कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बालिका हत्या आरोपमा बुवासहित ३ पक्राउ

नारायण शर्मा

पूर्वी नवलपरासी — ६ महिने बालिकाको हत्या आरोपमा प्रहरीले बालिकाका बुवा, हजुरबुवा र हजुरआमालाई शनिबार पक्राउ गरेको छ । कावासोती नगरपालिका–४ हसौराकी सरस्वती भण्डारीले आफ्नी ६ महिने छोरीको फागुन ६ गते हत्या गरेको भन्दै गत सोमबार ससुरा, श्रीमान्, सासु र अमाजुविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

बालिका हत्या आरोपमा बुवासहित ३ पक्राउ

प्रहरीले कारबाहीमा चासो नदिएको भन्दै शनिबार कावासोती ४ का बासिन्दाले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनसमेत गरेका थिए । आरोपितलाई पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी नबढाएको भन्दै आक्रोशित स्थानीयले शनिबार प्रहरीबिरुद्ध कार्यालयमै प्रदर्शन गरेका हुन् । स्थानीयको प्रदर्शनपछि प्रहरीले शनिबार तीन जनालाई नियन्त्रणमा लिएको हो । घरपरिवारले नियोजित रुपमा हत्या गरेको भन्दै बालिकाकी आमाले ६ दिनअघि जिल्ला प्रहरीमा किटानी जाहेरी दिए पनि प्रहरीले पक्राउ गर्न आनाकानी गरेको थियो ।

जिल्ला प्रहरीका डिएसपी दिलीपकुमार गिरीका अनुसार सरस्वतीका श्रीमान् गणेश भण्डारी, ससुरा रेशमराज भण्डारी र सासु गितामाया भण्डारीलाई नियन्त्रणमा लिएको हो । ‘किटानी जाहेरी दिने बित्तिकै पक्राउ गर्ने भन्ने हुदैन अनेक कोणबाट प्रमाण संकलन गर्ने काम भइरहेको छ,’ डिएसपी गिरीले भने, ‘तीन जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान सुरु भएको छ ।’

फागुन ६ गते राति हजुरबुवासँग सुतेकी बालिकाको रहस्यमय मृत्यु भएको थियो । बालिकाकी आमा सरस्वती र स्थानीयले स्वाभाविक मृत्यु नभई उनको हत्या गरिएको दाबी गरिरहेका छन् । सरस्वतीका दाजु दुर्गा सिग्देलले बालिकालाई षड्यन्त्रपूर्वक बिष खुवाएर हत्या गरिएको आरोप लगाए । ‘प्रहरीले दुई दिनसम्म जाहेरी लिन पनि मानेन । घटना भएको दिन बच्चालाई आमासँग अलग गरेर ससुराले लिएर सुतेका थिए । बच्चाकी आमाले बिहानमात्र छोरीको मृत्यु भएको थाह पाएकी थिइन्,’ उनले भने । घरमा विभिन्न पूजाको बहानामा जडिबुटीको औषधि बनाएर खुवाएको र खुवाउन साथ बालिकाले वान्ता गरेको सिग्देलले बताए ।

सरस्वतीले छोरीको मृत्यु भएको बिहानमात्र थाह पाएको बताइन् । पूजा गरिसकेपछि देउता रिसाउने बहाना बनाई छोरीलाई आफूबाट अलग बनाएर ससुराले लिएर सुतेको उनले सुनाइन् । स्थानीयले प्रहरीले घटनाको छानबिनमा उदासिनता देखाएको भन्दै शनिबार प्रदर्शन गरेका हुन् । उनीहरुले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् ।

यसअघि गत जेठमा सरस्वतीले जिल्ला प्रहरीमा आफू घरेलु हिंसाको सिकार भएको भन्दै उजुरी पनि दिएकी थिइन् । प्रहरीले त्यसमा चासो नदिएको उनको आरोप छ । ‘त्यति बेला नै कारबाही भएको भए अहिले मेरो काख रित्तो हुने थिएन,’ उनले भनिन् । घटनाबारे प्रमाण केलाउने काम सुरु भएको र अनुसन्धान चाँडै निचोडमा पुग्ने डिएसपी गिरीले बताए ।

प्रकाशित : फाल्गुन १५, २०७७ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?