सडक स्तरोन्नतिको आश्वासन मात्रै

हिउँदमा धूलो र वर्षामा हिलोमैलोबाट पीडित नागरिकका माग सरकारले सुनुवाइ नगरेको गुनासो
आश गुरुङ

लमजुङ — उत्तरी लमजुङवासीले सडक स्तरोन्नति र कालोपत्रको माग गर्दै फागुन २६, २७ र २८ गते बेंसीसहर–चामे सडक चक्काचाम घोषणा गरे । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सडक विभागको टोलीलाई बोलाएर २५ गते छलफल गरे ।

सडक स्तरोन्नतिको आश्वासन मात्रै

प्रशासन, सडक विभाग र स्थानीयबीच तत्काल स्तरोन्नतिको काम अगाडि बढाउने र कालोपत्रका लागि टेन्डर आह्वान गर्ने सहमति भयो । पाँच दिनको अल्टिमेटम दिएर फागुन २० गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाइएको थियो । तत्कालका लागि आन्दोलन स्थगन भयो ।

सडक स्तरोन्नति र कालोपत्रको माग गर्दै स्थानीय बर्सेनि सडक डिभिजन दमौली तनहुँ, विभाग, मन्त्रालय जाने र आश्वासन लिएर फर्किन बाध्य छन् । सांसद र नेतालाई स्थानीयले दैनिक फोन गर्छन् । उनीहरूका कुरा मन्त्रीलाई सुनाउँछन् । आश्वासन पनि पाउँछन् । तर कार्यान्वयन हुँदैनन् । ‘हामी बर्सेनि डेलिगेसन जान्छौं । यही वर्ष हुन्छ मात्रै भनेर आश्वासन दिन्छन् । तर हामी सधैं धूलो र हिलोमैलो खान बाध्य छौं,’ मर्स्याङ्दी गाउँपालिका–३ खुदीका सूर्यप्रकाश कतिलाले भने ।

मर्स्याङ्दी–७ उस्ताका पूर्वसांसद जमिन्द्रमान घलेका अनुसार उत्तरी क्षेत्रका बासिन्दाको दैनिकी सहज बनाउन स्थानीयले २०४९ मा बेंसीसहर–खुदी सडकको निर्माण थाले । तत्कालीन जिल्ला विकास समितिले ५० हजार रुपैयाँ बजेट छट्यायो । केन्द्र सरकारबाट चामल मागेर सडक बनाउन खटिए । दुई वर्षको प्रयासपछि खुदीसम्म सडकको ट्र्याक खुल्यो । स्थानीयको मागअनुसार २०५२ देखि हिमाली जिल्ला मनाङसम्म सडक पुर्‍याउने भन्दै सडक विभागले सडक खन्न थाल्यो । बेंसीसहरबाट मर्स्याङ्दी नदीको बायाँ किनार हुँदै खुदी क्षेत्रसम्म गाडी गुड्यो । सडकमा उडेको धूलोले समस्या बनाइरह्यो । सशस्त्र द्वन्द्वको कारण देखाउँदै आर्थिक वर्ष २०५८ देखि तत्कालीन शाही नेपाली सेनालाई सडक निर्माणको जिम्मा दिइयो । उसले २०६९ मा मनाङ सदरमुकाम चामेमा सडकको ट्र्याक खोल्यो । तर सडक निर्माण भएको साढे २ दशकयता मर्स्याङ्दी गाउँपालिबासीले दिनदिनै धूलो खानुपरेको स्थानीयको गुनासो छ ।

हिउँदमा दिनदिनै धूलो र वर्षामा हिलोमैलो खानुपर्ने तर सरकारले नागरिकको माग सुनुवाइ नगरेको भन्दै स्थानीयले गत वर्ष बेंसीसहर–चामे सडक सरोकार, समन्वय तथा संघर्ष समिति निर्माण गर्‍यो । ‘सडक मर्मत हुन्छ, स्तरोन्नति हुन्छ, कालोपत्र हुन्छ भनेर सधैं आश्वासन मात्रै पायौं । काम भने हुँदैन,’ समितिका सचिव नवीनराज कुइँकेलले भने, ‘बाध्य भएर संघर्ष गर्दै आएका छौं । अहिले स्तरोन्नति सुरु गरेको जस्तो देखिएको छ । हेरौं कति दिन रहन्छ ।’

