कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरलामा सुक्खा बन्दरगाह सम्भाव्यता अध्ययन

घनश्याम खड्का

म्याग्दी — मुस्ताङस्थित नेपाल–चीनबीचको २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकामा सुक्खा बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन सुरु भएको छ ।

कोरलामा सुक्खा बन्दरगाह सम्भाव्यता अध्ययन

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डले बन्दरगाह बनाउन भौगोलिक अवस्था पहिचान, बन्दरगाह निर्माणको विस्तृत खाका र लागत अनुमान (डीपीआर) गर्ने काम थालेको हो । नेपाल–चीनबीच दुई वर्षअघि हस्ताक्षर भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार चीनका चार सामुद्रिक तथा तीन सुक्खा बन्दरगाहसम्म आवतजावत गर्नेमध्येको कोरला नाकामा सुक्खा बन्दरगाह बन्न लागेको हो ।

‘बन्दरगाह बनाउन सम्भाव्यता अध्ययनका लागि आएका हौं । यहाँको भौगोलिक अवस्था, पूर्वाधार एवं व्यापार तथा ढुवानी संरचनाको खाका र लागत अनुमान गरी रिपोर्ट दिने जिम्मेवारी छ,’ कार्यस्थलमा रहेको परामर्शदाता सितारा कन्सल्टेन्सीका निर्देशक टीका कोइरालाले भने, ‘भन्सारका नाममा कोरला नाकाको दशगजा छाडेर प्राप्त एक हजार रोपनी जग्गा र १२ किमि तल नेचुङ गरी दुई ठाउँमा सम्भाव्यता अध्ययन गरी रिपोर्ट बुझाउँछौं ।’

कोरला नाकामा चिनियाँ पक्षले भने दशगजा छाडेर आधुनिक सूचाना प्रविधिजडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, एनिमल क्वारेन्टाइन, कर्मचारी आवास गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेनर पार्किङ, सुरक्षा प्रबन्धलगायत पूर्वाधार बनाइसकेको छ । यसलाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्ने गरी बन्दरगाह निर्माणको सम्भाव्यता अध्ययन गरिने भएको हो । यो नाका कोरोनाको संक्रमण फैलिन थालेपछि पछिल्लो समय बन्द छ ।

‘मुस्ताङवासीको माग र गण्डकी प्रदेश सरकारको दबाबले बन्दरगाहको सभ्याव्यता अध्ययन सुरु भएको छ । केही वर्षमै निर्माण भइसक्ने हाम्रो आशा छ,’ मुस्ताङबाट प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले भने, ‘अब हाम्रो ध्यान बेनी–जोमसोम–कोरोला सडकको स्तरोन्नतिमा भइरहेको ढिलासुस्ती हटाउनेतर्फ छ ।’

प्रकाशित : फाल्गुन १८, २०७७ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?