वन्यजन्तु बस्ती पस्न नदिन जंगलमै पोखरी

सम्झना रसाइली

तनहुँ — वन्यजन्तुलाई वनमै पानीको व्यवस्थापन गर्ने उद्देश्यले जिल्लाका सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण गरिएको छ । पानी र आहाराको खोजीमा विशेष गरी चितुवा बस्ती आएर बालबालिकालाई आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालयले भानु नगरपालिकाको वनक्षेत्रमा पोखरी बनाएको हो ।

वन्यजन्तु बस्ती पस्न नदिन जंगलमै पोखरी

भानुको सामुदायिक वन क्षेत्रमा १४ वटा पोखरी बनाइएका छन् । जंगलमा पानीको स्रोत मासिँदै गएपछि वन्यजन्तु पानी खोज्दै मानव बस्तीमा आउने भएकाले प्रत्येक सामुदायिक वनमा पोखरी बनाइएको डिभिजन वन अधिकृत कोमलराज काफ्लेले बताए । ‘भानुमा पानी र आहाराको खोजीमा चितुवा बस्ती छिर्न थाले,’ उनले भने, ‘चितुवालाई पासोमा पारेर अन्यत्र स्थानान्तरण गर्नु समाधान नभएको हुँदा उनीहरूको वासस्थानमै पानीका लागि माटो र ढुंगाको गाह्रो लगाएर पोखरी खनिएको हो ।’

करिब ११ लाख रुपैयाँको लागतमा १४ पोखरी निर्माण गरिएको र एउटा पोखरी निर्माणाधीन अवस्थामा रहेको कार्यालयले जनाएको छ । वन कार्यालयलाई साथ दिँदै अहिले स्थानीय तहले पनि आफ्नै सक्रियतामा सामुदायिक वनमा पोखरी निर्माण गरिरहेका छन् । बन्दीपुर, आँबुखैरेनी गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाले पनि सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण कार्य अगाडि बढाएका छन् ।

शुक्लागण्डकी–१२ ले वडाका सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण गरेको वडाध्यक्ष मनराज गुरुङले बताए । उनले भने, ‘घरेलु तथा वनजंगलमा हुने जीवजन्तुलाई पानी खुवाउने उद्देश्यले वडाका ४ सामुदायिक वन र एक गाउँमा पोखरी निर्माण गरिएको छ ।’ हालसम्म जंगली जनावरले मानिसमाथि आक्रमण नगरे पनि सम्भावित जोखिम ध्यानमा राख्दै वन्यजन्तुलाई जंगलमै व्यवस्थापन गर्न लागिएको उनले बताए ।

आँबुखैरेनीले एक वडा, एक पोखरीको अभियान सुरु गरेको छ । पर्यावरण प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले प्रत्येक वडामा पोखरी र चौतारी निर्माण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले बताए । बन्दीपुरले ५ सामुदायिक वनक्षेत्रमा पोखरी निर्माण गरेको छ ।

जिल्लामा बस्तीमै चितुवालगायत वन्यजन्तु छिरेर स्थानीयलाई अक्रमण गर्दै आएका छन् । २०७४ फागुनयता चितुवाको आक्रमणबाट १० बालबालिकाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित : चैत्र ६, २०७७ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?