पातिस्वाँरामा होमस्टे- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पातिस्वाँरामा होमस्टे

भूकम्पप्रतिरोधी घरबाट आम्दानी लिँदै गाउँले
कान्तिपुर संवाददाता

गोरखा — भूकम्पबाट क्षति पुगेको घर मर्मतपछि चिटिक्क छ । बस्नै नमिल्ने गरी भत्किएका घर पुनर्निर्माण गरिएको छ । बस्ती बीचमा व्यवस्थित गोरेटो बाटो बनाइएको छ । गाउँले परिवेश बुझ्न पुग्ने पाहुनाको स्वागतका लागि गण्डकी गाउँपालिका–२ ताङ्लीचोकको पातिस्वाँरा गाउँ चिरिच्याट्ट छ ।

गोरखाको गण्डकी गाउँपालिका–२ कोपातिस्वाँरा गाउँमा सुरु गरिएको होमस्टे। तस्बिर : कान्तिपुर

आफ्नै सक्रियतामा स्थानीयले होमस्टे सेवा सुरु गरेका छन् । ‘भूकम्पले चिम भत्काएको थियो, मर्मतपछि पुरानो घर बस्नयोग्य भएको छ,’ स्थानीय ज्ञानकुमारी श्रेष्ठले भनिन् । पुरानो शैलीको ढुंगामाटोको घरका अतिरिक्त स्थानीयले भूकम्पप्रतिरोधी घर पनि बनाएका छन् ।

भूकम्पपछि जिल्लाका ग्रामीण क्षेत्रमा दुईकोठे घर बन्ने क्रम बढ्दो छ । पुराना मोडलका घर विस्थापित हुँदै छन् । पातिस्वाँरामा भने पुराना मोडलका केही घरको पनि मर्मत गरिएको छ । छानामा छाएको ढुंगाको भार कम गर्न केही स्थानीले जस्ता राखेका छन् । यसले गाउँले परिवेश बुझ्न आउने पाहुनाका लागि पातिस्वाँरा रोजाइमा पर्ने स्थानीयको विश्वास छ । स्थानीय लक्ष्मी श्रेष्ठले भूकम्पपछि झन्डै ८ लाख खर्चेर नयाँ घर बनाएकी छन् । नवनिर्मित घरमा चार जनासम्म पाहुना राख्न सक्ने उनले बताइन् । गाउँमा होमस्टे सेवा सुरु भएसँगै महिलालाई आर्थिक आयआर्जनमा धेरथोर सहयोग पुग्ने उनी बताउँछिन् ।

गाउँको सौन्दर्य जोगाउँदै होमस्टे सेवा थालेका स्थानीय त्यहाँको प्रचारप्रसार गरी पाहुना भित्र्याउने योजनामा छन् । होमस्टे आउने पाहुनालाई अर्गानिक खानाको स्वाद पस्किने स्थानीय पार्वती गुरुङले जानकारी दिइन् । साग, कोदोको ढिँडो, रोटी, गुन्द्रुकको अचारलगायत परिकार खुवाउने गरेको उनले सुनाइन् । ‘एउटै घरमा ६ जनासम्म पाहुना राख्ने व्यवस्था मिलाएका छौं,’ उनले भनिन् ।

२०७५ सालमा पातिस्वाँरा मनमोहक होमस्टे दर्ता गरी ११ घरबाट सुरु भएको थियो । अहिले २२ घर पुगेको पातिस्वाँरा मनमोहक होमस्टेका अध्यक्ष टंकनारायण श्रेष्ठले बताए । ‘५०–६० जनासम्म पाहुना राख्न सक्छौं,’ उनले भने । नयाँ र पुराना मोडलका घरले गाउँको सौन्दर्य बढाएको उनको भनाइ छ । ‘जोखिम कम भएका, सामान्य क्षति पुगेका घरको मर्मत गर्‍यौं,’ उनले भने, ‘पूर्ण क्षति भएका घर भत्काएर नयाँ बनायौं ।’ गाउँ पुग्ने पाहुनालाई हिलो र धूलोबाट जोगाउन डेढ किलोमिटर ‘फुड ट्रेल’ निर्माण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । सात जना स्थानीयले कुक तालिम पनि लिएका छन् । ‘हाम्रो उद्देश्य अर्गानिक खानेकुरा तयार गर्ने हो, यसका लागि भकारो सुधार कार्यक्रम पनि केही घरमा सुरु भएको छ,’ उनले भने ।

झ्याउरे, बालन, चुट्का, घाटु, लाखेलगायत नाच र स्थानीय संस्कृति पाहुनालाई देखाउने गरेको उनले बताए । ‘स्थानीय कला संस्कृतिको पनि संरक्षण गरेका छौं,’ उनले भने । गत साउनमा गाउँमाथिबाट आएको पहिरोले केही घर जोखिममा रहेको उनले गुनासो पोखे । पहिरो रोकथामका लागि भूसंरक्षणलगायत सरकारी निकायसँग पहल भइरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

प्रकाशित : फाल्गुन १६, २०७७ १३:१२
प्रतिक्रिया
पठाउनुहोस्

महानगर कार्यालयअगाडि उभिएर अभियन्ताले भने– ‘कंक्रिटको कमल चाहिँदैन’ [तस्बिरहरू]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — बालाजु बाइपासमा सडक विस्तारका क्रममा स्थानीयका घर भत्काइनुका साथै कमलपोखरीमा कंक्रिट संरचना बनाइएको विरोधमा आइतबार काठमाडौं महानगरपालिकामा धर्ना दिइएको छ ।

बृहत् नागरिक आन्दोलनको अगुवाइमा भएको धर्नामा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र नेवाः देय् दबूका प्रतिनिधि सहभागी थिए ।विकासका नाममा जारी प्रतिगमनको प्रतिरोधमा धर्ना आयोजना गरिएको बृहत् नागरिक आन्दोलनले जनाएको छ ।

गत शुक्रबार उनीहरुले कमल पोखरीमा बनाइएको कंक्रिट संरचना भत्काइदिएका थिए। काठमाडौं महानगरपालिकाले कंक्रिटको जथाभावी प्रयोग गर्न थालेको भन्दै बृहत् नागरिक आन्दोलनले माइतीघरदेखि मार्चपास गरेको थियो ।

कमलपोखरीको निर्माण कार्य रोकी मौलिक स्वरूपकै पोखरी बनाउनुपर्ने उनीहरुको माग छ ।


प्रकाशित : फाल्गुन १६, २०७७ १३:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×