ट्रको राजधानी मुम्बईमा कोरोना संक्रमण उच्च छ । बिहीबार मात्रै मुम्बईमा ५ हजार ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भारतमा बिहीबार थप ५९ हजार १ सय १८ जनामा कोरोना देखिएको छ भने २ सय ५७ जनाको मृत्यु भएको छ ।

प्रकाशित : चैत्र १३, २०७७ १२:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×