पत्रकार महासंघलाई राजनीतिक चलखेलबाट परै राख्‍न प्रत्यक्ष चुनाव : आचार्य

कान्तिपुर संवाददाता

पोखरा — नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघलाई राजनीतिक चलखेलबाट परै राख्न प्रत्यक्ष चुनाव गर्न लागिएको बताएका छन् ।

पत्रकार महासंघलाई राजनीतिक चलखेलबाट परै राख्‍न प्रत्यक्ष चुनाव : आचार्य

पोखरामा शुक्रबार गण्डकी प्रदेश समितिको नवनिर्मित कार्यालय भवन उद्घाटन गर्दै उनले प्रत्यक्ष प्रणालीले चुनावमा हुने राजनीतिक दौडधूपको अन्त्य हुने बताए । ‘पहिला केन्द्रमा चुनाव लड्नेहरु जिल्ला–जिल्ला पुग्दा धेरै राजनीति भयो,’ उनले भने, ‘अब देशभरिकै साधारण सदस्यले भोट हाल्न पाउने भएपछि त्यस्तो अवस्था आउँदैन ।’ उनले महासंघमा रहुञ्जेल राजनीतिक आस्थालाई परै राखेर पत्रकारको हकहितमा काम गनुपर्ने उल्लेख गरे । भने, ‘जुनसुकै पार्टी निकटको संगठनबाट टिकट लिए पनि निर्वाचित भइसकेपछि त्यो पार्टी र संगठन बिर्सेर सबैको साझा भएर काम गर्नुपर्छ ।’

उनले विगतमा जिल्लादेखि केन्द्रसम्मको अधिवेशनमा नीतिगत छलफल भन्दा पनि राजनीति भएकाले यसपटक साधारणसभा र निर्वाचन छुट्टाछुट्टै गर्न लागिएको बताए । उनका अनुसार चैत १६ मा पत्रकार महासंघको स्थापना दिवसमा नवनिर्वाचित समितिलाई पदभार ग्रहण गराउने गरी त्यसअगावै चुनाव हुनेछ । यसपल्ट जिल्ला–जिल्लाबाटै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रीय समितिका उम्मेदवारलाई भोट हाल्ने छन् ।

पत्रकार महासंघको गण्डकी प्रदेश समितिको ३५ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न गरिएको छ । भवन निर्माणमा गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १४ लाख रुपैयाँ प्रदान गरेको छ । कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ छुटयाएकी थिइन् । पोखरा महानगरपालिको ४ लाख रुपैयाँ प्रदान गरेको छ । त्यसबाहेक प्रदेशको कार्यसमितिले व्यक्तिगत १ लाख ५० हजार रुपैयाँ संकलन गरेको थियो ।

प्रकाशित : फाल्गुन १४, २०७७ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?