गोरखामा कोरोना खोप अपुग- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखामा कोरोना खोप अपुग

हरिराम उप्रेती

गोरखा — खोप अभियान नसकिँदै गोरखामा कोरोना खोप अभाव भएको छ । खोप अभाव भएपछि खोप केन्द्र पुगेका वृद्धवृद्धा मंगलबार निराश बनेर फर्किएका छन् ।

कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत २३ गतेबाट २५ गतेसम्म यहाँका दुई नगरपालिका र चार गाउँपालिकाका ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाउने अभियान सञ्चालनमा छ ।

खोप अभावले ६ वटै स्थानीय तहमा अभियान प्रभावित बनेको छ । गोरखा अस्पतालमा खोप लगाउन आएका १० जनाभन्दा बढी वृद्धवृद्धा खोप नलगाई फर्किएका छन् ।

सहिद लखन गाउँपालिकामा पनि खोप अभावले मंगलबार अभियान प्रभावित बन्यो । मंगलबार गाउँपालिकाभरिका ७० जनालाई पुग्ने खोप मात्र रहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले बताए । ‘७० जनालाई खोप लगाउन बोलाएका छौँ,’ उनले भने,‘धेरैजसो स्वास्थ्य संस्थामा खोप अभाव भएपछि खोप केन्द्र नआउन टोल–टोलमा हिजो खबर पुर्‍याएका छौँ ।’

आइतबार र सोमबार सहिद लखनमा ६५ वर्ष उमेर माथिका १३ सय जनालाई खोप लगाएको उनले बताए । करिब एक हजार जनालाई भने खोप अभाव भएको श्रेष्ठको भनाइ छ । ‘सोमबार नै खोप पुगेको थिएन, एउटा केन्द्रको खोप अर्को केन्द्रमा पुर्‍याएर हिजो अपुग हुन दिएनौँ, आज अपुग हुने देखेपछि स्वास्थ्य कार्यालयसँग समन्वय गरेर टोलमा जानकारी पुर्‍याएका थियौँ,’ उनले भने । खबर नपाएका केही वृद्धवृद्धा भने खोप केन्द्र आएर फर्किएको उनले बताए । ‘केहीले हामीलाई झुक्याउने भन्दै रिसाएर फर्किएनुभएको छ,’ उनले भने ।

गण्डकी गाउँपालिकाअन्तर्गतको २, ७ र ८ नम्बर वडामा खोप लगाउन आएका वृद्धवृद्धालाई फर्काउनुपर्ने अवस्था आएको गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए । ६ स्थानीय तहका अधिकांश खोप केन्द्रमा मंगलबार खोप अभाव भएको छ ।

गोरखामा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय गोरखाका निमित्त प्रमुख नरजंग ठकुरीले बताए । पहिलो चरणअन्तर्गत पालुङटार र गोरखा नगरपालिका, सहिद लखन, गण्डकी, सिरानचोक र अजिरकोट गाउँपालिकामा अभियान सञ्चालनमा छ । यी स्थानीय तहका ६५ वर्ष माथिका १० हजार तीन सय ४३ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो । आइतबार र सोमबार ६५ वर्ष माथिका ८ हजार ११४ जनालाई खोप लगाइएको छ । ‘१२ सय भाइल डोज आएको थियो, अब ७० भाइल छ,’ उनले भने, ‘७० भाइल खोप आज लगाइन्छ, झन्डै १९७ भाइल डोज अपुग देखिन्छ ।’ खोप अभावबारे प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयमा जानकारी गराइएको उनले बताए । अपुग खोप ल्याउन पहल भइरहेको उनले बताए ।

फागुन २७ देखि २९ सम्म भिमसेन थापा, बारपाक सुलिकोट, आरुघाट, धार्चे र चमुनुब्री गाउपाँलिकामा खोप अभियान सञ्चालनको तयारी छ । ती गाउँपालिकाका लागि भने ३ सय ८८ भाइल खोप स्टक राखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रकाशित : फाल्गुन २५, २०७७ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्

सर्वोच्चले मागभन्दा बढ्ता बोल्यो : वरिष्ठ अधिवक्ता शाक्य

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगको निर्णयविरूद्ध ऋषि कट्टेलले दिएको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि यसको राजनीतिक प्रभावका विषयमा अनेक अड्कलबाजी भइरहेका छन् ।

अदालतको फैसला कार्यान्वयनमै जटिलता पनि औंल्याउन थालिएको छ । यसै सन्दर्भमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसँग कान्तिपुरले गरेको कुराकानी :

कुराकानी पढ्न : सर्वोच्चले मागभन्दा बढ्ता बोल्यो : वरिष्ठ अधिवक्ता शाक्य

प्रकाशित : फाल्गुन २५, २०७७ १५:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×