चालु आर्थिक वर्षमै बेंसीसहर–चामे सडक कालोपत्र गर्ने गरी तत्काल टेन्डर प्रक्रिया अघि बढाउन बेंसीसहर नगरपालिका–६ को पुमाखोला, बेलौतीबिसौना, मर्स्याङ्दी–३ खुदीखोला, अर्खलेबेंसीलगायत स्थानमा पक्की पुल निर्माणका लागि टेन्डर आह्वान गर्नुपर्ने उनीहरूको माग छ । बेंसीसहर–६ बेलौतीबिसौना नजिकको उत्तिसघारी खरखरे पहिरोको दीर्घकालीन समाधानका लागि काम अघि बढाउन, तत्कालका लागि यस स्थानमा सडक सुधार गर्न, पुरानो ठेक्काअन्तर्गत विभिन्न स्थानमा सडक मर्मत गरिए पनि आधुरा रहेकाले पुरानो ठेक्का स्थगन गरी नयाँ काम अघि बढाउनुपर्ने स्थानीयको माग रहेको समितिका अध्यक्ष कतिलाले बताए ।

आगामी वैशाख–जेठदेखि कालोपत्रको काम सुरु गर्न मिल्ने गरी प्रक्रिया अघि बढेको डुम्रे–बेंसीसहर–चामे सडक आयोजना प्रमुख सिनियर डिभिजन इन्जिनियर अमितकुमार श्रेष्ठको भनाइ छ । ‘हामी बेंसीसहरदेखि खुदीसम्मको ७ दशमलव २६ किलोमिटर कालोपत्रका लागि बजेट स्वीकृतका लागि दौडधुपमा छौं । मन्त्रालयबाट फाइल राष्ट्रिय योजना आयोग हुँदै अर्थ मन्त्रालयमा पुगेको छ । प्रमाणित गरेपछि हामी टेन्डर आह्वान गर्छौं’ उनले भने । तनहुँको डुम्रेदेखि चाम्बाससम्म आठ किलोमिटर डबल लेन सडकका लागि ठेक्का मूल्यांकन भइरहेको उनले बताए । चालु आर्थिक वर्षका लागि बजेट कुल २३ करोड ९८ लाख रहेकामा डबल लेन तथा मर्मतका लागि उक्त बजेट खर्च हुने उनको भनाइ छ । विनियोजित बजेटले केही गर्न नसक्ने भएपछि ५३ करोडको सहमतिका लागि फाइल पेस गरिएको उनको भनाइ छ । ‘टेन्डर आह्वान गर्छौं । चैतमा ठेक्कापट्टा गर्छौं । वैशाख–जेठदेखि कालोपत्रको काम सुरु हुने हिसाबले लागिपरेका छौं,’ उनले भने ।

सडक विभागबाट बेंसीसहर–चामे सडकमा तत्काल गर्नुपर्ने स्तरोन्नतिको काम सुरु भएको, कालोपत्रेका लागि बहुवर्षे ठेक्काका लागि फाइल अर्थ मन्त्रालय पुगेको र केही दिनमा रिजल्ट आउने, पुमा खोलामा बेलिब्रिज राख्न टेन्डर भएको र जेठसम्म सक्ने लक्ष्य रहेको, बेंसीसहरदेखि मनाङसम्मका खोला र नदीमा १६ वटा पुल निर्माणको टेन्डर प्रक्रियामा रहेको आश्वासन स्थानीयले पाएका छन् । तर स्तरोन्नतिको केही कामबाहेक अन्य काम देखिने गरी अघि नबढेको स्थानीयको गुनासो छ ।

पूर्वसांसद घलेका अनुसार सडकको स्तरोन्नति विगतमा सोचे जस्तो भएन । ‘हामी आफैं कति पटक डेलिगेसन गएका छौं । कतिपटक सिंहदरबार गएका छौं । मन्त्री, प्रधानमन्त्रीलाई भनेका छौं,’ उनले भने, ‘यस पटक भनेर होइन, फाइल बोकेरै हिँडेका छौं । अब वैशाख–जेठबाट कालोपत्रे सुरु हुन्छ भन्ने अश्वासन पाएका छौं । के हुन्छ ? हेरौं ।’ सदरमकाम बेंसीसहरदेखि मनाङ सदरमकाम चामे जोड्ने एक मात्र बेंसीसहर–चामे सडक निर्माण सुरु भएयता केही ठाउँमा मर्मत भए पनि स्तरोन्नति हुन नसकेको स्थानीयको गुनासो छ । २०५१ सालदेखि निमाण सुरु भएको सडक २०७७ सालसम्म आइपुग्दा झन्झन् बिग्रँदो अवस्थामा रहेको स्थानीयको गुनासो छ ।

प्रकाशित : चैत्र १, २०७७ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?