३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दमौली कारागारका २५ कैदीबन्दीको स्थानान्तरण

नाइके छनोटको विषयमा झडप
सम्झना रसाइली

तनहुँ — नाइके नियुक्तिको विषयलाई लिएर दमौली कारागारमा आइतबार साँझ झडप हुँदा ५ जना घाइते भएका छन् । कारागारमा दुई समूहबीच भएको झडपलाई व्यवस्थापन गर्न भन्दै जिल्ला प्रशासनले २५ जना कैदीबन्दीलाई आइतबार राति नै अन्यत्र सारेको छ ।

दमौली कारागारका २५ कैदीबन्दीको स्थानान्तरण

झडपमा संलग्नलाई सुरक्षा जोखिमका कारण स्थानान्तरण गर्ने निर्णय भएको निमित्त जेलर नारायण अधिकारीले बताए । प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक अरुण पौडेलसहित कारागारमा आइतबार अबेरसम्म बसेको सुरक्षा अधिकारीको बैठकले उनीहरुलाई अन्यत्र पठाउने निर्णय गरेको थियो ।

झडपमा परी घाइते भएकालाई दमौली अस्पतालमा उपचार पछि पुन: कारागार ल्याइएको छ । घाइते हुने सबैको टाउकोमा चोट लागेको छ । बाँस, कराइ लगायतका वस्तुले आफूहरु माथि आक्रमण भएको घाइते कैदी नाइके धनबहादुर शाहीले बताए । गत कात्तिकमा स्थानान्तरण भएर आएका नयाँ कैदीबन्दीको समूह भित्रिएयता त्यहाँ गुटबन्दी भएको स्रोतले बताएको छ ।

कारागारको नयाँ भवनमा सरुवा भएर आएका पाल्पा, काठमाडौंसहित विभिन्न ठाउँका कैदीबन्दी र स्थानीय समूह आपसमा भिडेका थिए । नाइके नियुक्तिमा विवाद सिर्जना भएयता कैदीबन्दी दुई समूहमा विभाजित भएको बताइएको छ ।

यस्तै, कारागारका कैदीबन्दीबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालयले कारागार कार्यालयको अध्ययनका लागि सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । घटना सम्बन्धमा कारागारभित्रका विविध पक्षको अध्ययन, छानबिन गरी आवश्यक सुझावसहितको प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन टोली गठन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।

उनले भने, ‘विवादित र झगडामा संलग्न कैदीबन्दीलाई आइतबार राति नै विभिन्न कारागारमा स्थानान्तरण गरिएको र हाल कारागारको सम्पूर्ण स्थिति सामान्य भएको छ ।’

प्रकाशित : फाल्गुन १७, २०७७ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?